Wednesday, October 20, 2010

झि जिनपिङ चीनका नयाँ नेता

हङकङ, उपराष्ट्रपति झि जिनपिङ(Xi Jinping) शक्तिशाली सैन्य आयोगको उपाध्यक्षमा मनोनीत गरेर चिनियाँ कम्युनिष्ट पार्टीले उनलाई भावी नेतृत्वका रुपमा प्रस्तुत गरेको छ। पार्टी महासचिव र राष्ट्रपतिका रुपमा उनले हु जिन्ताओको ठाउँ लिने अनुमानलाई यो निर्णयले थप पुष्टी गरेको छ।
वर्तमान राष्ट्रपति हु जिन्ताओले सन् २०१२ मा पार्टी महासचिव र सन् २०१३ मा राष्ट्रपतिबाट अवकाश लिँदैछन्। आर्थिक रुपमा विश्वको दोस्रो ठूलो राष्ट्र चीनमा उनी दोस्रो कार्यकाल नेतृत्व सम्हालिरहेका छन्। चिनियाँहरू राजनीतिक दर्शनमा माओत्सेतुङ, आर्थिक सुधारको एजेण्डामा देङ सियाओपिङ र प्राविधिक विकासमा हु जिन्ताओलाई नेता मान्छन्।
चार दिनदेखि बेइजिङमा बसेको १७औँ केन्द्रिय समितिको पाचौँ विस्तारित बैठक आगामी पाँच वर्षका लागि आर्थिक तथा सामाजिक मुद्दाको बारेमा छलफल गर्दै झिलाई सैन्य आयोगको उपाध्यक्षमा मनोनित गरी सोमबार सकिएको छ। चीनको नीति निर्माणमा शक्तिशाली मानिने तीन सय सदस्य रहेको समिति बैठकमा नोवल शान्ति पुरस्कार विजेता लिउ सिओबोले उठाउँदै आएको राजनीतिक सुधारको एजेण्डा तथा त्यसप्रति बढ्दै गएको जनसमर्थनको बारेमा पनि छलफल भएको अनुमान गरिएको छ।
बैठक शुरु हुनु अघिल्लो दिन वृद्ध उमेरका २३ जना कम्युनिष्ट कार्यकर्ताले चीनमा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै वक्तव्य निकालेका थिए भने सय जना अधिकारकर्मीहरूले नोवेल पुरस्कार विजेता लिउको रिहाइको माग गरी वक्तव्य दिएका थिए। वर्तमान प्रधानमन्त्री वेन जियावाओ स्वंले हालै सिएनएनसँगको अन्तर्वार्तामा राजनीतिक सुधारको कुरा उठाएकाले पनि बैठकमा यो एजेण्डामा छलफल भएको ठानिएको हो। तर यसबारेमा चिनियाँ सञ्चार माध्यमले केही उल्लेख गरेका छैनन्।
आर्थिक उन्नतीसँगै राजनीतिक सुधारका लागि दबाब बढ्दै गएका बेला हाल पार्टी स्थाई समिति सदस्य रहेका उराष्ट्रपति झिले चीनको नेतृत्व सम्हाल्ने करिब निश्चित भएको छ। चीनमा प्रख्यात लोक गायिका पेङ लियुनको पती भएकाले पनि उनको लोकप्रियता बढी छ।
सैन्य आयोग चीनका करिब पच्चिस लाख सेनालाई नियन्त्रण गर्ने निकै शक्तिशाली निकाय मानिन्छ। ५७ वर्षीय झि चिनियाँ कम्युनिष्ट पार्टीका एक जना संस्थापक झि झोङउनका छोरा हुन्। उनीसँग सैन्य क्षेत्र र पार्टीमा काम गरेको लामो अनुभव छ। फुजियान, झिज्याङ, संघाईमा पार्टी प्रमुख भएर काम गर्दा उनले थुप्रै सैन्य जिम्मेवारी पुरा गरेका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सैन्य आयोगको सचिवको रुपमा काम गर्दा उनी आफै पनि सैन्य अधिकारी थिए।
कम्युनिष्ट पद्दती अनुसार चीनका तीन प्रमुख शक्तिशाली निकाय सैन्य आयोग, पार्टीको महासचिव र राष्ट्रपति एउटै व्यक्ति हुन्छ। सैन्य आयोगमा झिको नियुक्ति हु जिन्ताओको ठाउँमा उनलाई स्थापित गर्ने तयारी हो।

No comments: