Thursday, October 8, 2009

'प्रधानमन्त्रीले राजीनामा दिए गतिरोध अन्त्य'

एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिए राजनीतिक गतिरोधको अन्त्य हुने बताएका छन्।
सत्ताधारी दल र माओवादीका आआफ्नै अडानले समस्याको निकास ननिस्केको अवस्थामा भट्टराईको यस्तो धारणा आएको हो। बुधबार बाग्लुङमा उनले प्रधानमन्त्रीलाई राजीनामा दिएर बाटो खुला गर्न आग्रह गरे। 'कि राष्ट्रपतिको असंवैधानिक कदम सच्याउनु पर्‍यो,' उनले भने, 'होइन भने, प्रधानमन्त्रीले राजीनामा दिएर मुलुकलाई निकास दिनुपर्छ।'
दलहरुले सहमतिको कुरा गर्दै हिंडे पनि तत्काल गतिरोध अन्त्य हुने सम्भावना नरहेको उनले बताए। राष्ट्रपति पूर्व राजा ज्ञानेन्द्रकै बाटोमा हिडेको समेत उनको भनाइ थियो। प्रधानमन्त्रीले राष्ट्रपतिको विरुद्ध महाअभियोगको प्रस्ताव ल्याउन चुनौती दिएकाबारे उनले भने, 'माओवादी चुनौतीदेखि भाग्ने पार्टी होइन, हामी महाअभियोग ल्याउन पनि तयार छौँ। तर, मुलुकमा अस्थिरता फैलाएर फोहोरी खेल खेल्ने पक्षमा छैनौँ।

No comments: