Sunday, November 9, 2008

बजेट पारितअघि नै माग पूरा हुनुपर्ने

बजेट पारित हुनुअघि नै आफ्ना ९ बुँदे माग पूरा नभए आफ्नो पार्टी ठोस कदम चाल्न वाध्य हुने चेतावनी नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दिएका छन् ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफ्नो पार्टीले पेश गरेको ९ बुँदे माग बजेट पारित हुनअघि नै पूरा नभए ठोस कदम चाल्न वाध्य हुने चेतावनी दिएका छन् । कार्तिक २४ गते बिधायिका संसद बैठकमा बिशेष समय लिएर बोल्दै पौडेलले सरकारको आश्वासनको भरमा मात्र आफ्नो पार्टी अब सन्तुष्ट नहुने उल्लेख गरे । तर, पौडेलले पार्टीले चाल्ने ठोस कदम कस्तो हुनेछ भन्ने भने स्पष्ट पारेनन् ।
उपसभापति पौडेलको नेतृत्वमा आज बिहान नेपाली कांग्रेस टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निवास बालुवाटारमा ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा कब्जा गरिएका सम्पति क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्ने, वाईसीयलको अर्धसैनिक संरचना भंग गर्नुपर्ने तथा वाईसीयलले कब्जा गरेका ठाउँ १५ दिनभित्र खाली गर्नुपर्ने, कुनै पनि नेताले सरकारीबाहेक अलग सुरक्षा राख्न नपाउने, पहिले रहेको संसदीय क्षेत्र बिकाश कोष पुनर्स्थापना हुनुपर्ने र बजेटमा भएका राजनीति उदेश्यका कार्यक्रमहरु संसदीय तथा दलीय सहमति अनुसार मात्र खर्च गर्नुपर्नेलगायत मागहरु छन् ।
यसैबीच, रक्षामन्त्री रामबहादुर थापाले कोटेश्वरका ब्यापारी रामहरि श्रेष्ठको हत्या अभियोग लागेका जनमुक्ति सेनाका निलम्बित कमाण्डर कालिबहादुर खामलाई आफूले नभेटेको दावी गरेका छन् । बिधायिका संसद बैठकमा बोल्दै थापाले पार्टीले कारवाही गरेको तथा ब्यक्ति हत्यामा संलग्नलाई आफूले भेट्ने प्रश्ने नउठने पनि उल्लेख गरे । नेपाली कांग्रेसलगायत दलका सभासदहरुले खामलाई कारवाही गर्नुको साटो रक्षामन्त्रीले भेटेको तथा त्यसबारे गृह र रक्षामन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरेका थिए । गृहमन्त्री उपत्यकाबाहिर रहेकाले आफू मात्र संसदमा त्यसबारे जवाफ दिन आएको पनि रक्षामन्त्रीले बताएका थिए ।

No comments: