Saturday, September 24, 2011

अनुमतिविना सञ्चालित ३ मेडिकलमा ताला

असोज ६- दर्ताबिना सञ्चालनमा रहेका धादिङ सदरमुकाम धादिङबेशीका तीन मेडिकलमा जिल्ला प्रशासन कार्यालय धादिङले तालाबन्दी गरेको छ। कानुनी प्रक्रिया पूरा नगरेको भन्दै प्रशासनले कृष्ण मेडिकल हल, धादिङ पोलिक्लिनिक र सेमजोङ भुपु सैनिक मेडिकल हलमा तालाबन्दी गरेको हो।
सदरमुकाममा सञ्चालित १६ मेडिकलमध्ये अधिकांश मेडिकल रितपूर्वक नभएको अनुगमन समितिका संयोजक एवम् धादिङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए। 'सुधार गर्ने अवस्था भएकाले केही मेडिकललाई मौका दिएका हौं।' उनले भने- दर्ता नै नगरी सञ्चालन गरेका मेडिकलमा मात्र तालाबन्दी गरेका हौं।' यसअघि गरेको अनुगमनको आधारमा औषधी व्यवस्था विभागको निर्देशन अनुमान अनुगमन टोलीले ३ पसलमा तालाबन्दी गरेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
अनुगमन टोलीले सबै मेडिकल हलमा सार्वजनिक सूचना टाँस गरी आवश्यक कानुनी प्रकृया पूरा नगरी पसल नचलाउन निर्देशनसमेत दिएको गैरेले बताए। अन्य व्यक्तिको नाममा लाइसेन्स लिई व्यवसाय सञ्चालन गर्दै आएका औषधी व्यवसायीलाई समेत प्रशासनले सचेत गराएको थियो।
अनुगमन टोलीले पृथ्वी राजमार्गअन्तर्गतका केही होटलको समेत शुक्रबार पुनः अनुगमन गरेको छ। अनुगमनको क्रममा बुधबार र बिहीबार होटलमा टाँस गरिएका विवरणका आधारमा केही होटलमा सामान्य सुधार देखिएको गैरेले बताए।

No comments: