Monday, April 30, 2012

सरकार फेर्ने कांग्रेस-एमाले प्रस्ताव


काठमाडौं, वैशाख १८ -संविधानका विवादित विषयमा सहमति खोज्न बसेको एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको बैठक आइतबार एकाएक राष्ट्रिय सहमतिको सरकार बनाउनेतिर छलफलमा मोडिएको छ।
राज्य पुनर्संरचना र शासकीय स्वरुपको विषयमा सहमति गर्दा सहमतिको सरकारबारे पनि निर्णय गर्नुपर्ने प्रस्ताव कांग्रेसले पेस गरेको छ भने एमालेले उसलाई पूरै साथ दिएको छ। बिहान साढे ७ बजेअघि नया" बानेश्वरस्थित विशेष समितिको सचिवालयमा संविधानबारे शीर्ष बैठक सुरू भएको थियो।
दिनभरि विभिन्न तहमा भएका छलफलबारे एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले दिउ"सो तीन दलको बैठकपछि मंगलबारसम्म संविधान र सरकार दुवै विषयमा सहमति हुने बताए। 'पर्सि संविधानसभाको बैठक बस्ने बेलासम्म हामी एउटा टुंगोमा पुग्छौं, राष्ट्रिय सहमतिको सरकार बनाउने प्रक्रिया पनि अघि बढ्छ,' उनले भने, 'संविधानका विषयमा पनि, शासकीय स्वरुपको विषयमा पनि र राष्ट्रिय सहमतिको सरकारको विषयमा पनि आज धेरै सकारात्मक र सहमतिको नजिक पुग्ने ढंगले कुरा भएको छ।' आइतबारका लागि तोकिएको संविधानसभाको बैठक सूचना टाँसेर मंगलबारका लागि सारिएको छ।
कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले दिएको जानकारीअनुसार कांग्रेसले छिट्टै राष्ट्रिय सहमतिको सरकार बनाऊँ भन्ने प्रस्ताव गरेको थियो तर माओवादीले जेठको १०-१२ गतेपछि मात्र त्यस्तो सरकार बन्नसक्ने धारणा राख्यो।
'माओवादी अध्यक्ष प्रचन्ड र प्रधानमन्त्री बाबुरामले पहल लिएर राष्ट्रिय सहमतिको सरकार बनाउन आजैबाट प्रक्रिया सुरू गरौं भन्नुभो,' बैठकपछि पौडेलले सञ्चारकर्मीसँग भने, 'कांग्रेसको नेतृत्वमा सरकार बनाउने गरी अगाडि बढ्ने हो, समयमा अलिकति विचार गर्नुपर्‍यो भन्नुभएको छ।'
कांग्रस-एमालेले कहिलेसम्ममा राष्ट्रिय सहमतिको सरकार बनाउने भन्ने प्रष्ट पार्न आग्रह गरेका थिए। 'सहमतिको बाटोमा जाने हो भने विश्वासका भरपर्दा आधार बनाएर अगाडि बढौं, सहमतिबाटै संविधान सम्पन्न गर्ने हो, सहमतिबाटै सरकार बनाउने हो', पौडेलले भने, 'परिवर्तनलाई संस्थागत गर्ने कुराहरू र संविधान बनिसकेपछिको स्थितिलाई पनि मिलाएर निष्कर्षमा पुर्‍याउन मिलेरै जानुपर्छ। यो कुरा चाँडै गरौं भन्ने हाम्रो छ। छिनोफानो भएको छैन।'
बैठकमा एमाले नेता केपी शर्मा ओली अलि ढिला गरी पुगेका थिए। बैठकबाट बाहिर निस्केपछि उनले सहमतिको सरकार छिटोभन्दा छिटो बनाउन चारै पाटी सहमत भएको बताए।
'पहिले प्रधानमन्त्रीले राजीनामा गरेपछि कसको नेतृत्वमा गर्ने भन्ने विषय खुला हुन्छ,' ओलीले भने, 'एकजना मान्छे प्रधानमन्त्रीको कुर्सीमा बसिराखेको बेला अर्को प्रधानमन्त्री बनाउने भन्ने शब्द नै उपयुक्त होइन।'
भट्टराईले नेतृत्व गरेको अहिलेको सरकारले राष्ट्रिय सहमतिको स्वरुप ग्रहण गर्न नसक्ने दाबी पनि ओलीले गरे। 'राजीनामा गर्नुअघि राष्ट्रिय सहमतिको सरकार बन्दैन', उनले भने, 'राजीनामा एउटा इच्छाले गरिन्छ, अर्को परिस्थितिले गराउँछ।' उनले प्रधानमन्त्रीले तत्काल राजीनामा गर्नुपर्ने बताए।
एमाले महासचिव ईश्वर पोखरेलले वर्तमान सरकारको निरन्तरताको कुरै नआएको बताए। 'हिजो जुन मान्यताका आधारमा यो सरकार बनेको हो, त्यसको पटाक्षेप नभई राष्ट्रिय सहमतिको नयाँ सरकार बन्न सक्दैैन,' उनले भने। सरकारको नेतृत्व एमालेले गर्नसक्ने दाबी गर्न पनि उनी चुकेनन्।
माओवादी संसदीय बोर्डका सचिव खिमलाल देवकोटाले जेठ १४ अघि सरकार फेर्ने कुरा गर्नु बेमौसमी भएको बताए। उनले संविधान बनाउने अन्तिम घडिमा संविधान निर्माणमा प्रतिकूल असर पार्ने गरी सरकार फेर्ने प्रस्ताव 'संविधान नबनाउने खेल' भएको आरोप लगाए।
तत्काल सरकार फेरिने गरी सम्झौता हुन नसक्ने पनि प्रधानमन्त्री भट्टराई निकट मानिने देवकोटाले बताए। 'कसैले संसद्को विशेष अधिवेशन बोलाएर अविश्वास प्रस्ताव ल्याउन चाहेका भए पनि ल्याए हुन्छ,' उनले भने, 'नेपाली जनता संविधान बन्न नदिनेहरूको अनुहार प्रष्ट हेर्न चान्छन्।'

No comments: