Monday, August 3, 2009

माओवादीद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं, - एकिकृत नेकपा माओवादीले आफ्नो नेतृत्वमा सरकार नबनेसम्म आन्दोलन गर्ने भन्दै विरोधको कार्यक्रम तय गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवासमा सोमबार बसेको स्थायी समिति बैठकले बनाएका कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा भाग लिन नदिनेसम्म छन्। माओवादीले भदौ २० देखि ३० गतेसम्म देशका प्रमुख १० शहरमा ठूला आमसभा गर्ने भएको छ। माओवादीले त्यसै समयमा देशभर वर्तमान सकार विरुद्ध प्रचार प्रसार गर्ने नीति पनि लिएको छ। माओवादी निकट भनेर चिनिने मिरिमिरे एफएमका अनुसार आन्दोलनको दोस्रो चरणमा राष्ट्रपति रामवरण यादव जाने सार्वजनिक कार्यक्रमलाई वहिष्कार गरिनेछ।
त्यसपछि प्रधानमन्त्री माधवकुमार नेपाल सम्मिलित कार्यक्रम र अन्य मन्त्रीहरु सहभागी हुने कार्यक्रममा रोक लगाइने छ। माओवादीले आन्दोलनको संयोजन गर्ने जिम्मा बाबुराम भट्टराईलाई दिएको छ। अध्यक्ष भट्टराईपछि संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको उपाध्यक्षमा अमिक शेरचन र महासचिवमा नेत्रविक्रम चन्द चयन भएका छन्। बाँकी सदस्यहरुको टुङ्गो भने लागिनसकेको माओवादीले जनाएको छ। देशभक्त, वामपन्थी, वुद्धिजिवी र राष्ट्रप्रेमीहरुलाई आन्दोलनमा समेटिन आव्हान गरिने समितिका अध्यक्ष भट्टराईले बैठकपछि बताएका थिए। विरोधको विस्तृत कार्यक्रम सोमवार साँझसम्म आउने माओवादीले बताएको छ।

No comments: