Wednesday, May 5, 2010

बन्दबाट औद्योगिक क्षेत्र प्रभावित

एकीकृत नेकपा (माओवादी)ले आह्वान गरेको हडतालबाट औद्योगिक एवम् व्यापारिक नगर वीरगन्जको आर्थिक क्रियाकलापमा गम्भीर असर परेको छ। हडतालको तेस्रो दिन आज पनि वीरगन्ज-पथलैया औद्योगिक करिडोरका सबैजसो उद्योग र कलकारखाना बन्द छन्।

यो औद्योगिक करिडोरमा बहुराष्ट्रिय कम्पनी डाबर र सूर्य नेपालसहित हुलास र जगदम्बा स्टिल, हामा आइरन, त्रिवेणी समूहजस्ता ठूला तथा मझौला एवम् साना उद्योग गरी झण्डै ५५० वटा उद्योग र कलकारखाना छन्।  हडतालका कारण सबै उद्योग र कलकारखाना बन्द छन्, वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश सिकारियाले भन्नुभयो- यसबाट दैनिक ९ देखि १२ करोड रुपैया" नोक्सानी भइरहेको छ।

वीरगन्ज-पथलैया औद्योगिक करिडोरमा सञ्चालित उद्योगमा झण्डै ५० हजार मजदूर कर्मचारी कार्यरत छन्। हडतालका कारण यस करिडोरमा दैनिक झण्डै ५ करोड रुपैया" बराबरको श्रमशक्ति त्यसै खेर गइरहेको छ।  वीरगन्ज उद्योग वाणिज्य सङ्घका अनुसार उद्योग बन्द भएपनि स्थायी कर्मचारी र मजदूरलाई काम नगरेको दिनको तलब र अन्य सुविधाहरू पनि दिनुपर्ने हु"दा उद्योगीहरू थप मर्कामा पर्नेछन्।  मजदूर कर्मचारीहरू उद्योगमा आएर हाजिर गरी घर फर्किन्छन्, एकजना उद्योगीले भने - एकातिर हडतालका कारण उद्योग व्यवसाय बन्द छ, अर्कोतिर हाजिर गरेर घर फर्केका ती मजदूर कर्मचारीलाई काम नगरेको दिनको पनि तलब र सुविधा दिनुपर्ने बाध्यताले हामी दोहोरो मारमा छौं।

यस करिडोरमा सञ्चालित उद्योगमा कार्यरत स्थायी मजदूर र कर्मचारीको तलब र सुविधामा गरी दैनिक करिब रु ३ करोड भुक्तानी दिइरहेको अनुमान गरिएको छ। उद्योगमा दैनिक ज्यालादारीमा कार्यरत दशौं हजार मजदूर तथा तिनका परिवार बन्द र हडतालबाट प्रत्यक्ष प्रभावित भएका छन्।  बिग्रदो राजनीतिक अवस्थाले अर्थतन्त्रमा पार्ने प्रभावका आङ्कलन गर्दै सङ्घका अध्यक्ष सिकारियाले यस प्रकारको आमहडतालले मुलुकको आर्थिक अवस्थालाई हदैसम्म जर्जर बनाउने टिप्पणी गरे। 

गणतन्त्र नेपालको सफलताको एकमात्र आधार मुलुकको आर्थिक विकास हुने बताउँदै सङ्घका अध्यक्ष सिकारियाले भने - राजनीतिक र आर्थिक मुद्दालाई अब एकै ठाउँमा राख्नु हुँदैन। राजनीतिक व्यवस्थापनको प्रक्रिया जारी रहँदा पनि आर्थिक क्रियाकलापलाई स्वतन्त्र राख्ने संस्कृतिको विकास गर्नुपर्दछ। मुलुककै कूल राजस्वमध्ये झण्डै ६० प्रतिशत राजस्व सङ्कलन गर्ने वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली आमहडतालका कारण पूर्णरुपमा प्रभावित भएको छ।

वीरगंज भन्सारबाट दैनिक सरदर रु १२ देखि १३ करोड सङ्कलन हुने राजस्वमा एक्कासी गिरावट आई आइतबार र सोमबार झण्डै रु एकलाख १० हजारका दरले मात्र राजश्व सङ्कलन भएको सो भन्सार कार्यालयले जनाएको छ।  सधैँ ठूला मालवाहक सवारी साधनले भरिभराउ रहने वीरगन्ज भन्सारको परिसर र त्यस आसपासको सडक अहिले सुनसान देखिएको छ। नेपाल भित्रने पर्खाइमा रहेका सयौं मालबाहक ट्रक पनि सीमावर्ती भारतीय नाका रक्सौलमा थन्किएका छन्।यसैगरी वीरगन्जको बैंकिङ्ग कारोबार समेत प्रभावित भएको छ। ठूला पसल, व्यवसायिक प्रतिष्ठान र सपिङ कम्प्लेक्स, बैंक र वित्तीय संस्थाको भिड रहेको आदर्शनगर र माइस्थान समेत सुनसान देखिएको छ।

बैंक तथा वित्तीय संस्थाले दैनिक नगद कारोबार बाहेक ई- बैंकिङ, एसएमएस बैकिङ, सन्ध्याकालीन काउन्टर, निक्षेप सङ्कलन, कर्जा लगानी, वैदेशिक रोजगारीमा लगानी र एटीएम कार्डलगायतका सुविधा प्रदान गर्दै आएका छन्। हडतालका कारण अहिले ती सेवाहरू प्रभावित भएका छन्। रासस

No comments: