Wednesday, October 27, 2010

बजेट ल्याउन दिन्नौः भट्टराई

एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान कामचलाउ सरकारले कुनै हालतमा पनि पूर्ण बजेट ल्याउन नसक्ने बताएका छन्। उनले सरकारले जर्बजस्ती बजेट ल्याए आफूहरुले त्यसविरुद्ध जनता गुहार्ने बताए। यो सरकारलाई पूर्ण बजेट ल्याउने अधिकारै छैन' भट्टराईले भने, 'बलजफ्ती बजेट ल्याएमा जनता गुहारेर विरोधमा उत्रन्छौ।' उनले सत्तामा बस्नेले बलमिच्याई गरेर बजेट ल्याएमा आफुहरुलाई असहैय हुने बताए।
उपाध्यक्ष भट्टराईले बजेट ल्याउका लागि दुई विकल्प अघि सारेका छन्। पहिलो सहमतिको सरकार बनाएर पूर्ण बजेट ल्याउने, दोश्रोमा संविधानको धारा ९६ संशोधन गरेर नियमित खर्च चलाउने ढंगले बजेट ल्याउन दिने। यसबाहेक विकल्प नरहेको उनले बताए। 'संविधान संशोधन गर्ने भन्दा पनि सहमतिको सरकार बनाएर पूर्ण बजेट ल्याउनु उत्तम हुन्छ' उनले भने।
निजी भ्रमणमा मुस्ताङ पुगेर बुधबार बिहान पोखरा फर्केका उपाध्यक्ष भट्टराईले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै पूर्ण बजेट आउन नसक्नुको सम्पूर्ण दोष सरकारलाई दिएका छन्। 'यो गैरजिम्मेवार सरकारको कारण अहिलेको अवस्था आएको हो' उनले भने, 'सहमति गरौँ भन्दा सत्तामा रहेका दलहरुले बेवास्ता गरेका छन्।'उनले अहिलेको समस्या आउनुमा माओवादीको कुनै दोष नरहेको स्पष्ट पारे। '१३ पटकसम्म प्रधानमन्त्री चयन गर्न नसकेर दुनियाँ हसाउने काम भएको छ' भट्टराईले भने, 'हामीले त समस्या समाधान गरौ भनेर बिचमै प्रधानमन्त्रीको उम्मेद्वारी फिर्ता लिएका हौ।' उनले सहमति गर्न नसक्ने भए एमालेले प्रधानमन्त्रीका एक्ला उम्मेद्वार कांग्रेस नेता रामचन्द्र पौडेलको पक्षमा मतदान गरेर सरकार बनाउन र पूर्ण बजेट ल्याउन चुनौती समेत दिए। 'सहमति गर्न सकिँदैन भने एमालेले कांग्रेसलाई समर्थन गरेर सरकार बनाए हुन्छ' उनले भने।
भट्टराईले माओवादी लडाकुको चीन भ्रमण उनीहरुको व्यक्तिगत अधिकार भएको बताए। 'सेना र प्रहरीका अधिकृतहरु पनि त भ्रमणमा गएका छन् नि' उनले भने, 'सेना र प्रहरीका अधिकृत भ्रमणमा जान हुने माओवादीका कमाण्डर जान किन नहुने?' सरकारी पासपोर्ट प्रयोग गरेर विदेश भ्रमण जानु कुनै अप्ठेरो नरहेको उनको भनाई थियो।
भट्टराईले चीन गएका लडाकुलाई प्रधानमन्त्री माधवकुमार नेपालले कारबाही गर्न नसक्ने बताए। 'प्रधानमन्त्रीको आफ्नै अवस्था त्यस्तो छ, कसरी कारवाही गर्न सक्छन्' उनले भने।

No comments: