हालै सम्पन्न सँविधान सभा चुनावको सबै भन्दा सुखद पक्ष भनेको जनताले आफ्नो अभिमत मार्फत नातावाद र भ्रष्टाचारलाई पराजीत गर्नु नै हो। नेपाली राजनीतिमा वर्चश्व स्थापित गर्न सफल नातावाद र भ्रष््टाचारले यति अपमानजनक पराजय भोग्नु पर्ला भनेर कसैले सोचेका थिएनन। जनता भनेका त भेँडा हुन भन्ने र नोटको बिटो, साडीको थान र भोज-भतेरले भोट ल्याईन्छ भन्ने सामन्ती सोचाईलाई पराजीत गरेर नेपाली जनताले आफुलाई बढो परिपक्व साबित गरेका छन। निसन्देह, नेपाली राजनीतिमा प्रजातान्तृक धारको नेतृत्व गर्दै आएको नेपाली काँग्रेसले आफ्नो अर्ध सामन्ती रुपका कारण ठूलो पराजय भोग्नु परेको छ। तर, नेपाली काँग्रेसका नातावादी नेतृत्व भने पार्टीको पराजय भन्दा साडी वितरक सुपुत्रीको पराजयमा ज्यादा चिन्तित देखिन्छन।
वँशजका आधारमा राजनैतिक नेतृत्व हासिल गर्ने कुरा मन्डले राजावादीहरुले मात्र गरेका छैनन । नेपाली काँग्रेसलाई हेर्ने हो भने पनि यहाँ पनि थुप्रै नेताहरु छन जो आफ्ना अनुज, पुत्र-पुत्रीलाई आफ्नो शेष पछि पार्टीको नेतृत्व सुम्पन्न चाहन्छन। जानिफकारहरु भन्छन-यो दक्षिण एसीयाकै रोग हो। भारतमा गान्धी परिवार, पाकिस्तानमा भुट्टो परिवार, बँगलादेशमा हशिना र जियाको परिवार र श्रीलँकामा भन्डारनायके परिवार जस्तै नेपालमा कोईराला परिवार हुनु स्वाभाविक मान्छन केही त। तर, ठूल्ठुला विश्लेषकले स्वाभाविक मान्यो भन्दैमा, त्यो स्वाभाविकै हुन्छ भन्ने छैन। यदि जनताले नमान्ने हो र आफ्नो विवेक प्रयोग गर्ने हो भने परिवारबादको अन्त्यका लागी ब्यालट बक्स भए पुग्छ।
मधेशी जनाधिकार फोरुमका नेतृत्व उपेन्द्र यादवसँगको चुनावी प्रतिस्पर्धामा काँग्रेस केन्द्रिय सदस्य तथा विना विभागिय मन्त्री श्री सुजाता कोईरालाले बडो लज्जास्पद हार खानु पर्यो। अन्तरिम कालका सर्वशक्तिमान प्रधानमन्त्री पुत्री सुजाताले गृहजिल्लामै पराजय भोग्नुलाई अहिले धेरैले जनताको जागेको क्षणका रुपमा लिँदै छन। नेपाली राजनीतिमा बिना कुनै सँकोच नातावादको प्रयोग गर्ने गिरिजा प्रसादलाई जनताले थप्पड हाने भन्ने पनि केहीको भनाई छ। तर, सबभन्दा अचम्मको कुरा मोरँग क्षेत्र नँ ५ का नेपाली जनताले देखाएको विवेकसम्मत मतदान नै हो। निर्वाचान आयोगले चुनाव आचार सँहिता जारी गरे पश्चातका अवधिमा सो क्षेत्रका धेरै नेपाली महिलाहरु नयाँ-नयाँ साडीमा सजिएका थिए रे। चुनावकै बखतमा भएभरका मतदाताहरुका घरमा नयाँ साडी भित्रनुलाई अधिकाँशले सुजाताको कृपा पो भन्दा रहेछन। प्रतिद्व्न्दी उपेन्द्र यादव पनि एकताका निकै तनावग्रस्त देखिन्थे रे। तर, उनले बडो नम्रतापूर्वक भनेछन- "जे पाईन्छ लिनुस तर भोट मलाई दिनुस!" नभन्दै जब चुनावी परिणाम अगाडी आए तब धेरैले भन्न थालेछन मोरँगमा "साडी सुजाताको-भोट उपेन्द्रको।"
भर्खरै सम्पन्न सँविधान सभाको यो चुनावी परिणामले दुईटा प्रमूख सँकेत दिएको छ। सत्ताधारी, धनपति र शक्तिशालीहरुसँग नेपालीहरु कहिले मुखामुख गर्दैनन। दोस्रो, गोप्य मतदानमा नेपालीहरु विवेकसम्मत ढँगले सही प्रतिनिधीको चुनाव गर्छन। मोरङ्गका ग्रामीण भेगका जनताले देखाएको यस सुझबुझको म धेरै कदर गर्छु। वास्तवमै भन्ने हो भने, कुनै पनि चुनावमा धनको प्रयोग हुनु, पैसाकै बलमा मतदाताहरु बढाउनु र पैसाकै रवाफले प्रतिद्वन्द्धिलाई मनोवैज्ञानिक दवावमा राख्ने कुरा कुनै हालतमा पनि लोकतान्तृक होईन। यो त लोकतान्तृक पद्धतीलाई पैसाको तुजुकका आधारमा जीवन रहित यान्त्रिकतामा ढाल्ने कुरा मात्र हो। यस्तो यान्त्रिक पद्धतीले न कुनै सक्षम नेतृत्वको चुनाव गर्छ न सँस्थालाई जीवन्त गर्छ। ब्यालेट बक्सको ठूलो कमजोरी यसको यान्त्रिकरुपमा प्रयोग हुन सक्ने सँभावना हो भने, यसको झन ठूलो फाईदा भने मतदाताको विवेक पोख्ने भाँडो बन्नु हो। धनपतिको धन लिने तर भोट जनपतिलाई दिनु भन्दा ठूलो विवेकसम्मत कुरा अरु केही छैन। मोरँगका मतदाताले जस्तै विवेकको प्रयोग अब कस-कसले गर्ने हो त्यो भने अब हामीले छिट्टै देख्नेछौँ।
No comments:
Post a Comment