Saturday, December 17, 2011

कारागार आक्रमणमा घाइते पौडेलको निधन,कांग्रेसद्वारा नेपाल बन्दको आव्हान,चितवनमा बिहानैदेखि प्रदर्शन

काठमाडौ, चितवन कारागारमा भएको आक्रमणमा गम्भीर घाइते भएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको उपचारका क्रममा शनिबार बिहान निधन भएको छ । नेपाली कांग्रेसले हत्याको बिरोधमा शनिबार १० बजेबाट नेपाल बन्दको आव्हान गरेको छ । काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा बिहान ३ बजे उनको निधन भएको हो । पौडेलको निधनपछि सभापति सुशील कोइराला निवासमा नेताहरुको आकस्मिक बैठक बसेको थियो । कांग्रेसले पौडेल लगायत उनका साथीहरुमाथि लगाइएको झुठा मुद्दा फिर्ता लिनुपर्ने माग गरेको छ । कांग्रेस नेता बालकृष्ण खाँडले मुद्दा फिर्ता नलिएसम्म अस्पतालबाट पार्टी वा उनको परिवारले शव नबुझ्ने बताए । कांग्रेस तथा तरुण दलले राजधानीको विभिन्न भागमा प्रदर्शनको तयारी गरेको छ ।
बन्दको समाचारसंगै राजधानीका सडकमा सवारी साधन कम भइसकेको छ । हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका बेला मसिंर २० गते पौडेलमाथि एक समूहले आक्रमण गरेको थियो । आक्रमणमा गम्भीर घाइते पौडेलको चितवनमै उपचार भइरहेकोमा मसिंर २८ गते उनलाई काठमाडौं ल्याइएको थियो । पौडेलको निधनको खबर सुनेर कांग्रेसी नेताहरु न्यूरो अस्पताल पुगेका छन् । चितवनमा शान्ति सुरक्षा बिग्रिन नदिन स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ । कारागार भित्रै पौडेलमाथि आक्रम भएपछि सरकारले त्यतिबेला चितवनका प्रमुख जिल्ला अधिकारी,एसपी, कारागार प्रमुख लगायत अन्य केही सुरक्षाकर्मीलाई निलम्बन गरेर छानविन सुरु गरेको थियो । चितवनमा कांग्रेस कार्यकर्ता सडकमा पौडेलको निधन भएपछि बिरोधमा कांग्रेस कार्यकर्ताले चितवन ठप्प बनाएका छन् । खबर फैलिए लगत्तै झण्डा सहित सडकमा उत्रेका कार्यकर्ताले नारायणगढ, भरतपुर, रत्ननगर लगायत ग्रामिण क्षेत्रका चोक चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन । प्रदर्शनले सवारी आवागमन ठप्प भएको छ । डरले सर्वसाधरण घर बाहिर निस्केका छैनन् । यसै बीच चितवनमा हुन सक्ने प्रदर्शन र हुलदंगा नियन्त्रणका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षा सतर्कता बढाएको जनाएको छ । अहिले  सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको छ ।
हिंसा भडकिन सक्ने अवस्थालाई लिएर बारेमा छलफल गर्न सुरक्षा प्रमुखको बैठक बसिरहेको छ । तरुण दल चितवनले  विभिन्न चार बुंदे माग प्रस्तुत गर्दै बन्द आव्हान गरेको छ । सचिव प्रेम पाठकद्वारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख भए अनुसार संगठनले पौडेल समेत तरुण दल कार्यकर्ता माथि लगाइएका मुद्दा खारेज गर्नुपर्ने, पौडेललाई सहिद घोषणा गर्नुपर्ने, हत्यामा संलग्नलाई सार्वजनिक गर्नु पर्ने र दोषी पहिचान गरी कारबाही गर्नुपर्ने माग अघि सारेको छ । पाठकले माग प्रति सरकारको धाराणा सार्वजनिक हुनुपर्ने बताएका छन् । यसैबीच प्रर्दशनकारीले रत्ननगरको वकुल्लहरमा साईड लगाउने क्रममा ना ३ ख २५०१ नम्वरको ट्रकमा तोडफोड गरेका छन् । तोडफोडबाट ट्रकका वत्ति र सिसा फुटेका छन् ।

No comments: