Monday, September 26, 2011

प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तो

प्रधानमन्त्री बाबुराम भट्टराई र संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि-मुनबीच शनिबार अपराह्न भेटवार्ता भयो। सो अवसरमा महासचिवको दोस्रो कार्यकालका लागि बधाई दिँदै प्रधानमन्त्री भट्टराईले महासचिवले नेपालको शान्ति प्रक्रियामा व्यक्तिगत चासो लिएकामा तथा राष्ट्र सङ्घमार्फत सहयोग गरेकामा सराहना गरे। सो अवसरमा दुई बीच लुम्बिनी विकासका सम्भावनाबारे पनि छलफल भएको थियो। प्रधानमन्त्रीले महासचिव मुनलाई नेपालको भ्रमणका लागि निम्तो पनि दिएका छन्।
यसैबीच, प्रधानमन्त्री भट्टराई र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ विदेशमन्त्री याङ जेचीलाई राष्ट्र सङ्घको महासभाकै सिलसिलामा छुट्टाछुट्टै भेट गरेको न्युयोर्कस्थित राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले जनाएको छ।
सो अवसरमा प्रधानमन्त्री भट्टराई र उपप्रधानमन्त्री श्रेष्ठलाई चिनियाँ विदेशमन्त्रीले चीन भ्रमणको निम्ता दिए। शनिबार साँझ प्रधानमन्त्री डा भट्टराईले स्थानीय नेपाली सञ्चारकर्मीसँग भेट गर्दै छिमेकी मुलुकलगायत व्यापक अन्तर्राष्ट्रिय समुदायलाई नेपालको शान्ति प्रक्रिया, संविधान लेखन र सुशासन सम्बन्धमा नेपालको प्रतिबद्धताबारे जानकारी गराउन पाएकामा गहिरो सन्तोष व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय समुदायबाट नेपालप्रति प्राप्त सद्भावनाप्रति पनि सन्तोष व्यक्त गरे। उनले भने-मेरो भ्रमण सफल र अति नै लाभदायक भएको छ।
यसैबीच उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ र संयुक्त अरब इमिरेट्सका राजकुमार तथा विदेशमन्त्री सेख अब्दुल्लाह बिन जायद अल नयानबीच भेटवार्ता भयो।
सो अवसरमा उनीहरुबीच दुई देशबीच व्यापार, पर्यटन र आर्थिक सम्बन्ध प्रवर्द्धन गर्न संयुक्त आयोग स्थापनाका लागि विचार आदानप्रदान भएको जनाइएको छ।

No comments: