– महेश्वर श्रेष्ठ
के हिन्दू के अहिन्दू, सम्भवतः नेपालका सबै धर्म मान्ने र सबै भाषा बोल्ने जनसमुदायले यस पालीको तिहार पर्व सदा झैं हर्षोल्लासका साथ मनाए। हुन त यी नेपालीहरु, जसमा यो पंक्तिकार पनि पर्दछ, ले वर्षेनी तिहार पर्व मनाउँदै आएकै हुन्। तर यस पालीको तिहार आफ्नै र नौलो लाग्नुमा केहि विशेष कारण छन्। ति मध्ये सबभन्दा महत्वपूर्ण कारण पोहरको तिहारसम्म देश माथि राजतन्त्रको कालो बादल मंडारिरहेको थियो, अहिले मुलुक गणतन्त्रात्मक बनिसकेको छ। नेपाली जनताले आफ्नो राष्ट्राप्रमुखको रुपमा वंशानुगत राजाको सट्टा आफ्ना निर्वाचित प्रतिनिधिहरुले विधिपूर्वक छानेको राष्ट्रपतिलाई पाएका छन्। यसले योग्यता, क्षमता र विश्वास प्राप्त नेपाली जनताका छोराछोरी राष्ट्रप्रमुख हुने र जातीय, भाषिक, धार्मिक तथा क्षेत्रीय विविधतायुक्त नेपाली समाजलाई राजनीतिक एवं साँस्कृतिक रुपले एकतावद्ध बनाउने बाटो खुलेको छ। अहिलेको नेपाल हिजोको नेपाल होइन, इतिहासमा पहिलो पटक सच्चा रुपले सार्वभौम बनेका नेपाली जनताको स्वतन्त्र एवं अखण्ड नयाँ नेपाल हो भनेर अनुभूत गराउने यो एउटा पहिलो र ज्यादै नै महत्वपूर्ण कडी हो।
यस पालीको तिहार नौलो लाग्नुको कारण पनि कम महत्वपूर्ण छैन। आज भन्दा ११२८ वर्ष पहिले एकजना सर्वसाधारण नागरिक शंखधर साख्वाःको अगुवाईमा सम्पूर्ण देशवासीलाई ऋणमुक्त गरिएको महान उपलक्षमा देशभक्तिको अनुपम नमुना स्वरुप देशकै नाममा स्थापना गरिएको, तर ८८८ वर्षसम्म अविछिन्न प्रचलनमा रही त्यस पछिको २४० वर्षसम्म राजकीय मान्यताबाट गलहत्याइएको, देशको नाममा स्थापित विश्वको एक मात्र संवत नेपाल संवतलाई ईसं २००८ अक्टोबर २४ तारिखका दिन बसेको मन्त्रीपरिषदको बैठकले राष्ट्रिय मान्यता प्रदान गर्ने सर्वसम्मत निर्णय गरेर मुलुकको राष्ट्रियता र राष्ट्रिय एकता सुदृढ गर्ने महान कार्यमा एउटा महत्वपूर्ण ईंटा थपेको छ। देशभक्त, स्वाभिमानी र स्वतन्त्रताप्रेमी नेपाली जनताका लागि यो निर्णय कम खुसीको कुरा होइन। यसका लागि वर्तमान सरकारमा सम्मिलित सबै दलहरु धन्यवादका पात्र हुन्। वर्तमान सरकारलाई सहज रुपमा यस निर्णयमा पुग्न क्रमिक आधार तयार गरिदिने कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी र शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा गठित यस अघिका सरकारहरु पनि धन्यवादका पात्र हुन्।
नेपाली जनताको राष्ट्रिय धरोहर नेपाल संवतलाई पुनः राजकीय मान्यता दिइएको सुखद उपलक्षमा सम्झनै पर्ने र धन्यवाद दिनै पर्ने व्यक्तित्वहरु हुन् – मानव अधिकार कर्मी तथा नागरिक समाजका मूर्धन्य अगुवा पद्मरत्न तुलाधर र उनका निस्वार्थ सहयोगी मित्रहरु जसको ३ दशक लामो अथक एवं अविछिन्न संघर्षको परिणाम स्वरुप नेपाली जनताले यो सुखद दिन देख्न पाएका छन्। संघर्षको क्रममा उनीहरुले साम्प्रदायिकताको विल्ला पनि भिर्नु पर्यो, राष्ट्र विखण्डनकारीको आरोप पनि खेप्नु पर्यो, पंचायती कालरात्री अवधि भर सरकारी दमन झेल्नु पर्यो, गल्ली गल्ली लुकेर हिंड्न वाध्य हुनु पर्यो। परन्तु उनीहरुको संघर्ष सिथिल हुनुको सट्टा झन झन चर्कंदै गयो, देशभक्त जनताको चौतर्फी समर्थन पनि बढ्दै गयो। जनताको देशभक्तिपूर्ण संघर्ष कहिल्यै खेर जाँदैन, कहिल्यै असफल हुँदैन। निरंकुशतन्त्र माथि लोकतन्त्रको विजय र राजतन्त्रको ठाउँमा गणतन्त्र स्थापना भए पछि नेपाल संवतले पुनः राजकीय मान्यता पाएरै छोड्यो। यसले जनताको राजमा मात्र जनआवाजको सुनुवाई र सम्मान हुन्छ भन्ने कुरा प्रमाणित भएको छ। यस अर्थमा पनि पंक्तिकारलाई यस पालीको तिहार नौलो लागेको हो।
मुलुक लोकतान्त्रिक गणतन्त्र घोषित भए पछि पहिलो पटक मनाइएको यस पालीको तिहार नौलो मात्र लागेन, आफ्नै मौलिकताले भरिपूर्ण पनि पाइयो। भन्नलाई तिहारलाई हिन्दूहरुको महान चाड भनिन्छ। तर हाम्रो सन्दर्भमा यो विशुद्ध हिन्दूहरुको मात्र चाड पटक्कै देखिंदैन। नेपालमा हिन्दूहरु लगायत अन्य धर्मावलम्बी र प्रकृति पूजकहरुले समेत बडो हर्षोल्लासका साथ तिहार पर्व मनाउने गर्दछन्। नेपालमा तिहार विशुद्ध हिन्दुहरुको मात्र चाड होइन भन्ने कुरालाई स्पष्ट पार्न हिन्दू धर्मको उद्गम थलो भारत र नेपालमा तिहार पर्व मनाउने तरिका, सन्दर्भ, जनश्रुति र विश्वासलाई दाँजेर हेर्नु पर्ने हुन्छ। प्रथमतः जुन चाडलाई हामीले तिहार भन्छौं, भारतीयहरु त्यसलाई दिवाली वा दिपावली भन्ने गर्दछन्। हुन त हामीले पनि तिहार शव्दको पर्यायवाचीको रुपमा दिपावली शव्द प्रयोग गर्ने गर्दछौं तर भारतीयहरुका लागि दिपावली शव्दले एउटा विशिष्ट चाडलाई मात्र जनाउँछ भने तिहार शव्दले जुनसुकै चाडपर्व भन्ने बुझाउँछ जब कि नेपालीहरुका लागि तिहार भनेको तिहार (दिपावली) चाड मात्र हो। त्यसले अरु कुनै चाडपर्वलाई जनाउँदैन, प्रतिनिधित्व गर्दैन, चाडपर्वहरुलाई सामान्यीकृत पनि गर्दैन।
तिहार वा दिपावली पर्व नेपाल र भारतका दुबै देशमा पाँच दिनसम्म मनाइन्छ। तर यस पर्वको प्रत्येक दिन जुन सन्दर्भ र विश्वासका साथ जस्तो तरिकाले मनाइन्छ, त्यो धेरै मात्रामा फरक छ। (१) हामी कहाँ तिहारको पहिलो दिन सडेगलेका खानेकुरा र मरेका हानीकारक घरेलु जीव खाएर मानिसको सफाई कार्यमा सहयोग पुर्याउने चरा भनेर कागको पूजा गरिन्छ र यस दिनको नामै काग तिहार रहेको छ। भारतमा भने यस दिनलाई आयुर्वेद चिकित्सा शास्त्रका प्रणेता धन्वन्तरीको स्मृति दिवसको रुपमा मनाइन्छ जसको नामै धन्वन्तरी त्रयोदशी रहेको छ। नेपालमा तिहारको पहिलो दिनलाई धन्वन्तरी त्रयोदशी भनेर जान्ने मानिस ज्यादै थोरै मात्र छन्। (२) तिहारको दोस्रो दिन हामी कहाँ मानिसको स्वामीभक्त तथा वफादार पहरेदार कुकुरले गर्ने सेवाको कदर स्वरुप कुकुर पूजा गरिन्छ र यस दिनको नामै कुकुर तिहार रहेको छ। भारतमा भने यस दिन भगवान कृष्णले नरकासुर नामक दुष्ट राक्षसलाई मारेर उसले अपहरण गरेर बन्दी बनाइएका १६ हजार युवतीहरुलाई मुक्त गरेको दिनको रुपमा मनाइन्छ जसको नामै नरक चतुर्दशी रहेको छ। तिहारको दोस्रो दिनलाई नेपालमा कुकुर तिहार भनिन्छ र कुकुरको पूजा गरिन्छ भनेको सुन्दा भारतीयहरु छक्क पर्छन् भने यस दिनलाई नरक चतुर्दशी भनिन्छ भनेर जान्ने मानिस नेपालमा निकै थोरै मात्र छन्। (३) नेपाल र भारत दुबै देशमा तिहारको तेस्रो दिनलाई लक्ष्मीपूजा नै भन्ने गरिन्छ र घरघरमा धनकी देवीको रुपमा विष्णुपत्नी लक्ष्मीको विशेष पूजाआजा गरिन्छ। तर नेपालमा यस दिन देवी लक्ष्मीको पूजाको साथै पोषिलो दुध, जोसिलो बहर र गुनिलो गोबर तथा गहुँत दिएर मानिसको आहार, खेतिपाती र ईन्धन आपूर्तिमा सहयोग पुर्याउने जनावर भनी गाईलाई पनि लक्ष्मी नै मानेर त्यसको पूजा गर्ने गरिन्छ जब कि भारतमा गाईलाई आमाकै सम्मान दिने गरिए तापनि गाईको पूजा भने गरिंदैन। अर्को कथन अनुसार भारतमा तिहारको तेस्रो दिनलाई राम १४ वर्षको वनवास पूरा गरी स्वदेश अयोध्या फर्केको दिनको रुपमा पनि मानिन्छ। रामको स्वदेश आगमनको खुसियालीमा अयोध्यावासीले घरघरमा दियो बालेर उनको स्वागत गरेको दिनलाई प्रत्येक वर्ष त्यसै गरी पर्वको रुपमा मनाउन थालिएककोले नै त्यस पर्वलाई दिपावली भनिएको हो भनिन्छ। नेपालमा यस कथा बारे जानकारी राख्ने मानिसको संख्या ज्यादै थोरै मात्र छ। त्यसै गरी नेपालमा गाई तिहार अथवा लक्ष्मी पूजाको दिन केटीहरु जम्मा भई छिमेकीका घरमा भैली गीत गाउँदै भैलो माग्ने चलन छ। भारतमा भैलो माग्ने आम चलन छैन। (४) तिहारको चौंथो दिनलाई नेपाल र भारत दुबै देशमा गोवर्धन पूजा नै भन्ने गरिन्छ। भारतको गोकुल भन्ने गाउँका मानिसहरुले वर्षाका देवता देवराज ईन्दलाई मान्न छोडेकाले उनले रिसाएर घनघोर वर्षा गराई बाढी उत्पन्न गरिदिन लागेकाले भगवान कृष्णले नजिकको एउटा सिंगै पहाडलाई कान्छी औंलाले उठाई उक्त वर्षालाई रोकेर गोकुलवासीको रक्षा गरेको हुँदा सोही दिनको सम्झना र पहाडको सम्मानमा गोबरको ढिस्को बनाई त्यसैलाई गोबर्धन पहाड मानेर पूजा गर्ने चलन चलेको हो भनिन्छ। तर नेपालमा भने त्यसरि गोबरको ढिस्कोलाई गोबर्धन पहाडको रुपमा पूजा गर्नुको साथै खेतबारी जोत्न, गहुँत गोबर पारेर मलखाद बनाउन र गुँइठाको रुपमा इन्धनको जोहो गर्न सहयोग पुर्याउने जनावर भनी गोरुकै पूजा गर्ने चलन छ, भारतमा गोरु पूजा गर्ने चलन छैन। भारतमा तिहारको चौंथो दिनलाई दैत्यराज बलीको उदारता र दानशीलताको प्रतापले देवराज इन्द्रको आशन र शासन डगमगाउन थाले पछि त्यसलाई जोगाउन भगवान विष्णुले बामनको अवतार लिई बलीराजालाई वाचाबन्धनमा पारी उनको सम्पूर्ण राजपाट र सम्पति समेत भिक्षामा दान गरिलिएर उनलाई भिखारीमा परिणत गरिदिएको दिनको रुपमा पनि मानिन्छ। नेपालमा यो कथा सुन्ने मानिसहरु भए तापनि उनीहरु मध्ये धेरैलाई तिहारको चौंथो दिन विष्णुको छलले बलीराजा भिखारी बन्नु परेको बारे थाहा छैन। बरु आज भन्दा ११२८ वर्ष अघि ऋणमा डुबेका सम्पूर्ण नेपाली जनता त्यसै दिन ऋणमुक्त भएको महान उपलक्षमा देशकै नामबाट स्थापित नेपालको मौलिक तथा राष्ट्रिय संवत नेपाल संवत फेरिने दिन भएको हुँदा सबै जातजाति तथा भाषाधर्मका सम्पूर्ण देशभक्त नेपालीहरुले नववर्षको स्वागतमा त्यस दिनलाई राष्ट्रिय पर्वको रुपमा ठूलो उल्लासका साथ धुमधामसंग मनाउने गर्दछन्। केहि मानिसहरु शरीर स्वस्थ नभए अरु सबै कुरा बेकार छ, तसर्थ नयाँ वर्ष भरी स्वस्थ भइयोस्, गरेको सबै काम सफल होओस्, दुष्ट–शत्रु र प्रेतात्मा नलागोस् भनेर आफ्नै शरीरको पूजा गर्ने गर्दछन्। भारतमा शरीर पूजा गर्ने चलन छैन। त्यसै गरी नेपालमा त्यस दिन केटाहरु जम्मा भई छिमेकीको घरमा द्यौसी माग्ने चलन छ। भारतमा द्यौसी माग्ने आम चलन छैन। (५) तिहारको पाँचौं र अन्तिम दिनलाई नेपालमा भाईटीका वा भाईपूजा भनिन्छ जसमा दिदीहरुले आफ्ना भाईहरुको सुस्वास्थ्य, सफलता र समृद्धिको कामना गरी टीकामाला लगाइदिने (पूजा गर्ने) र मीठो खानेकुरा खुवाउने गरिन्छ। भाईहरुले पनि दिदीहरुको सुस्वास्थ्य र समृद्धिको कामना गरी नगद जिनिस उपहार दिने चलन छ। कुनै कुनै समुदायमा विवाहित दिदीहरु माइतमै गएर भाईटीका वा भाईपूजा गर्ने चलन पनि छ। भारतमा यस दिनलाई भातृदूज भनिन्छ। भारतमा प्रचलित जनश्रुति अनुसार यमराजले आफ्नी बहिनी यमुनाको सेवाबाट खुसी भएर “जसले आजको दिन आफ्ना दिदीबहिनीलाई भेटेर खुसी पार्छ, उसले सबै पापबाट मुक्त भई मोक्ष पाउने छ” भनी बरदान दिएको हुँदा त्यस दिनलाई भातृद्रूज भनिएको हो भनिन्छ। नेपालमा भने कुनै सत्यवती दिदीको भाईको जिउने म्याद सकेर यमदूतहरुले लिन आइसकेको बेला आफ्नो सत्यधर्मको बलले उनीहरुलाई रोकी “मलखमली फूल नओइलाएसम्म, ओखर कुहेर नगलेसम्म मेरो भाईलाई लान पाईंदैन” भनी रोकेकाले यमदूतहरु फर्केर गई यमराज कहाँ सोही बमोजिम बिन्ती चढाउँदा उक्त दिदीको भाईप्रतिको अगाध स्नेह र निस्वार्थ मायाबाट खुसी भई यमराजले “तथास्तु” भनी बरदान दिएको र यसले निज दिदीको भाई बाँचेकाले सोही दिनदेखि भाईटीका वा भाईपूजा गर्ने चलन चलेको हो भन्ने जनश्रुति छ।
माथिको विवरणबाट नेपालमा मनाइने तिहार र भारतमा मनाइने दिपावलीका कतिपय आधार, सन्दर्भ र विश्वास समान देखिए तापनि कतिपय सन्दर्भमा तिनीहरु आधाररुपमै फरक पनि छन्। भारतमा नगरिने कागपूजा, कुकरपूजा, गाईपूजा र गोरुपूजाले नेपालमा यति धेरै महत्व र व्यापकता पाउनु एकातिर मानव जीवनमा यी पशुपंक्षीले पुर्याउँदै आएको योगदानको कदर हो भने अर्कोतर्फ नेपाली समाज बढी मात्रामा प्रकृति पूजक भएको प्रमाण पनि हो, मौलिकताको द्योतक हो। मानिसका लागि उपयोगी अरु पनि धेरै घरेलु वा सामाजिक पशुपंछी छन्। तिनको पूजा नहुनुको कारण बारे प्रश्न उठ्न पनि सक्छ। त्यसको उत्तरमा यति भन्दा पर्याप्त होला – तिनको मासु मानिसको आहारको रुपमा उपभोग हुने भएकोले तिनीहरुको पूजा नगरिएको हो। जुन वस्तु वा प्राणीको कदर स्वरुप पूजा समेत गरिन्छ त्यसैको मासु खानु र जुन वस्तु वा प्राणीको मासु खाइन्छ त्यसैको पूजा गर्दै हिंड्नु तर्क संगत पनि त छैन। त्यसको अलावा भौतिक शरीरलाई केन्द्रबिन्दू मानेर आ।फ्नै शरीरको पूजा गर्नु हामीले मान्ने तिहार पर्वको अर्को विशेषता र मौलिकता हो।
हामीले मनाउने तिहार पर्व मौलिक मात्र छैन, यो सामुहिक, समावेशी र सामाजिक पनि छ। लक्ष्मीपूजाको दिन केटीहरु मिलेर भैलो माग्न जान्छन्। गोवर्धन पूजाको दिन केटाहरु मिलेर द्यौसी माग्न जान्छन्। द्यौसी भैलो माग्न जाँदा कुन जात धर्म मान्नेले भाग लिने र कुन जात धर्मको घरमा माग्न जाने भनेर हेरिंदैन। घरधनीले पनि कुन जात धर्म मान्नेहरु द्यौसी भैलो टोलीमा छन् भनेर हेर्दैनन्, गच्छे अनुसार अन्न रोटी दक्षिणा दिएर आफूलाई धन्य सम्झन्छन्। यो हामीले मनाउने तिहार सामुहिक, समावेशी र सामाजिक हुनुको प्रमाण हो। हालैका दिनमा यसले अरु व्यापकता ग्रहण गरिरहेको छ। झण्डै १२ वर्षदेखि काठमाडौं ताहाचलकी अञ्जली देवी मास्केले दिदीबहिनी नभएका र भए पनि घर टाढा भई भाईटीका लाउन जान नपाएका सयौं व्यक्तिहरुलाई काठमाडौं गणेश स्थान अगाडिको काष्ठमण्डपमा वर्षेनी सम्पूर्ण विधि पुर्याएर भाईटीका लगाउँदै आएकी छिन्। त्यसको बदलामा उनी आफ्ना धर्म दाजुभाईबाट कुनै उपहार वा दक्षिणा पनि लिन्नन्, पूजाका लागि आवश्यक सबै खर्च आफै व्यहोर्छिन्। त्यसै गरी करिब १ दशकदेखि मीना कपालीले भाईटीकाको दिन काठमाडौं रानीपोखरीको बीचमा निर्मित भात्रेश्वर महादेव र बालगोपालको दर्शन गर्न आउने दिदीबहिनी नभएका र भए पनि घर टाढा भई भाईटीका लाउन जान नपाएका हजारौं व्यक्तिहरुलाई भाईटीका लगाउँदै आएकी छिन्।
यी दिदीहरुलाई आफ्ना धर्मदाजुभाई कुन जातको हो, कुन ठाउँहो हो, उसले कुन धर्म मान्छ, कुन भाषा बोल्छ, भन्ने कुरासंग कुनै मतलब छैन, नागरिकता कहाँहो हो भन्ने कुरासंग समेत कुनै मतलब छैन। दिदीबहिनी नभएकाहरुले दिदीबहिनी नभएको पीडा वा खल्लो महसुस गर्न नपरोस् र भाईटीकाको दिन उनीहरुको निधार खाली नहोस् भनी भाईटीका लगाइदिनु र दिदीबहिनी नभएका सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुलाई भाईटीका लगाइदिएर सामाजिक भेदभाव हटाउने र सामाजिक सदभाव मौलाउने सन्देश फैलाउनु उनीहरुको एक मात्र उद्देश्य देखिन्छ। यति पवित्र उद्देश्य लिएर आफ्नो सुकार्यमा अनवरत लागि परेका यी दिदीहरु र उनीहरुको प्रयास साँच्चिकै स्तुत्य छन्। उनीहरुको त्यस प्रयासले सदा निरन्तरता पाइरहोस्। देशका अन्य भागमा पनि हजारौं अञ्जली दिदी र मीना दिदीहरु जन्मिउन् र सबै नेपाली दाजुभाईहरुलाई हामी सबै एउटै परिवारका सदस्य हौं भन्ने भावना फैलाउन सकून्। राज्य पुनःसंरचनाको नाममा, जातीय वा भाषिक राज्यको नाममा यी हजारौं अञ्जली दिदी र मीना दिदीका लाखौं करोडौं दाजुभाई आपसमा लड्ने काम नगरुन् र उनीहरुका सपनालाई चकनाचूर नपारुन्! यी दिदीहरुका लागि अहिले हामी यही कामना गरौं। अस्तु!!
m.shresthas@gmail.com
ललितपुर, २००८ नोभेम्बर ०१
(लेखक नेकपा (एकीकृत) का केन्द्रीय सदस्य हुन्)
No comments:
Post a Comment