Monday, April 9, 2012

२५ औँ प्रहरी प्रमुखमा रमेश खरेल प्रतिस्पर्धी

चैत २७- गृह मन्त्रालयले आज रमेश खरेलसहित १५ एसपी (प्रहरी उपरीक्षक) लाई एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक) मा बढुवा गरेको छ। प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहको अध्यक्षतामा रहेको बढुवा समितिको सिफारिशलाई सोमबार गृह मन्त्रालयले स्वीकृत गरेको हो।
लामो समयदेखि बढुवा प्रक्रियामा गृहमन्त्री विजयकुमार गच्छदार र प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहबीच सहमति बन्न सकेको थिएन। पछिल्लो समय गृह मन्त्रालयले १० एसएसपीको दरबन्दी थप गरेपछि सरुवा अझ विवादित बनेको थियो। स्रोतका अनुसार सार्वजनिक भएको बढुवा सुची बढुवा समितिले गरेको सिफारिश अनुसार छैन। गृहमन्त्रीले आफू निकट केही एसपीको वरियताक्रम बढाएका छन्।
वि.सं.२०४४, २०४५ र २०४६ ब्याचका १६ जनामध्ये १५ बढुवा भएका छन्। ४४ का नौ जना, ४५ का दुई जना र ४६ का चार जनाले बढुवा पाएका छन्। अहिले कै प्रावधान कायम रहे ४४ र ४५ सालमा सेवा प्रवेश गरेकाले प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा सहभागी हुन भ्याउँदैनन्। ३० वर्षीय सेवा अवधि कायम रहेकाले उनीहरु बढीमा डिआइजीबाटै अवकाशमा जान्छन्। २०४६ का ब्याचमध्ये एक प्रहरी महानिरीक्षक बन्ने भएकाले बढुवासँगै मर्यादाक्रममा तीब्र प्रतिस्पर्धा थियो। गृह स्रोतका अनुसार २०४६ का ब्याचमध्ये पहिलो नम्बरमा एसपी रमेश खरेलले बढुवा पाएका छन्।
सर्वेन्द्र खनाल दोस्रो वरियतामा परेका छन्। तेस्रोमा राजेन्द्रमान श्रेष्ठ र र चौथोमा मिलन बस्नेतले बढुवा पाएका छन्। यसअनुसार २५ ‍औँ प्रहरी महानिरीक्षकका लागि खरेल र खनालबीच प्रतिस्पर्धा हुने देखिन्छ।

२०४४ र ४५ ब्याचका एसपी मध्ये भोगबहादुर थापा, यादवराज खनाल, पुस्कल रेग्मीले बढुवा पाएका छन्। अन्य बढुवा पाउनेमा सुबोध घिमिरे, राजेन्द्र श्रेष्ठ, सुबास चौधरी, गणेश गुरुङ, छबिलाल जोशी र उत्तमबहादुर सिंह छन्। सोही समयका ठाकुरराम बर्तौलाले भने बढुवा पाएनन्।

डेढ वर्षअघि काठमाडौँ प्रहरी प्रमुख रहँदा वरिष्ठता मिचेर बढुवा गरिएको भन्दै असन्तुष्ट बनेका खरेल विदामा बसेका थिए। उनको विदा स्वीकृत गर्दै प्रधान कार्यालयले उनलाई तालिम केन्द्रमा सरुवा गरेको थियो। केही समय तालिम केन्द्रमा बसेका उनले त्यसपछि पर्सा प्रहरी प्रमुखका रुपमा सरुवा पाएका थिए।
काठमाडौँ प्रहरी प्रमुख हुँदै प्रहरी मुख्यालय, बारा जिल्ला सम्हालेका खनाल अहिले संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत न्युयोर्कमा छन्।

No comments: