Monday, September 1, 2008

अमेरिका रिपब्लिकन पार्टीको उपराष्ट्रपतिमा सारा पालिन

वासिङ्टन, रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार जोन म्याकेनले अलास्काका गर्भनर सारा पालिनलाई शुक्रबार उपराष्ट्रपति उम्मेदवार चयन गरेका छन् । अमेरिकी राष्ट्रिय राजनीतिमा त्यति धेरै चर्चामा नआएकी ४४ वर्षीया सारा डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार बाराक ओबामाभन्दा पनि कान्छी छिन् । केही विश्लेषकले म्याकेनको चयन अनौठो भएको बताएका छन् । म्याकेनको छनोटको लामो सूचीमा मात्र सारा भएको बताइएको थियो । महिला तथा राष्ट्रिय परिपेक्ष्यमा नयाँ अनुहार साराको चयनले रिपब्लिकन पार्टीको उम्मेदवारीमा ऊर्जा थप्ने अनुमान गरिएको छ । शुक्रबार ठूलो जनसभालाई सम्बोधन गर्दै म्याकेनले उनी कामदार मानिसलाई बुझ्ने भनेर सारा पालिनको परिचय गराए ।
'सामूहिक भलाइका लागि उनीसँग सहनशक्ति,समर्पण र इमान्दारिता छ । वासिङ्टनलाई अहिले वास्तवमा चाहिएको यी नै गुण हुन्,' म्याकेनले भने । त्यसपछि, सारा पालिनले आफू उपराष्ट्रपति उम्मेदवार चयन भएकोमा गौरवान्वित भएको बताइन् । आफ्ना श्रीमान् र पाँच सन्तानमध्ये चारको परिचय गराइन् । स्टेजमा उपस्थित नभएका उनका छोरा सेनामा छन् । उनी अर्का महिना इराकमा तैनाथ हुँदैछन् । अलास्काको गर्भनर हुँदा आफूले भ्रष्टाचारविरुद्ध लडेको र जनताको सेवा गरेको उल्लेख गरिन् ।
डेमोक्रेटिकका राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनको हारबाट निराश बनेका मतदातालाई खिच्न म्याकेन चुनावी अभियानले रणनीतिक रूपमा सारा पालिनको चयन गरेको हुन सक्ने बताएका छन् । ओबामा र डेमोक्रेटिकका उपराष्ट्रपति जो विदेनले सारा पालिनलाई रिपब्लिकन पार्टीको उपराष्ट्रपतिको उम्मेदवार भएकोमा बधाई दिएका छन् । सारा पालिन कडा परम्परावादीको रूपमा परिचित छिन् । उनी गर्भपतनविरोधी हुन् । रिपब्लिकन पार्टीका तर्फबाट उपराष्ट्रपति उम्मेदवारी दिने सारा उनी पहिलो महिला हुन् । यसअघि १९८४ मा डेमोक्रेटिक पार्टीका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवारमा महिलालाई चयन गरिएको थियो । १९८४ मा सारा मिस वासिला घोषित भएकी थिइन् । उनले इथाहो युनिभर्सिटीबाट पत्रकारिता र राजनीतिशास्त्रमा स्नातक गरेकी छिन् ।

No comments: