Wednesday, February 10, 2010

गृहमन्त्रीसँगै सुरक्षा प्रमुखहरु जाने चलन पुनर्विचार आवश्यक : मन्त्री

काठमाडौं, सरकारका प्रवक्ता शङ्कर पोखरेलले गृह मन्त्रीसँगै सुरक्षा निकायका प्रमुखहरू विदेश भ्रमणमा जाने चलनमाथि पुनःविचार गरिनुपर्ने बताएका छन्। सञ्चार उद्यमी जमिम शाहको हत्याका बेला गृह मन्त्रीसँगै सबै सुरक्षा प्रमुखहरु मुलुकमा नरहेकाले समस्या आएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन।
मन्त्री पोखरेलले विशेष सुरक्षा व्यवस्था गरिएको स्थानमा उद्यमी शाहको हत्या हुनुलाई सरकारले विशेषरुपमा लिएको पनि उल्लेख गरे। र, भने- सञ्चार उद्यमी जमिम शाहको हत्याकाण्डलाई सरकारले गम्भीररुपमा लिएको छ। सूचना तथा सञ्चार मन्त्रालय र सामुदायिक रेडियो प्रसारक सङ्घ नेपालले आयोजना गरेको सामुदायिक रेडियो : अवसर र चुनौती विषयक कार्यक्रमको उदघाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हत्याको छानबिन उच्चस्तरीय आयोगले गरिरहेकाले सत्य तथ्य पत्ता लागेपछि सबैकुरा सार्वजनिक गरिने बताए। कार्यक्रममा उनले अबदेखि एउटा संस्थालाई एकभन्दा बढी एफएम रेडियो सञ्चालन गर्न नदिने, विद्युतीय सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने नीति सरकारले लिएको जानकारी दिएका थिए।

No comments: