Monday, January 30, 2012

इरानमाथि अमेरिका र युरोपको नाकाबन्दी भारतले नमान्ने

भारतले इरानबाट तेल आपूर्ति नघटाउने-
माघ १६ अमेरिका र युरोपले इरानमाथि लगाएको नाकाबन्दी र त्यसको बदलामा तेलको मूल्य अहिलेभन्दा निकै बढ्ने इरानको चेतावनीका बीच भारतले इरानबाट पेट्रोलियम पदार्थको आपूर्ति नघटाउने घोषणा गरेको छ।  अमेरिकाको सिकागोमा रहेका भारतीय अर्थमन्त्री प्रणव मुखर्जीको यो घोषणाले पेट्रोलियम पदार्थको आपूर्तिका लागि पूर्णतया भारतमा निर्भर हुनुपर्ने नेपाललाई तत्काल चिन्ता गरिहाल्नुपर्ने स्थितिबाट जोगाएको छ। भारतले इरानबाट १२ प्रतिशत तेल आपूर्ति गर्छ। सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुखर्जीले भने, 'हामी (भारत) प्रति वर्ष ११ करोड टन कच्चा तेल आयात गर्छौँ। हामी इरानबाट आयात घटाउने छैनौँ। अमेरिका र युरोपले नाकाबन्दी लगाए पनि इरान भारतको लागि महत्त्वपूर्ण देश हो।'
उनले विकासशील देशहरुको आवश्यकतालाई इरानले पूरा गर्ने भएकोले पनि त्यहाँबाट आयात घटाउन नसकिने बताए। इरानबाट ठूलो संख्यामा तेल आयात गर्ने देशमा भारत चीनपछिको दोस्रो राष्ट्र हो। चीनले पनि नाकाबन्दी स्वीकार नगर्ने बताइसकेको छ। नाकाबन्दीको विरोधमा इरानले युरोपमा कच्चा तेलको आपूर्तिमा कटौति गर्ने योजनालाई स्थगित गरेको छ। आइतबार मात्रै इरानको राष्ट्रिय तेल कम्पनीले इयुको नाकाबन्दीले तेलको भाउ प्रति ब्यारेल (१ सय ५९ लिटर) १२० डलरदेखि १५० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको थियो। इरानका उपराष्ट्रपति मोहम्मद रेजा रहिमीले पश्चिमाले तेल निर्यातमा थप नाकाबन्दी लगाए तेहरानले स्ट्रेट अफ होर्मुज भएर एक थोपो तेल बाहिरन नदिने चेतावनी दिएका छन्। सोही स्थान भएर ५ भागमध्ये १ भाग तेल विश्वबजार पुग्छ। इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिका र युरोपले आर्थिक नाकाबन्दी लगाएको हो। बिदा मनाउने होनोलुलु पुगेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले नयाँ वर्षको पूर्वसन्ध्यामा प्रतिरक्षासम्बन्धी कानुनमा हस्ताक्षर गरेका थिए।
सो कानुनअनुसार कुनै इरानी केन्द्रीय बैंकसँग कारोबार गर्ने कुनै पनि कम्पनी अमेरिकाको वित्तीय प्रणालीमा बाहिरनेछ। अर्थात इरानसँग व्यापार गर्ने कम्पनीले अमेरिकासँग व्यापार गर्न पाउने छैन। अमेरिकाका दुवै सदनले पारित गरेको सो विधेयकको कार्यान्वयन छ महिनापछि हुनेछ। यसको उद्देश्य इरानबाट कसैले तेल खरिद नगरोस् भन्ने हो। पश्चिमा राष्ट्रले इरानको आयको प्रमुख स्रोतका रूपमा रहेको तेलको आम्दानीलाई घटाएर परमाणु कार्यक्रमका लागि रकम विनियोजन गर्न नसक्ने अवस्था उत्पन्न गर्न चाहेका छन्। अर्थात आफूले भनेको कुरा मान्न बाध्य बनाउने हतियारका रूपमा तेललाई प्रयोग गर्न खोजेका छन्। तनावका बीच एसियामा तेलको मूल्य सोमबार मध्याह्न शुक्रबारभन्दा घटेर ९९ डलर सात सेन्ट पुगेको छ। शुक्रबारको मूल्य ९९.५६ डलर थियो।

No comments: