Monday, May 7, 2012

अर्बपति युवाको महत्त्वाकांक्षी कम्पनी

वैशाख २५ (एपी)- फेसबुकका सहसंस्थापक डस्टिन मस्कोबिज कलिलो उमेरमै अर्बपति बन्नेमध्येका एक हुन्। मार्क जुकरबर्गभन्दा उनी ८ दिन कान्छा छन्। फेसबुककै सफलताले २७ वर्षे मस्कोबिजलाई यस्तै अर्को व्यवसाय सुरु गर्न घचघच्याएको छ।

उनले फेसबुककै पूर्वसंस्थापक मित्र जस्टिन रोसेन्स्टाइनसँग मिलेर आसन नामको कम्पनी खोलेका छन्। कम्पनीले परियोजना व्यवस्थापनका लागि अनलाइन सेवा दिन्छ। हालैको एक अन्तर्वार्तामा उनीहरूले जीवनभरलाई पुग्ने सम्पत्ति जोडिसकेकाले केही अर्थपूर्ण काम गर्न लागेको बताए।

'जब हामी कामबारे सोच्छौं, त्यतिबेला मानवीय सेवालाई अगाडि राख्छौं,' मस्कोबिजले भने, 'अहिल्यैकै सम्पत्तिबाट सन्तुष्ट भएर बस्ने हो भने हामीले कसैलाई पनि सहयोग गर्न सक्दैनौं।'

अर्बपति युवाबाट यस्ता आदर्शका कुरा आउनु स्वाभाविक भए पनि उनीहरूको शैली हातमुख जोर्न काम गरेजस्तो देखिन्छ। उनीहरू भर्ना गरिएका २४ कर्मचारीसँगै बसेर काम गर्छन्। कम्पनीमा सबै कर्मचारीको हैसियत बराबर छ। कम्पनीको मालिक भए पनि उनीहरूलाई अलग्गै कोठा वा क्याबिन छैन।

रोसेन्स्टाइन साइकल चढेर अफिस आउँथे, जुन हालै चोरी भयो। अफिसमा औपचारिक पोसाकको व्यवस्था पनि छैन। दुवैजना प्रायः जिन्स र टिसर्टमा देखा पर्छन्। कमाउनुपर्ने बाध्यता नभएकाले आफ्नो कल्पनाको संसारलाई साकार पार्ने धुनमा लागेको उनीहरू बताउँछन्। उनीहरूले बनाएको सफ्टवेयरले आफ्नो सपनालाई साकार पार्ने दाबी छ। फेसबुककै अनुभव उनीहरूलाई हौसला बनेको छ।

आसनले मान्छेहरूको काम गर्ने शैलीमै परिवर्तन ल्याउने र गतिलाई तीब्र बनाउने दाबी रोसेन्स्टाइन गर्छन्। 'अहिले अधिकांश समय काम कसरी गर्ने भन्नेमै खर्च हुन्छ,' उनले भने, 'हामी मान्छेहरूलाई बढी अर्थपूर्ण काम गर्न सक्ने गरी मुक्त बनाउँदैछौं।'

एकै समयमा आफ्नो कल्पनाले भ्याएसम्म काम गर्न सकिने वातावरण आसनमा रहेको मस्कोबिजले बताए। 'हामी क्यान्सरको उपचार गर्न सक्छौं, अन्तरिक्ष यान अथवा कला प्रयोगशाला बनाउने काम गर्न सक्छौं,' मस्कोबिजले भने, 'हामी कल्पनातित चुनौतीलाई सम्बोधन गर्न खोजिरहेका छौं।'

बजारमा यस्तै दाबी गरिएका थुप्रै परियोजना छन्। उनीहरू आफ्नो कम्पनीलाई भिडभन्दा अलग ठान्छन्। उनीहरूले कम्पनीको नामाकरण नै पूर्वीय योग परम्पराको 'आसन' बाट लिएका हुन्। कर्मचारीलाई दैनिक योग र अफिसभित्रै भोजनको व्यवस्था गरिएको छ। नयाँ भर्ना कर्मचारीलाई सुरुमा १० हजार डलर दिइन्छ र यसबाट उसले आफ्ना लागि चाहे अनुसारको डेस्क बनाउँछ।

यस बीचमा कम्पनीले थुप्रै भेन्चर क्यापिटालिस्ट (हुर्कंदै गरेको व्यावसायिक अवधारणामा लगानी गर्ने लगानीकर्ता) र फेसबुकका कर्मचारीलाई तानेको छ। सेयर लगानी भए पनि मस्कोबिज र रोसेन्स्टाइन दुवैले २००८ मा फेसबुक छोडेका हुन्। फेसबुकले सेयर निस्कासन (आइपिओ) गरेपछि यी दुवैको सम्पत्ति अझै बढ्ने निश्चित छ।

थुप्रै अर्बपति अमेरिकीहरूजस्तै मस्कोबिजले बिल गेट्स र वारेन बफेटले सुरु गरेको परोपकार अभियानमा आफ्नो आधा सम्पत्ति दान गर्ने बाचा गरेका छन्। अहिलेलाई आफू 'एक सय १० प्रतिशत' आसनमा केन्द्रित रहेको उनले बताए। 'हाम्रो लक्ष्यमा पुग्नलाई ध्यान भंग गर्ने अवरोध नभएकाले हामी भाग्यमानी छौं,' उनले भने।

No comments: