Sunday, December 5, 2010

निकास दिन नसक्ने हामी चैतेबाँदरजस्तै भयौँ: भट्टराई

संविधानसभा म्याद थपिएको समय पनि घर्कंदै गए पनि दलहरूबीच राजनीतिक सहमति जुट्न नसकेकोमा ठूला दलका नेता आफैँले दुःखमनाउ गरेका छन्।
देशलाई निकास दिन सहमतिको विकल्प नभए पनि दलहरू जिम्मेवार नभएको समेत उनीहरूले टिप्पणी गरे। शनिबार राजधानीमा नेपाल एफएमको सातौँ वार्षिकोत्सवमा उनीहरूले सहमतिको बिन्दुमा आउन नसकेकोमा आफैँसँग आत्मालोचनासमेत गरे।
'देशलाई निकास दिन नसक्ने हामी राजनीतिज्ञ चैतेबाँदरजस्तै भएका छौँ,' एकीकृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले भने, 'यो अवस्थाले मलाई लज्जित तुल्याएको छ।' उनले संविधानसभाको म्याद सकिन थाले पनि राजनीतिक सहमति जुट्न नसकेकोमा दुःख व्यक्त गरे।
कांग्रेस नेता रमेश लेखकले शान्ति र संविधानका लागि दलहरू जिम्मेवार नभएको आरोप लगाए। उनले संविधानसभाको म्यादभित्र शान्ति र संविधान निर्माण प्रक्रियालाई पूर्णता दिन सबै दललाई सक्रियतासाथ लाग्न आग्रह पनि गरे।
एमाले कार्यबाहक अध्यक्ष अशोक राईले सहमतिको राजनीति संकटमा परे पनि समाप्त भइनसकेको औंल्याए। उनले सहमतिबाहेक राजनीतिक निकासको विकल्प नभएको जिकीर गर्दै सबै दललाई सहमतिमा आउन आग्रह पनि गरे।
नेम्वाङको असन्तुष्टिसंविधानसभा अध्यक्ष सुवास नेम्वाङले दलहरूबीच सहमति गर्न रोक्ने तत्व आफूले नदेखेको भन्दै सहमतिमा आउन दलहरूलाई आग्रह गरे। उनले भने, 'दलहरूबीच सहमति हुन नदिने तत्व के छ, मैले अहिलेसम्म बुझ्न नसकेको कुरा यही हो।' राजनितिक गतिरोध अन्त्य गर्न सहमतिको विकल्प नरहेको उनको भनाइ थियो। 'दलहरूबीच सहमति नभई शान्ति र संविधान निर्माण प्रक्रिया टुंगोमा पुग्दैन,' उनले भने।

No comments: