Saturday, October 10, 2009

शान्ति तर्फको नोबेल पुरस्कार ओबामालाई

असोज २३- यस वर्षको शान्तितर्फको नोबेल पुरस्कार अमेरिकी राष्ट्रपति बाराक ओबामालाई प्रदान गर्ने निर्णय छनौट समितिले शुक्रबार घोषणा गरेको छ। राष्ट्रपति ओवामाले शान्तिका लागि कुटनीतिक प्रयास गरेको भन्दै उनलाई पुरस्कार प्रदान गर्न लागिएको बताइएको छ।
नोबेल पुरस्कार छनौटका लागि बनेको निर्णायक समितिले अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापनार्थ कुटनीतिक प्रयासलाई ओवामाले विशेष गति दिएका कारण उनलाई २००९ को शान्ति तर्फको पुरस्कार प्रदान गरिने जनाएको छ।
समितिले मानिसहरुबीच परस्पर सहयोग र सहकारिता बढाउने दिशामा पनि ओवामाले काम गरेका कारण उनी पुरस्कारका लागि उत्तम भएको बताएको छ।
शान्ति र मानवतासँग सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरुलाई बलियो बनाउने र परमाणु अप्रसारलाई जोड दिएकोमा पनि ओवामालाई पुरस्कार दिइएको छनौट समितिले जनाएको छ। ओवामाको परमाणु हतियार बिनाको संसारको परिकल्पनालाई पनि पुरस्कार पाउने कारणमा उल्लेख गरिएको छ।
ओवामा प्रशासनले जलवायु परिवर्तनलाई दिएको महत्व र यसबाट उत्पन्न हुन सक्ने संकट कम गर्ने तर्फ लिएको अग्रसरतालाई पनि छनौट समितिले महत्व दिएको छ। राम्रो भविष्य प्रतिको आशावादी जगाउन ओवामा जस्तो सफल व्यक्ति अहिले कोही नभएको समितिले जनाएको छ।
संसारभरबाट नोबेल शान्ति पुरस्कारका लागि यस वर्ष दुई सय पाँच जनाको नाम छनौट परेको थियो।

No comments: