Saturday, February 6, 2010

राजतन्त्र पतनबारे हङकङमा चर्चा

हङकङ, - नेपाली इतिहासका अध्येता जोन ह्वेल्पटनले अब राजतन्त्र फर्कन नसक्ने बताएका छन्। नेपालमा राजतन्त्रको उत्थान र पतन बारे हङकङमा बोल्दै उनले भने, "दुई तीन वर्षअघिसम्म ज्ञानेन्द्रले राजतन्त्र बचाउन गरिरहेको कोशिश बारे चर्चा हुन्थ्यो तर अहिले गणतन्त्र घोषणा भैसकेको छ र जनता लोकतान्त्रिक पद्धतीलाई बलियो बनाउन लागि परेका छन्, राजतन्त्र ब्यूँताउन होइन।"
हङकङ एन्थ्रोपोलोजिकल सोसाइटीले चिमसाचुईस्थित हिस्ट्री म्यूजियममा आयोजना गरेको छलफल कार्यक्रममा उनले नेपालको राजतन्त्र पतनका कारणहरू खोतले। जोनका अनुसार नागरिक स्तन्त्रतामाथि हस्तक्षेप गर्नु, पञ्चायती व्यवस्था लादेर नागरिकको जीवनस्तरमा सुधार ल्याउन नसक्नु र भारत विरुद्ध 'चाइना कार्ड' खेल्न खोज्नु गोरखाबाट उत्थान भएको राजतन्त्र पतनका केही कारण थिए।
दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रले चरणवद्ध रुपमा सम्पूर्ण शक्ति आफ्नो हातमा लिएकाले माओवादी र सात पार्टीबीच दिल्लीमा (१२ बुँदे) समझदारी भएको र त्यसले राजतन्त्र अन्तको ढोका खोलेको उनको तर्क छ।
'राजा भगवान विष्णुका अवतार हुन भन्ने हिन्दुहरूको विश्वास, त्रिभुवनको सकारात्मक भूमिकाले कमाएको सम्मान, राजनीतिक पार्टी वा जातीय समुदायबीच खेल्न पाउने अवसर, भारतविरुद्ध खडा भएको राजगद्दीको पर्खाल तथा सेनाको समर्थनका आधारमा राजतन्त्र शक्तिको रुपमा रहेको थियो' भन्दै उनले अब त्यो इतिहासमा परिणत भएको बताए।
हङकङमा शिक्षण पेशामा संलग्न जोनले २००५ मा लेखेको 'अ हिस्ट्र अफ नेपाल' पुस्तक अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूले सन्दर्भ ग्रन्थको रुपमा लिन्छन्। काठमाडौँमा लामो समय बसेका उनले नेपालको राजनीतिक इतिहास सम्बन्धी अन्य केही पुस्तक र प्रशस्त लेखहरू लेखेका छन्।
राजदरबार हत्याकाण्डका विभिन्न आयाम केलाउँदै जोनले ज्ञानेन्द्र र पारसमाथि त्यसको आरोप लागे पनि पुष्टी गर्ने विश्वसनीय प्रमाण नभेटिएको बताए। "माओवादीले पहिला वीरेन्द्रको हत्या गरेको दोष ज्ञानेन्द्रलाई दिएर गणतन्त्रका लागि अन्य पार्टीलाई एक ठाउँमा ल्याउन खोजे", जोनको भनाई छ, "पछि वीरेन्द्रसँग कार्यगत एकता थियो भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रवादी भएको कारण विदेशी शक्तिले उनको हत्या गरेको भनेर रणनीतिक वक्तव्य दिएका छन्।"
नेपालमा भारतीय प्रभावलाई सन्तुलनमा राख्न वीरेन्द्रले चीनसँग नजिकको सम्बन्ध विकास गरेकाले उनको हत्या भएको विश्वास गर्ने अन्य विश्लेषकहरू पनि भएको बताउँदै जोनले वाङ होङवेइ जस्ता चिनियाँ विश्लेषकहरूको तर्कले तिनीहरूलाई आड मिलेको दावी गरे। नेपाल बुझ्न चाहने हङकङका अध्येताहरूबीच जानेले डेढ घण्टा लामो प्रस्तुती दिएका थिए।

No comments: