Thursday, August 6, 2009

'अध्यक्ष प्रचण्ड असफल' - बैद्य समूह

काठमाडौं - एकीकृत माओवादीको मोहन बैद्य समूहले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्व पार्टीलाई क्रान्तिकारी ढंगले सञ्चालन गर्न असफल भएको आरोप लगाएको छ। माओवादीको हालै सम्पन्न केन्द्रीय समिति बैठकमा बैद्य समूहले फरक दस्तावेज प्रस्तुत गरी त्यस्तो आरोप लगाएको हो।माओवादी बैठकले 'सैन्य शक्ति र संयुक्त मोर्चा' सहित विद्रोहको तयारी गर्नुपर्छ भन्ने फरक दस्तावेज प्रस्ताव गरेपछि पार्टी नीति त्यसैको आधारमा तयार पारेको छ। 'पार्टीको नेतृत्वमा सैन्य शक्ति र संयुक्त मोर्चालाई विद्रोहका तयारीका लागि व्यवस्थित गर्नुपर्थो' उक्त दस्तावेजमा 'पार्टी फितलो र अराजक हुनु शिविरमा भएको सेनाबाहेक बाहिरी लडाकु शक्ति कमजोर हुनु, पुरानो युद्धकालीन सत्ता विघटन हुनु तथा संक्रमणकालीन सरकारलाई नै सत्ताजस्तो बुझ्नु गम्भीर त्रुटि भएको छ।' जनविद्रोहको नीतिलाई दाहालले छाडेको आरोप पनि दस्तावेजमा लगाइएको छ। शान्तिको कुरा खास कुनै क्षणमा र अवधिमा उठाउन सकिने एवं अन्तिम शान्ति वर्गविहीन समाजमा पुगेपछि मात्रै प्राप्त हुने दस्तावेजमा छ। जनविद्रोह वा सशस्त्र संघर्षलाई अतिवाद देख्नु गलत भएको निष्कर्ष निकालिएको छ।'सशस्त्र विद्रोहको कुरालाई नै अतिवाद भन्नु वा गलत देख्नु र वर्गीय पक्षधरतामा टिकेको सत्तालाई संक्रमणकालीन परिस्थितिमा माथिबाट हस्तक्षेप गरेर विघटन गर्न सकिन्छ भन्ने सम्प्रेषण हुनु सही कुरा थिएन' दस्तावेजमा लेखिएको छ 'आगामी दिनमा यस विषयलाई गम्भीरतापूर्वक सच्याउनुपर्दछ र सशस्त्र संघर्षको वा जनविद्रोहको माध्यमद्वारा राज्यसत्ता बदल्ने अनिवार्य कुरालाई जस्ताको तस्तै सम्प्रेषण गर्नुपर्दछ।
'अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव क्रान्तिबाट विचलन भएको भनी आरोप लगाउँदै ४३ बुँदामा बैद्य समूहले फरक मत पेस गरेको थियो। पार्टीको तत्कालीन सचिवालयमा ती विषय टुंगिएपछि बैठकमा मौखिक जवाफ दिइएको थियो। बैठक सकिएको चार दिनसम्म पनि पारित प्रतिवेदन र सर्कुलर कतै पठाइएको छैन। पत्रकार सम्मेलनमा भित्री दस्तावेजमा भन्दा कार्ययोजनाका रुपमा रहेको 'नागरिक सर्वोच्चता, शान्ति, संविधान र राष्ट्रिय संयुक्त सरकार' को नारालाई मात्र सार्वजनिक गरिएको छ।बैठकमा दाहालको प्रतिवेदन पेस भएपछि तयारी गरिएको फरक दस्तावेज बैद्य समूहका पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलका नामबाट पेस गरिएको थियो। त्यस प्रस्ताव आएपछि दाहालले नै शीर्ष नेताहरुबीच सहमति गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।'फरक मतका सबै भावनालाई अध्यक्षले समेट्छु भनेरै बैठकमा सहमति भएको हो । फरक मतको सम्बोधन भएको छ' बैद्य निकट एक पोलिटब्युरो सदस्यले भने।पार्टी जनसमर्थनको हिसाबले मुख्य शक्ति भएर पनि तीन-तीन वर्षसम्म रणनीतिक प्रत्याक्रमणको आन्तरिक र अन्तिम तयारीमा लाग्न नसक्नु नेतृत्वको कमजोरी देखाइएको छ। 'पछिल्लो रुक्मांगत कटवाल प्रकरण र संक्रमणकालीन सरकारबाट राजिनामा दिने अवस्थालाई मूल्यांकन गर्दा हामी अहिले रणनीतिक प्रत्याक्रमणकै आक्रामक अवस्थामा नभएर सन्तुलनको अवस्थामा भएको कुरालाई इमान्दारीपूर्वक स्वीकार गर्नुपर्छ र व्यवस्थित रुपमा प्रत्याक्रमणको तयारीमा लाग्नुपर्दछ' दस्तावेजमा छ ।
पार्टीमा लामो समयदेखि सर्वहारावर्गको नेतृत्व प्रणाली र अवधारणाबारे अस्पष्ट देखिएको उल्लेख छ। दाहालको चर्को आलोचना गर्दै भनिएको छ- 'नेतृत्व केन्द्रीकरणका नाममा सामूहिक नेतृत्वको केन्द्रिकृत अभिव्यक्तिभन्दा पनि एक व्यक्ति केन्द्रीकरणको प्रणालीमा पुग्नुले सामूहिकता कमजोर हुँदै जान थाल्यो। यसले एकमनावाद व्यक्तिवादी अराजकतावादको जन्म गराइदियो। समूहको नेतालाई न्युनीकरण गर्ने खतरा र अनावश्यक रुपमा समूहभन्दा अलग्गै माथिको रुपमा अधिक व्यक्ति केन्द्रीकरणका समस्या रहे।'फरक दस्तावेजमा एक व्यक्तिलाई मात्रै नेतृत्व मानेर जाँदा समूहिकता नभएको भन्नेमा धेरैको मत देखिएपछि दाहाल बहुपदीय प्रणालीमा जान तयार भएको स्रोतले बतायो। एक व्यक्तिलाई मात्रै नेतृत्वको जिम्मा दिँदा क्षमता योग्यता भएका नेतालाई श्रद्धा सर्वहारावर्गीय सम्मान नभएको उल्लेख गरिएको छ। श्रद्धावाद चाकडीवादमा पार्टी फस्दै गएको भनी दाहाललाई आरोप लगाइएको छ। 'सामूहिकता हराउन थालेको छ व्यक्तिवाद र अराजकता मौलाउन थालेको छ। विगतमा लामो त्याग, साहस र वीरताबाट प्राप्त संस्कृतिमा धमिरा लाग्न थालेको छ' दस्तावेजमा छ ।पार्टी नेतृत्व पंक्तिको पारिवारिक जीवनबारे स्पष्ट दृष्टिकोण हुन नसकेको विषयलाई दस्तावेजमा उल्लेख छ। बैठकले दस्तावेजमा उल्लेख गरिएकै आधारमा नेतृत्वलाई १५ बुँदे आचारसंहिता जारी गरेको छ।जनमुक्तिसेनालाई ब्यारेकमा राख्नुभन्दा पनि जनतासँग जोड्ने र राष्ट्रियता र जनतन्त्रका गतिविधिमा परिचालन गरिनुपर्ने जोड दस्तावेजमा दिइएको छ। दस्तावेजमा आर्थिक आय व्ययको विवरण नभएको आर्थिक संकलनका स्रोतहरु संस्थागत नगरिएको आरोप लगाइएको छ। 'पार्टीभित्र नै ठेक्कपट्टाको झगडिया, जमिन वा अन्य मुद्दा मिलाएर रकम लिने अपारदर्शी संस्कृतिको विकास भयो' दस्तावेजमा भनिएको छ 'लेबी कोटामा आश्रित हुने श्रममा सहभागी हुने र सबै प्रकारका आय व्ययहरुको संस्थागत परिचालन गर्ने प्रणाली ध्वस्त छ।''

No comments: