Wednesday, May 19, 2010

माओवादी लडाकुसहितको अलग फोर्स बनाउन मिल्दैनः कांग्रेस

काठमाडौँ, जेठ ५ - नेपाली कांग्रेसले माओवादी लडाकु, नेपाली सेना र नेपाल प्रहरीलाई मिलाएर अलग्गै फोर्स बनाउन नमिल्ने निर्णय गरेको छ। राजनीतिक सहमति खोज्ने क्रममा कांग्रेससँग हिजो भएको द्विपक्षीय वार्तामा माओवादीले यस्तो प्रस्ताव राखेको थियो। कार्यवाहक सभापति सुशील कोइरालाको निवासमा आज बिहान बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
दलहरुबीच अहिले सेना समायोजनको विषयमा मुख्य विवाद रहेको छ। सत्तारुढ दल एमाले र कांग्रेसले सुरक्षा निकायमा समायोजन गरिने लडाकुको संख्या तोक्नुपर्ने माग गरिरहेको छ।
संविधान सभाको म्याद थप्न माओवादीले अघि सारेको बहुमतीय प्रणालीबाट सहमतीय प्रणालीमा जाने गरी संविधान संशोधन गर्नुपर्ने अर्को शर्त पनि कांग्रेसले अस्वीकार गरेको छ। बैठकपछि प्रवक्ता अर्जुननरसिंह केसीले संविधान मै सहमतीय सरकार र बहुमतीय सरकारको स्पष्ट व्यवस्था भएकोले माओवादीले भने जस्तो संशोधन आवश्यक नभएको तर्क गरे।

No comments: