Wednesday, January 21, 2009

राष्ट्रपति भवनमा प्रवेशको रौनक

वासिङ्टन, – शपथग्रहणपछि बाराक ओबामा संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमात्र होईन, संसारकै शक्तिकेन्द्र मानिने ´व्हाइट हाउस´ प्रवेश गर्ने दिन पनि हो । यही दिन निवर्तमान राष्ट्रपति जर्ज डब्लु बुस आठ वर्षदेखि बस्दै आएको व्हाइट हाउस ओबामालाई जिम्मा लगाएर बाहिरिन्छन्।

गेरी जे वाल्टर्स गत वर्ष अवकाश पाउनुअघिसम्म व्हाइट हाउसका प्रमुख सहयोगी थिए। उनले यो पदमा रहेर छ जना राष्ट्रपतिको तामझामपूर्ण व्हाइट हाउस प्रवेश आफ्नै आँखाले देखे। तीमध्ये चारजनाको पूरै कार्यकालभरि उनी साथ थिए। उनी यो सेतो महलमा नयाँ राष्ट्रपति र उनको परिवार प्रवेश गर्दा छाउने रौनक यसरी वर्णन गर्छन् :

अमेरिकी प्रचलनअनुसार निवर्तमान राष्ट्रपतिले शपथग्रहणको दिन बिहान १०:४५ देखि ११:०० बजेसम्म मात्र व्हाइट हाउस बस्न पाउँछन्। उनी नवनिर्वाचित राष्ट्रपतिका साथ क्यापिटोल हिलतिर लागेपछि मात्र बुसको व्हाइट हाउसलाई ओबामाको घर बनाउने चाँजोपाँजो मिलाउने काम सुरु हुन्छ।

नयाँ राष्ट्रपति फर्कनुअघि व्हाइट हाउसका आवासीय कर्मचारी छ घण्टा खट्छन् घरको व्यवस्थापनमा। मर्मतसम्भार कर्मचारी, सहयोगी कामदार, भान्छेसहित ९३ जनाको समूहका लागि यही ६ घण्टा सबभन्दा बढी व्यस्त हुनुपर्ने समय हो।

बेलुकी ५ बजेतिर ओबामा शपथग्रहण सकेर व्हाइट हाउस छिर्दा त्यो घरको भित्री साजसज्जा अर्कै भइसकेको हुन्छ। कुर्सी टेबुल कहाँ राख्ने, खाट कोठाको कुन कुनामा लगाउने, कुन कोठामा कस्तो खाट राख्ने, ओच्छ्याउन कसरी व्यवस्थित गर्ने यी सबै विषयमा त्यहाँका आवासीय सहयोगीले निर्णय गर्छन्। त्यसपछि ओबामाकी छोरीले कुन कोठा छान्लिन् त? त्यो एकदमै तनावपूर्ण समय हो। मैले आफ्नो हिस्साको काम सकिसकें।

व्यक्तिगत चीज
व्हाइट हाउसभित्रका फर्निचर तथा अन्य व्यक्तिगत सामग्री फेरि प्रयोग गर्ने कि नगर्ने भन्ने कुरा नयाँ आउने परिवारले निर्धारण गर्छ। यसअघि राष्ट्रपति बुसले आफूसँग धेरै फर्निचर तथा व्यक्तिगत सामान ल्याएका थिएनन्। उनीसँगै व्हाइट हाउस भित्रिएका सामानमा लुगाफाटो, किताब र तस्बिर बढी थिए। त्यतिखेर उनले टेक्ससमा नयाँ घर बनाएका थिए।

यो श्वेत महलमा बसोबास गरेका अधिकांश परिवार यहाँ पर्याप्त फर्निचर भएकाले छानीछानी प्रयोग गर्न पाइने बताउँछन्। संख्यामात्र होइन, ती फर्निचरको गुणस्तर पनि उच्च कोटीको हुन्छ। केही सामान्य फर्निचर पनि छन्, जसलाई परिवारले इच्छाअनुसार विभिन्न कोठामा विभिन्न तरिकाले सजाउन सक्छन्। व्हाइट हाउसभित्र एउटा गोदाम भएकाले अनावश्यक फर्निचर त्यहीँ लगेर राखिन्छ।

राष्ट्रपतिले दैनिक कामकाज गर्ने ´ओभल´ कार्यालयको परिवर्तनचाहिँ सबभन्दा गाह्रो काम हो। शपथग्रहणपछि सबभन्दा छिटो प्रयोगमा आउने कोठा पनि यही हो। कहिलेकाहीँ त नवनिर्वाचित राष्ट्रपति शपथग्रहणकै दिन यहाँ छिर्छन्।

यसबाहेक कोठाका गलैंचा, भित्तामा झुण्ड्याइएका कलाकृति, पुराना राष्ट्रपतिका तस्बिर र उनले प्रयोग नगर्ने चीजबीजहरू पनि कहिलेकाहीँ नयाँ ढंगले राखिन्छ। नयाँ परिवारका लागि घर सजाउँदा सबभन्दा महत्वपूर्ण र सबभन्दा बढी समय लाग्ने काम यो पनि हो।

अत्यन्त भावुक
मेरो समयमा व्हाइट हाउसभित्रको कुनै ´गसिप´ केही छैन। निवर्तमान राष्ट्रपति बुस बढी समय सर्वसाधारणबीच घेरिएर रहन्थे। उनी एकदमै भावकु मान्छे हुन्, आफ्ना पिताजस्तै। उनको परिवारका सदस्यसँग अत्यन्त राम्रो सम्बन्ध थियो। उनी एकदमै भलाद्मी र रसिलो स्वभावका व्यक्ति हुन्। त्यही भएर प्रधानमन्त्री टोनी ब्लेयरसँग उनको राम्रो सम्बन्ध कायम भएको मेरो विश्वास छ। उनीहरू दुवै ठट्यौला र मायालु स्वभावका थिए। अहिले उनलाई जुन ढंगले चित्रण गरिएको छ, इतिहासको कुनै समयमा गएर उनको कार्यकाललाई त्योभन्दा फरक र राम्रो तरिकाले हेरिनेछ भन्ने मलाई लाग्छ। शपथग्रहणको दिन म यो तामझाम सधैं सम्झन्छु। राष्ट्रपति परिवारसँग हुने प्रत्यक्ष सम्पर्कबाट म सधैं उत्साहित भएँ।

No comments: