Thursday, May 8, 2008

एन.आर.एन को अधिवेशन जात्रा:राष्ट्रियताको घोर बेइज्जतीको एक दिन-२

डा. बसन्त कुमार गौतम
नागोया, जापान

ठीक दश बजेको थियो फर्केर आइपुग्दा। कार्यक्रमको तयारी बल्ल शुरु हुन थालेको थियो। दश बजे शुरु हुने कार्यक्रमको स्टेज आदिको तयारी त दश बजेबाट नभई अलि पहिलेनै हुनुपर्ने होईन र? हामीलाई गलत समय भनिएको रहेछ कि? पछि उपलब्ध गराईएको कार्यक्रम तालिकामा एघार बजे भनेर लेखिएको रहेछ। लेख्न एघार लेखेपनि शुरु हुँदा बाह्र बज्न आँटिसकेको थियो।

तर दशबजेको उपस्थिति हेर्दा कार्यक्रम शुरु हुने भनेर तोकिएको समय दश बजेनै हो भन्ने स्पष्ट हुन्थ्यो। कार्यक्रम ढिलो सुरु हुनुको कारण बुझ्दा अनौठा कुराहरु सुनिए। कसैले भने “केहि उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन लगाएर सर्वसम्मत बनाउन हिजो साँझदेखि बिहानसम्म ‘कसरत’ र ‘चलखेल’ गर्नु परेकोले कार्यक्रम ढिला हुन गएको हो।“ गज्जब छ बा! ठीक छ ‘कसरत’ र ‘चलखेल’ त नेपाली भएको संगठनमा नहुने कुरै भएन, तर सबैका सबै त्यतै लाग्ने भए आयोजक समितिको के काम? ‘कसरत’ र ‘चलखेल’का ‘पेशेवर’हरु त्यता लागेर केहि मान्छे; धेरै पनि पर्दैन, ५-७ जना जति; कार्यक्रमको तयारीमा जुट्नुपर्दैन?! यति सानो ‘बच्काना’ कुरा पनि ठूल्ठूला गुड्डी हाँक्ने एनआरएन-जापानलाई थाहा छैन?!

अझ ‘गजब’ कुरो पनि सुनियो। ३ तारीख दिउँसो पाँच बजेसम्म सदस्यता लिएकाहरुले मत दिन पाउने सहमति थियो रे पहिला, तर एक पक्षले पाँच बजेको केहि मिनेटभित्र ल्याएका १५० नयाँ सदस्यता निवेदनले विवाद खडा ग-यो रे! ती १५० जनालाई मत हाल्न दिने कि नदिने भोलि’ भन्ने विवाद सुल्झाउन सबै रातभरि ‘खटेको’ले ढिला हुन गयो रे! यो एनआरएन कस्तो संगठन हो?! यो भन्दा धेरै साना संगठनहरुमा पनि २० घण्टा पहिला सदस्य बनेकै भरमा मत हाल्न पाईँदैन। मत हाल्ने अधिकार पाउन सके एक महिना, नत्र कम्तिमा एक हप्ता पहिला सदस्य बनेको हुनुपर्ने प्रावधान राखिनुपर्थ्यो। मलाई थाहा छैन, एनआरएन भनिने नौटंकी संस्थाको विधानमा यो कुरा छ कि छैन। अथवा विधानै पो छैन कि के थाहा? विधान भएको संस्था पनि यति गाईजात्रे हुन्छ?!

पढ्दै जानुस्, यो भन्दा ‘आश्चर्यजनक’ कुराहरु फेला पार्नुहुनेछ। एनआरएन-जापानको माध्यमबाट तपाईँलाई भरपूर ‘मनोरञ्जन’ दिनु मेरो एकमात्र उद्देश्य हो!:)

कति उभिने भनेर भित्र हलतिर पसियो एकछिन बस्नु प-यो भनेर। लगभग साढे चार सयजति अट्ने हल थियो। बाहिर अहिलेनै ७-८ सयको भिड भईसकेको थियो। हिजोसम्मको सदस्यता संख्याले १८०० नाघिसकेको थियो रे। सदस्य संख्यानै १८०० भएपछि हल पनि कम्तिमा ११-१२ सय अट्ने चाहिन्न र?

पछि आयोजकहरुसंग कुरा गर्दा यस्तो जवाफ पाईयो, “यो हल ४-५ महिना पहिलेनै बुक गरिएको हो। त्यो बेला दर्ता सदस्य संख्या ४००जतिमात्रै थियो। अहिले अचानक सदस्य संख्या बढ्यो तर अर्को ठूलो हल लिन असाध्यै महंगो परने भएर लिइएन।“ मौका पाए पूरै नेपाललाई सुनको जलप लाईदिन्छौं भनेर ‘खोक्ने’हरुले यस्तो कुरा गरेको अलि सुहाएन। पैसा मनपरी खर्च गर्ने भनेको होईन तर १५ सय जनाको भिड जम्मा हुने जान्दा-जान्दै त्यति सानो हललेनै काम चलाउन खोज्नुजस्तो मूर्खता र गैर-जिम्मेवारीपन के हुनसक्छ।

कार्यक्रम कतिखेर शुरु हुने हो थाहा छैन, बाहिर मान्छेको भिड बढेको-बढ्यै छ। विशाल भिड जम्मा भएको देखेर जापानीहरु छक्क परेर हेर्दैछन्। हलसंगै जोडिएर रहेको पुस्तकालयमा आउने-जाने जापानीहरुले बाटो पाएका छैनन र ‘के भएको हो!’ भनेर अल्मलिएका छन्। न स्वयंसेवकहरु यथेष्ट थिए, न भएकाकोनै गतिलो ब्यबश्थापन थियो। यस्तो रमिता जापानीहरुले जिन्दगीमा कहिल्यै देखेका थिएनन् होला।

स्रोत:ब्लगिँग बसन्त

No comments: