सँगठित अपराधको कुरा विश्वभर प्रचलनमा आएको ईटालीयन माफियाका गतिविधिकै कारणले हो। पुरा परिवार अपराधमा लाग्ने र कुश्त पैसा कमाउने माफीया गतिविधि मानव समाजमा रहेका कमजोरीका कारण उत्पन्न भएको हो भन्दा फरक नपर्ला। पत्रकार, प्रहरी, वकिल, न्यायाधीश देखी लिएर अपराध अनुसन्धानमा सँलग्न हरेकलाई प्रभावित गर्न माफियाहरु अत्यन्त सक्षम छन। आफ्नो अपराधलाई छोप्नु त छँदैछ, निरपराध र निर्दोषलाई आफ्नो विरोध गरे वापत फसाउने वा मर्न बाध्य गर्न यी माफीयाहरु सक्षम छन। जिम्मेवार पदमा बसेकाहरु केही पैसामा बिक्दा समाजमा असामाजिक तत्वहरु मौलाउने रहेछ र कानूनलाई धोती लगाईने रहेछ। मार्लन ब्रान्डो र अल पाशिनो अभिनित "गड फादर"ले यावत माफिया गतिविधिलाई सर्वप्रथम १९७०को दशकमा सिल्भर स्क्रिनमा प्रस्तुत गर्दा अधिकाँशका अाँखा खुलेका थिए।
सँगठीत अपराधमा लाग्नेहरुले गर्ने कृयाकलाप, आवश्यक नेटवर्क, सुरक्षा प्रबन्ध, राजनैतिक र कानूनी सँरक्षण अहिले तस्करी, लागु-औषध कारोबारमा मात्र सिमित छैन। जग्गा दलाली, शिक्षालय, मानव तस्करी, खाध्य सामाग्री वितरण जस्ता हरेक क्षेत्रमा अहिले हामी माफिया शब्दको प्रयोग भएको देख्न सक्छौँ। जनस्तरमा सिमित विरोधहरु धेरै जसो लाचारीका छन। तर, मर्माहन्त गर्ने घटनामा भने जनआक्रोश उम्लिएको हामीले देखेका छौँ। श्रम बजारमा व्याप्त अन्यौल र शोषणले गर्दा जब १२ जवान नेपालीहरु इराकमा एक चिहान हुन पुगे, तब काठमाडौँका हरेक म्यान पावर कार्यालयमा आगो लाग्न पुगेको थियो। नेपालीहरु विदेशमा अनाहकमा मर्न बाध्य हुँदा, नेपाली जनसाधारणले देखाएको यस आक्रोशित रुपले श्रम बजारमा कार्यरत केही असल कम्पनीहरु पनि प्रभावित भएका थिए। तत्पश्चात, श्रम बजारमा सँलग्नहरु आफैले पनि अवैध गतिविधिलाई नियन्त्रण गर्न चनाखो भएको देखिन्छ।
श्रम बजारमा देखिएको जस्तो प्रत्यक्ष शोषणका रुप अन्य क्षेत्रमा पनि देखिएका छन र नेपालीहरु समय-समयमा बढो आक्रोशित भएका छन। विश्वविध्यालय जस्तो प्राज्ञिक क्षेत्रमा नातावाद लादने, भ्रष्टाचार गर्ने र आफ्ना विरोधीलाई बदनाम गर्ने जस्ता काममा काठमाडौँ विश्वविध्यालयका उपकूलपति डा. सुरेश राज शर्मा सँलग्न हुन पुगेपछि, आक्रोशित प्राध्यापक वर्गले तुरुन्तै सँगठन खोलेका थिए र नातावादी-भ्रष्टाचारी उप-कूलपतिका विरुद्ध आवाज बुलन्द गरेका थिए। काठमाडौँ विश्वविध्यालयमा जब नातावाद र भ्रष्टाचारका विरुद्ध आवाज बुलन्द हुन थाल्यो, तब सुरेश राज प्रशासनले भौतिक र मानसिक दुबै रुपमा आफ्ना विरोधीहरुलाई समाप्त गर्ने कदम चाल्न पुगे। अख्तियारमा धाईरहेका अभियुक्त भाईको प्रयोग गर्दै सँस्थापक प्राध्यापक डा. सुरेन्द्र राज काफ्ले माथि आक्रमण गर्ने, धुलिखेलका स्थानिय मन्डलेको प्रयोग गर्दे प्राध्यापक सँघका सदस्य र पदाधिकारीहरु माथि आक्रमण गर्ने जस्ता कामका शृँखलामा सुरेश राज प्रशासनले एक कर्तव्यनिष्ठ दलित कर्मचारीमाथि गरेको आक्रमण पश्चात नै हो सुरेश राजको माफिया रुप सबका अगाडी छरपस्ट हुन पुगेको।
विश्वविध्यालयमा नातावाद हुनु हुँदैन, शिक्षक-कर्मचारीले साँगठानिक अधिकार पाउनु पर्छ भन्दा स्व. बुद्धि बहादुर विश्वकर्मालाई जातीवादी लान्छनाका साथ धम्क्याईएको रहेछ। आत्मसम्मान पुगेको ठुलो चोटका कारण अन्तत: बुद्धि वहादुरजीले आफ्नो जीवननै त्याग्न पुगे। उनको देहावसान पश्चात प्राध्यापक सँघका मित्रहरुले पत्रकारहरुलाई बोलाएर मृतकका श्रीमतिका बयान सुनाएछन। तर, स्थानिय सँवाददाताहरुद्वारा प्रेषित समाचारले नेपालका कुनै पनि सँचार निकायमा स्थान पाएनछ। क्षति कम गर्ने अभियान अनुरुप एकातिर सुरेश राज प्रशासनले धम्क्याउने कार्यमा सँलग्न पदाधिकारीहरुलाई केही दिन विश्वविध्यालय नआउन सल्लाह दिएका रहेछन भने अर्कातिर ठुल्ठुला प्रकाशक र लगानीकर्ताहरुसँग आफ्नो सम्पर्कको प्रयोग गर्दै केही नछाप्न अनुरोध गरेका रहेछन। यसका साथै, स्थानिय प्रशासनलाई पनि प्रभावित गर्दै मानसिक अस्वस्थताले गर्दा हुन गएको आत्महत्या हो भन्ने प्रमाणित गर्न लगाएका रहेछन। मृतककी श्रीमतिले बढि दु:ख दिने देखेर, उनलाई पनि कतै जागिर मिलाईदिएर उक्त ह्यारासमेन्ट डेथलाई त्यतिकै सामसुम पारेका छन। प्रहरी, प्रशासन र पत्रकार-राष्ट्रका महत्वपूर्ण खाँबोहरुलाई परिचालन गर्न सक्ने र अपराधीलाई बचाउन सक्ने देखेरै हो, आज सुरेश राज शर्मालाई सबै शिक्षा माफिया भनेका।
लगभग १ वर्ष छ महिना अगाडीको यो घटनाबाट हामी धेरै अहिले पनि मर्माहन्त भएका छौँ। काठमाडौँ विश्वविध्यालयमा लगभग ३ वर्ष प्राध्यापन गर्दा र विभागिय प्रमूखको रुपमा कार्यरत रहँदा, स्व. बुद्धि वहादुरजीबाट मैले धेरै सहयोग पाएको थिएँ। मेकानिकल ईन्जिनियरिँगका मेशिन विभाग, प्रयोगशालाहरु देखि लिएर विध्यार्थिहरुलाई ड्रईँगसमेत सिकाउन उहाँ सिपालु हुनुहुन्थ्यो। कामकै सँबन्धमा हाम्रो भनाभन पनि भएको थियो। तर, उनले हाल प्रचारित "मानसिक असन्तुलन" जस्ता केही कुरा कहिले देखाउनु भएको थिएन। नजीककै मित्रलाई यसरी देहावसान पश्चात पनि बदनाम गर्न कुनै कसर नछोडने सुरेश राज प्रशासनको ताल देख्दा मलाई आज धनको तुजुकमा हिँडने माफियाहरु सबै एकैथरिका लाग्न थालेको छ । अमेरीकाको केन्ट विश्वविध्यालयमा हाल अध्ययनरत प्राध्यापक मित्र सिजन बरालजीले CJ Report मा लेख्नु भएको (यो लेख)पढेपछि मेरो मन फेरी भक्कानिएर आएको छ। काठमाडौँ विश्वविध्यालय अँग्रेजी विभागका प्राध्यापक मित्र सिजन बरालजीले जति राम्रोसँग डा. सुरेश राजलाई अरु कसैले चिनेका छैनन। मित्र बरालको अँग्रेजीमा रहेको दक्षताबाट प्रभावित भएर डा. सुरेश राजले यिनीबाट आफ्नो पत्राचार र भाषण-अभिभाषण तयारीका लागी धेरै सहयोग लिएका थिए। एक हिसाबले सुरेश राजसँग अत्यन्त निकट रहेर उहाँले काम गर्नु भएको कुरा स्पष्ट छ। हो, यही निकटताले गर्दा नै हामीले सुरेश राजलाई ठम्याएका हौँ र उनका विरुद्ध आन्दोलित भएका हौँ। दु:खको कुरा हामीले हाम्रा सहयोगी गुमाएका छौँ। किनभने प्राज्ञिक मान्यतालाई पूर्ण रुपमा तिलान्जली दिँदै सुरेश राज माफियाका रुपमै अगाडी देखिए।
No comments:
Post a Comment