Tuesday, May 11, 2010

दाहालको विकल्पको निर्णय पदाधिकारीहरूले गर्ने

पार्टीको नेतृत्वमा सरकार बन्ने स्थिति आएमा त्यसको नेतृत्व अध्यक्ष पुष्पकमल दाहालले गर्ने निर्णय यथावत् राखेर स्थायी समिति बैठकले 'विकल्प खोज्नुपरे' त्यसको निर्णय गर्ने जिम्मेवारी पदाधिकारीहरूलाई दिएको छ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दाहालको विकल्प खोज्न सकिने सार्वजनिक अभिव्यक्ति दिएको भोलिपल्ट गत साता बसेको सात सदस्यीय पदाधिकारी बैठकले पुनः दाहाललाई नेतृत्व दिने निर्णय गरेको थियो।
सरकारको नेतृत्व अध्यक्ष दाहालले नै गर्ने र त्यसमै बहस चलाउने जानकारी दिँदै बैठकपछि स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले नागरिकसँग भने, 'अरु स्थिति बनेमा निर्णय गर्ने जिम्मा पदाधिकारीहरूलाई दिइएको छ।'
अर्का सदस्य पोष्टबहादुर बोगटीले 'कसलाई नेतृत्वमा पठाउने भन्ने निर्णय पार्टीले गर्ने' र 'बाहिरबाट गर्न नहुने' पार्टीको धारणा प्रष्ट गरे। उनले भने, 'विकल्प खुला गरे पनि जे गरे पनि पार्टीले नै गर्नेछ। बाहिरबाट कुरा आएजस्तो स्पिरिटबाट विकल्प खुला हुँदैन।'माओवादीसँग निकट मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले आवश्यक परे दाहालको विकल्प पार्टीबाट आउनुपर्ने धारणा आइतबार सार्वजनिक गरेका थिए।

No comments: