Wednesday, October 6, 2010

कङ्ग्रेसको प्रस्ताव माओवादीलाई अमान्य

काग्रेसले प्याकेजमा सहमति गर्ने भए प्रधानमन्त्रीको उम्मेदारी फिर्ता गर्न सकिने भनी राखेको प्रस्तावलाई एकीकृत माओवादीले अस्वीकार गरेको छ। मंगलबार काग्रेस संसदीय दलमा भएको तीन दलको वैठकमा प्रधानमन्त्रीको उम्मेदवारीको विषयलाई शान्ति र संविधानको विषयमा मिसाउन नहुने बताउँदै काग्रेस प्रस्तावलाई अस्वीकार गरेको हो।
'प्रधानमन्त्रीको उम्मेदवारीको विषयलाई अन्य विषयसँग मिसमास गर्न खोज्नु गलत हो', माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने। उनले माओवादीले काग्रेसलाई प्रधानमन्त्रीको उम्मेदारी फिर्ता गर्न आग्रह गरेको तर काग्रेसले अस्वीकार गरेको जानकारी दिए। काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषयमा सहमति भएपछि मात्रै सत्ता साझेदारी हुन सक्ने बताए। 'शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा सहमति गरेपछि मात्रै सत्ता साझेदारी हुन्छ भन्ने काग्रेसको कुरा रह्यो', पौडेलले भने, 'प्याकेजमा सहमति खोज्न काग्रेस तयार छ।' सबै कुरालाई प्याकेजमै टुङगयाउनु पर्ने पनि उनले बताए। काग्रेस नेता अर्जुन नरसिंह केसीले पनि शान्ति र संविधान लगायतका विषयमा सहमति नगरी राष्ट्रिय सहमति हुन नसक्ने प्रष्ट पारे। 'विषयगत सहमतिको जग निर्माण नगरी सहमति हुन सक्दैन', केसीले भने। विगतमा ६ वुँदे र ३ वुँदे सहमति भएको स्मरण गराउदै केसीले भने, 'त्यो वेला पनि शान्ति र संविधानलाई पन्छाएर सत्ता साझेदारीमा मात्रै केन्द्रित गरियो। त्यसैले गर्दा समस्या आएको हो।' लोकतान्त्रिक संविधान बन्ने कुराको ग्यारेण्टी नभएसम्म सहमति हुन नसक्ने पनि केसीले प्रष्टयाए। वैठकमा एमालेले भने काग्रेसले उम्मेदारी फिर्ता लिए समझदारीको लागि बाटो खुल्ने बताएको थियो। त्यो संभव नभए सत्ता साझेदारी लगायतका विषयमा विस्तृत कार्यक्रम बनाएरै भएपनि गतिरोधको निकास खोज्नुपर्ने एमालेको धारणा थियो। 'काग्रेसले उम्मेदारी फिर्ता लिए समझदारीको लागि वाटो खुल्छ', एमाले नेता विष्णु पौडेलले पार्टीको प्रस्तावलाई उद्धृत गर्दै भने, 'त्यसो गर्न संभव नभए शान्ति र संविधानलगायतका विषयमा प्याकेजमै समाधान गरेर भएपनि गतिरोधको निकास खोज्नुपर्छ।' एमालेले समस्या समाधान गर्न ढिला गर्न नहुने धारणा राखेको पनि उनले बताए। मंगलबारको वैठकमा सहमति नभएपछि बुधबार मध्यान्ह पुन वैठक वस्ने सहमति भएको छ। वुधवार अपरान्ह दशौं पटक प्रधानमन्त्रीको चुनाव हुन लागेको पुर्व सन्ध्यामा हुन लागेको त्यो वैठक प्रधानमन्त्रीको निर्वाचनमा नै केन्द्रीत हुने छ। यद्यपी वुधवार सहमति जुटने संभावना न्युन भएकाले प्रधानमन्त्रीको दशौ पटकको निर्वाचन भने हुने नै भएको छ।'बुधबारको निर्वाचन हुन्छ', काग्रेस नेता केसीले भने, 'यद्यपी त्यो निर्वाचनवाट तात्विक परिणाम भने आउदैन।' प्रधानमन्त्रीको चुनाव हुन अघि बुधबार हुने वैठकमा सहमतिको प्याकेज निर्माण गर्न कार्यदल गठन गरिने वा शीर्ष नेताहरुले नै सहमतिको प्याकेज तयार गर्ने भन्ने विषयमा छलफल हुने स्रोतले बताएको छ।मंगलबारको वैठकमा माओवादीका तर्फवाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव राम वहादुर थापा उपस्थित थिए भने काग्रेसबाट संसदीय दलका नेता पौडेल, नेताहरु विमलेन्द्र निधी, अर्जुन नरसिंह केसी लगायतका नेताहरु उपस्थित थिए। एमालेबाट चाहिं अध्यक्ष झलनाथ खनाल, सचिव विष्णु पौडेललगायतका नेताहरु उपस्थित थिए।

No comments: