Tuesday, October 27, 2009

निगमले दुईवटा एयरबस किन्ने

काठमाडौं, नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि २१ वर्षपछि दुई ठूला जहाज किन्ने निर्णय गरेको छ। सोमबार राति अबेरसम्म बसेको सञ्चालक समितिको बैठकले युरोपेली जहाज उत्पादक कम्पनी एयरबसका जहाज किन्ने निर्णय गरेको निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले जानकारी दिए। 'एयरबसका जहाज खरिद गर्ने प्रस्ताव स्वीकृतिका लागि छनोट गरेका छौं,' उनले भने।
दुई दशकदेखि निगमले विभिन्न विवादका कारण ठूला जहाज किन्ने निर्णय गर्न सकेको थिएन। अन्तर्राष्ट्रिय उडानका लागि अमेरिकाको बोइङ कम्पनीका दुई जहाज उडाइरहेको निगमले एयरबसको जहाज पहिलो पटक किन्ने निर्णय गरेको हो। एयरबस जहाज ल्याएमा निगम व्यवस्थापनले पाइलट, इन्जिनियरसहित प्राविधिक कर्मचारीलाई पुनः तालिममा पठाउनुपर्छ।
निगमलाई जहाज बेच्न एयरबससँगै प्रतिष्पर्धामा उत्रिएको बोइङ कम्पनी यसमा पछाडि परेको छ। एयरबसका लागि नेपाल नयाँ गन्तव्य भएको छ। नेपाललाई जहाज बेच्न पाउनु एयरबसको प्रतिष्ठा हुनेछ। 'बोइङको भन्दा एयरबसको वित्तीय र अन्य प्राविधिक पक्ष निगमका लागि फाइदाजनक भएकाल उसैको जहाज किन्ने निर्णय गर्‍र्यौं,' उनले भने, 'एयरबसले छ महिनादेखि एक वर्षसम्म मर्मतसम्भार निःशुल्क दिने प्रस्ताव गरेको छ।'
खुला प्रतिष्पर्धामा उत्रिएको एयरबसले बोइङको भन्दा कम मूल्यमा जहाज बेच्ने प्रस्ताव हालेको कंसाकारले जानकारी दिए। एयरबससँग न्यारो बडीमा ए३२०-२०० र वाइड बडीमा ए३३०-२०० सिरिजका जहाज किन्न लागिएको उनले बताए। 'न्यारो बडी आगामी जेठ दोस्रो सातादेखि साउन दोस्रो साताभित्र काठमाडौं पठाउने प्रस्ताव एयरबसको छ,' उनले भने, 'वाइड बडी सन् २०११ को पहिलो छ महिनाभित्र आइसक्छ।'
कंसाकारका अनुसार एयरबसले न्यारो बडीलाई ४ करोड १२ लाख ८९ हजार अमेरिकी डलर (३ अर्ब ८ करोड ४२ लाख ८८ हजार ३ सय रुपैयाँ) र वाइड बडीलाई ९ करोड २८ लाख ४५ हजार डलर (६ अर्ब ९३ करोड ५५ लाख २१ हजार ५ सय रुपैयाँ) मा बेच्ने प्रस्ताव गरेको छ। एयरबस न्यारो बडीमा १ सय ५० सिट र वाइड बडीमा २ सय ७९ सिट क्षमता छ।

No comments: