कार्यक्रम शुरु भएपछि भाषण सुनियो एकछिन। र पेटमा मूसा दौडिन थालिसकेकोले केहि साथीहरुसंग बाहिर लागियो।
खाना खाएर फर्केर आउँदा केहि साथीहरुले अर्को गज्जब कुरा सुनाए। नागोयाबाट हामीसंगै गएका केहि साथीहरुतिर एकजना ढल्किँदै आएछन् र पार्किङ गरिराखेका, हामी चढेर आएका बसहरुतिर देखाउँदै सोधेछन् "यो कस्को बस हो? किन यहाँ राखेको?"। साथीहरुले "हामी नागोयाबाट चढेर आएका बस हुन्। हलवालाले यहीं राख्नु भनेकोले राखेको हो।" भनेपछि ती मित्र जंगिन थालेछन्, "मेरो गाडी पार्क गर्ने ठाउँ भएन, तिमीहरुलाई बस लिएर आउनु भनेर कल्ले भन्यो----?!" साथीहरुले "बस ल्याउनु-नल्याउनु हाम्रो कुरो हो, तपाईँलाई पार्किङ चाहिने भए हलवालालाई भन्नुस्।" भनेछन्। त्यसपछि ती मित्र "मेरो गाडी पार्किङ गर्ने ठाउँ छैन, बस राख्ने----?!" भनेर भुन्भुनाउँदै हिँडेछन्। पछि अरुसंग पनि "नागोयाबाट आउनेको 'लिडर' कता छ?" भन्दै हामीमध्येका एकजना साथीको नाम लिएर खोज्दै हिँडेका थिए रे। फेरि पनि निहुँ खोज्न आए अझ 'गतिलो' जवाफ पाउने थिए तीनले, तर त्यो स्थिति आईपरेन। त्यो पार्किङ न त तीनको नीजि थियो, न तीनको नाममा पहिल्यै 'बुक' भएको थियो। पछि थाहा भयो, ती एनआरएन-जापानका अध्यक्ष रहेछन्। तीनको नेतृत्वको 'सक्षमता' त दुई वर्षको कार्यकाल र एकदिनभरिको 'रामलीला'ले देखाएकै थियो, तीनको तुक न तालको बडप्पन पनि देखियो।
देशमा राजतन्त्रले गुण्टा कसिकेको छ, तर विदेश बस्ने कतिपय 'नेता' नेपाली भने अझै आफूलाई
'छोटे राजा' संझिन्छन् जस्तो छ!
उम्मेदवारी दर्ता र फिर्ताको कार्यक्रम पनि अझै सकिएको थिएन। भित्र हलमा पस्दा सांगठनिक र आर्थिक प्रतिवेदन र विधान संशोधन आदिमा ‘छलफल’ हुँदै थियो। तर ‘छलफल’को मैले बुझेको सार यस्तो थियो “समयको अभावले गर्दा हामी अहिले यसमा छलफल-विवाद गर्न सक्दैनौं। एउटा कमिटि बनाएर त्यसलाई जिम्मा दिन्छौं, त्यसले अर्को वर्षको साधारण सभामा लानेछ र त्यतिबेलै छलफल गराउनेछ।“ यो त बडो अचम्मको कुरो भयो, यो वर्षको प्रतिवेदनमाथि अर्को वर्ष छलफल गर्ने! अर्को वर्षको कहिले गर्ने नि?!
घोषित रुपमा समूहगत उम्मेदवारी थिएनन् तर बेला-बेला हस्तलिखित अथवा छापिएका पर्चाहरु बाँडिइरहेका थिए। तीनमा केहि उम्मेदवारहरुका सूचि हुन्थे र तीनलाई मत दिन आग्रह गरिएको हुन्थ्यो। ती पर्चाहरु त ‘रमाईला’ छँदै थिए, तीनले खडा गरेका विवाद र ‘हा—हू’ झन ‘रमाइला’ थिए। यस्तो लाग्थ्यो नेपाली राजनीति अचानक टोकियोको मुटुमा आईपुगेको छ।
उता हल बाहिरको मानव समुन्द्र झन विशाल हुँदै थियो। तह नलागेको भिड देखेर हल र पुस्तकालयका जापानी कर्मचारीहरु निराश देखिन्थे। भिडसंगै स्वाभाविक रुपमा फोहर पनि बढिरहेको थियो। कागतका टुक्राहरु, क्यानहरु, पेट बोटलहरु र चुरोटका ठुटाहरु देखिन्थे जताततै। 'स्वनामधन्य' नेपालीहरु ती चीजहरु फाल्न नजिकैका ढ्वाङहरुसम्म पुग्ने 'पाउकष्ट' पनि गरिरहेका थिएनन् र जता बसेर 'हजम' गरेको हो, त्यतै मिल्काइरहेका थिए। हामी नेपाली जति वर्ष विदेश बसेपनि हाम्रो स्वभाव फेरिन्न, विशेष गरी नेपालीको जमघटमा त हामी उही पूरानै 'भान्छाको फोहर झ्यालबाट फाल्ने र बाटामा ढल मिसाउने' मार्कामा फर्किन्छौं। हामीले लालू प्रसादको नाम राखेर भन्ने-सुन्ने गरेको जोक हाम्रै लागि चरितार्थ भएको थियो र हामी नेपालीको हातमा परे जापानलाई एक दिनमै नेपाल बनाइदिन सक्छौं भन्ने कुराको बलियो प्रमाण पेश भएको थियो।
(मैले क्यामेरा बोकेको थिईँन, तर ब्लगको लागि भनेर मोबाइललेनै भएपनि केहि फोटोहरु खिचेको थिएँ। समयाभावका कारण अहिले राख्न सकिँन, क्षमाप्रार्थी छु। ती फोटोहरु र बाँकी विवरणका साथ अर्को भाग लिएर चाँडैनै आउनेछु।)
No comments:
Post a Comment