Monday, November 8, 2010

समानान्तर रुपमा हतियार र लडाकु रहेसम्म शान्ति हुन्न : प्रधानमन्त्री

प्रधानमन्त्री माधवकुमार नेपालले एउटा पार्टीसँग समानान्तर रुपमा हतियार र लडाकू रहेसम्म मुलुकमा दिगो शान्ति र राजनीतिक स्थिरता नआउने बताएका छन्। "विगतमा धेरै सम्झौता भए, तिनको कार्यान्वयन अब हुनुपर्छ"- माओवादीसँगका सम्झौताबारे बोल्दै प्रधानमन्त्री नेपालले भने।
नव वर्ष नेपाल संवत् ११३१ प्रारम्भ भएको अवसरमा नेपाल भाषा मंकाः खलःद्वारा आज काठमाडौँको वसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री नेपालले माओवादी लडाकूको समायोजन तथा पुनःस्थापना, कब्जा सम्पति फिर्ता र विगतमा भएका सहमतिहरुको कार्यान्वयनबाट नै मुलुकको वर्तमान राजनीतिक गतिरोध अन्त हुने विश्वास व्यक्त गरे।देशले यत्तिखेर राजनीतिक निकास खोजेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री नेपालले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु राष्ट्रसामु रहेका संवेदनशील मुद्दाहरुलाई महत्व दिएर गम्भीर छलफलमा जुटेकाले आशा गर्ने अवस्था आएको बताए।
संविधान सभामा संविधान लेखनको लागि काम भइरहेको र त्यो आशातीत रुपले अघि बढेको बताउँदै प्रधानमन्त्री नेपालले जनताको आशा अनुरुप शान्ति प्रक्रिया कार्यान्वयन र तोकिएकै समयमा संविधान लेखन सम्पन्न गर्नु नै अहिलेको मुख्य काम भएको बताए।
उनले शङ्खधर साख्वाःले ११३१ वर्षअघि सुरु गर्नुभएको नेपाल संवत् नेपालीको आफ्नै मौलिक संवत् हो भन्दै शक, किरात, नेपाल, इस्वी, विक्रमजस्ता विभिन्न संवत्को अध्ययन गर्न आयोग बनाउन आफूले संस्कृति मन्त्री र मुख्य सचिवलाई आजै फोन गरेर निर्देशन दिएको पनि बताए।लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता जस्ता २०६२/०६३ को आन्दोलनबाट प्राप्त उपलब्धि गुम्छ कि भन्ने आशङ्का बेलाबेलामा उठाइए पनि यी उपलब्धि देश र जनताको हितमा भएकाले अब कसैले खोस्न नसक्ने प्रधानमन्त्री नेपालको भनाइ थियो।
उनले भने - नेपाल बहुभाषा, बहुसँस्कृति र बहुजातिको फुलबारी हो। सबैको अस्तित्व र पहिचानमा मात्र नेपालको अस्तित्व रहन्छ। विविधतामा एकता नै नेपालको राष्ट्रिय पहिचान भएकोले सबै धर्म, जाति, संस्कृति र चाडको सम्मान गर्नु हाम्रो साझा दायित्व हो।

No comments: