Friday, June 1, 2012

माओवादीको अन्तिम छिनोफानो हुँदै

माओवादीमा संस्थापन र उपाध्यक्ष मोहन वैद्य पक्षबीच सैद्धान्तिक-वैचारिक बिभाजन मात्र होइन, सांगठनिक बिभाजन पनि स्पष्टसंग देखिएको छ । दुई पक्षबीच औपचारिक बिभाजन हुन मात्र बाँकी छ । अलगअलग केन्द्रीय कार्यालय मात्र होइन, दुबै पक्षले सांगठिनक संरचना समेत बनाइसकेका छन् ।
संविधानसभा भंग भएको अवस्थामा औपचारिक नयाँ पार्टी खोल्न वैद्य पक्षलाई बाटो खुलेको छ । उसलाई नयाँ पार्टी गठन गर्न ४० प्रतिशत सांसद पुर्‍याउने तनाव पनि छैन । संस्थापनले पनि वैद्य पक्ष एउटै पार्टी रहने आशा करिब आशा मारिसकेको अवस्था छ । यतिबेला माओवादी एउटै भन्नु मात्र छ, सबै संरचना दुईवटा भइसकेका छन् । केही समय अघिसम्म एक पार्टी दुई प्रणाली भए पनि अबचाँहि करिब दुई पार्टी भइसकेको अवस्था छ ।
बुधबार उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिब रामबहादुर थापाबीच ललितपुरमा भएको भेटवार्तामा थापाले अब एउटै पार्टीमा अटाउन गाह्रो भएको बताएका छन् । 'पहिलेजस्तै एउटै पार्टीमा बस्न गाह्रो भएको बादल (थापा) ले बताउनुभयो, मैले एकताको लागि छलफल गरौ भने' श्रेष्ठको भनाइ छ, । संस्थापनले अन्तिम छिनोफानो गर्न भए पनि एउटै केन्द्रीय समिति बैठकमा बस्न आग्रह गरे पनि वैद्य पक्षले मानेको छैन ।
संस्थापनले बिहीबार बोलाएको केन्द्रीय समिति बैठकमा समेत नआउने वैद्य पक्षले जनाएको छ । संविधानसभा बिघटन भइसकेको अवस्थामा नयाँ कार्यनीति बनाउन बस्न लागेको बैठकमा वैद्य पक्षलाई समेत सहभागी गराउने संस्थापनको तयारी भए पनि उक्त पक्षले अस्वीकार गरेको छ । वैद्य पक्षले छुट्टै केन्द्रीय समिति बोलाएको छ ।
प्रवक्ता दीनानाथ शर्माले वैद्य पक्ष निकै टाढा गइसकेकोले नजिक आउन गाह्रो भएको टिप्पणी गरे । 'हामी नजिक ल्याउन प्रयास गरिरहेका छौ, उहाहरु धेरै टाढा गइक्नु भएको छ' उनको भनाइ थियो, 'अब नजिक आउन गाह्रो भइसकेको छ ।'
उता वैद्य पक्ष संस्थापनको शान्ति र संविधानको कार्यदिशा असफल भइसकेको उल्लेख गर्दै नेतृत्वमाथि प्रश्नचिन्ह उठाएको छ । वैद्य पक्षीय स्थायी समिति सदस्य नेत्रबिक्रम चन्दले पार्टीको मुख्य नेतृत्व (अध्यक्ष पुष्पकमल दाहाल) असफल भएको बताए । 'उहाहरुको कार्यदिशा असफल भइसकेको छ' उनले कान्तिपुरसंग भने, 'मुख्य नेतृत्वसमेत असफल भइसकेको छ ।' वैद्य पक्षले जनताको संविधान बन्न नसक्ने निश्कर्ष पुष्टि भएको भन्दै आफूले लिएको जनविद्रोहको तयारी गर्नुपर्ने कार्यदिशा सही सावित भएको दाबी गरेको छ । चन्दले पनि संस्थापनसंग गंभीर वैचारिक मतभेद भइसकेको उल्लेख गर्दै तत्काल मेलमिला हुने संभावना न्युन भएको बताए ।
संस्थापनले बैठकमा नबोलाएको दाबी गर्दै उनले बिहीबार आफ्नो विचार समूहको केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए । 'हामी राजनीतिक परिस्थिति र आगामी कार्यदिशाबारे छलफल गर्छौ' उनको भनाइ छ ।
अध्यक्ष दाहालले राजधानी नजिक पर्यकीय स्थल नगरकोटमा एक रिसोर्टमा एकरात बिताएर बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने राजनीतिक प्रस्ताव बुँदागत रुपमा तयार पारेका छन् । दाहालसंगै नगरकोट गएका पोलिटब्युरो सदस्य अग्नि सापकोटाले विकसित राजनीतिक परिस्थितिको विश्लेषण गर्दै संविधानसभा निर्वाचन, सांगठिनक पुनर्सरचनालगायतको विषयमा प्रस्ताव तयार पारेको जनाए । 'संविधानसभा निर्वाचनसम्म पार्टीलाई एकतावद्ध गरेर लैजाने, पार्टीको आन्तरिक सुदृढीकरण गर्ने लगायतको प्रस्ताव बुँदागत प्रस्ताव तयार पार्नुभएको छ' उनले भने, 'साथै, राष्ट्रिय सहमतिको लागि प्रयास गर्ने प्रस्ताव पनि छ ।'
माओवादीले संयुक्त मोर्चा गठनको तयारी समेत गरेको छ । संविधान सभा निर्वाचन वा आवश्यक परे संघर्षका लागि त्यस्तो संयुक्त मोर्चा बनाउन लागेको हो । 'पहिचानसहितको संघीयतालाई लिएर संविधानसभाको चुनावी मोर्चा बनाउने कुरा पनि छ' सापकोटाले भने, 'आवश्यक पर्‍यो भने संघर्षका लागि त्यो मोर्चा हुने छ ।'
वैद्य पक्षले भने प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग गर्दै संघर्षका कार्यक्रम तय गर्न लागेको छ । देशब्यापीरुपमा संस्थापनको भण्डाफोर गर्ने तयारी गरेको एक नेताले जनाए ।
वैद्य पक्षले पार्टी फुटाए के गर्ने भन्ने विषयमा समेत संस्थापनले तयारी गरेको छ । त्यसका लागि केन्द्रदेखि स्थानीयस्तरसम्म सतर्कता अपनाउने र नेता तथा कार्यकर्तालाई संस्थापनतिर तान्ने रणनीति पनि उसको छ । पार्टी फ्ट्ने स्थितिमा वैद्यपक्षतिर न्युन नेता तथा कार्यकर्ता लाग्ने उसको विश्लेषण छ ।

No comments: