नेपाली साहित्यमा त्यति रुचि छैन भनेर कसरी भनुँ। प्रज्ञा प्रतिष्ठानको ढोकामा रहेको पसलबाट समलोचना लगायत विभिन्न साहित्यिक पत्रिकाहरु किनेर पढने गरेको थिएँ। म मा नेपाली साहित्य प्रति मेरो अनुराग जगाउनमा मेरा दिवगँत पिताजी लगायत काकाहरुले पढने गर्नु भएको पत्रिका-उपन्यासले धेरै ठुलो भूमिका खेलेको छ। काकाले कोठा सर्ने बेलामा किताबै-किताबले भरेको काठको बाकस भर्याङ््ग मूनि राख्नु भएको थियो। त्यतिकै चन्चलतावश बाकस खोलेर हेर्दा केही किताब देखेँ र पढन मन लाग्यो। " बालक बबुरो द्विज सुकनाम, हुँ म परेको छु एक पिँजरामा..." कवि शिरोमणि लेखनाथ पौड्याल द्वारा रचित "पिँजडाको सुगा" मैले कन्ठै पारेको थिएँ। त्यो बेला खै किन हो मलाई, त्यो कविताले एकदम घत पारेको थियो। स्कूलको पाठ्यक्रममा समावेश "सत्य सन्देश" पढिरहेकै थिएँ। कृष्णगोपाल सर "झुकेको वृक्ष निहुरिन्छ निरन्तर..........." हाम्रो आदर्श हुनुपर्छ भन्नुहुन्थ्यो। तर, पाठ्यक्रममा समावेश नभएको "पिँजडाको सुगा" मलाई जहिले पनि मन पर्यो। अहिले पनि म कहिलेकाँही गुनगुनाउँछु जब मेरी बुढी ज्यादा कच-कच गर्न थाल्छिन।
काकाको खजानामा रहेको यस पुस्तकबाट मैले जीवनमा शायद पहिलो पटक बन्धनको कष्ट महशुस गरेको थिएँ भने काकाकै खजानामा रहेको "स्वास्नीमान्छे" उपन्यासबाट जीवनकै पहिलो उन्मुक्ती महशुस गरेको थिएँ। नेपाली शब्द भन्डार निक्कै कमजोर थियो, अर्थ नबुझे पनि उपन्यासमा प्रस्तुत "नितम्ब'को नचाईले रोमान्चित हुन्थे। अहिले म महशुस गर्छु, १४-१५ वर्षे वय: सन्धी नाघ्ने उमेरका र नेपाली शब्दका अर्थ राम्रोसँग नबुझ्ने बालकमा पनि उत्तेजना जगाउन सक्ने शब्दशिल्पीहरुलाई हामीले मान्नै पर्छ। यो थियो, नेपाली साहित्यमा मेरो अनुराग जगाउन सफल काकाको खजानाको कुरा।
क्याम्पसमा प्रवेश र नेपाली विषयको अध्ययनका क्रममा भाषा-व्याकरणकै सन्बन्धमा पनि केहि सिक्नु पर्छ भन्ने भावना जागृत हुन पुग्यो। यसमा धेरथोर दवाव नेपाली विषयमा आवश्यक व्याकरणिय ज्ञानको कारण पनि थियो। जब अमृत क्याम्पसका लक्ष्मीकाँत पन्थीसरसँग सल्लाह मागेँ, उहाँले "राम्रो रचना मिठो नेपाली" लगायत अन्य व्याकरणका पुस्तकहरुका नाम दिनु भयो। "राम्रो रचना मिठो नेपाली"को नाम अहिले सम्झेको कारण पनि एउटा छ। त्यो हो, उक्त व्याकरणिय पुस्तकमा प्रस्तुत नाटककार बालकृष्ण समद्वारा रचित एउटा छन्दको कारण हो जसमा कुनै बुढी आमैलाई चाक्सी कति मिठो भनि सोध्दा, उक्त बुढी आमै आफुलाई बोक्सी भनिन भनेर रिसाउने एउटा छन्दात्मक दृष्टान्त छ।
क्याम्पस पश्चात भारतमा अध्ययनका क्रममा नेपाली साहित्यबाट केही लगाव हट्यो र अँग्रेजीमा पढन थालियो। हामी धेरैका अँग्रेजी सुध्रनुमा हाम्रो भारत अध्ययनको देन छ जस्तो मलाई लाग्छ। अध्ययन पश्चात काठमाडौँमा एकाध गोएथे ईन्स्टीच्युटमा गएको सम्झना छ। त्यो पनि कुनै नेताको पुस्तक विमोचन समारोहमा हो जस्तो लाग्छ। तर, नेपाली साहित्यमा मेरो अनुराग जगाउने काम भने न्युरोडको पीपलबोटले नै गरेको हो। भारतबाट भर्खर नेपाल फर्केको म टाईम्स अफ ईन्डीयाको खोजीमा नजर दौडाईरहेको थिएँ, त्यतिकैमा प्रतिष्ठानबाट प्रकाशित हुने "समालोचना"मा आँखा पर्यो। १५-२० रुपैयाँ दरका ती त्रैमासिक (शायद) एकाध हातमा राखे र हेर्न थालेँ। नेपाली साहित्यमा उदियमान तथा स्थापितहरुका रचनामा आँखा जुधेपछि पढन मन लाग्यो र किनेँ। त्यसपछि समालोचना मैले शायद लगातार नै किनेँ होला। काठमाडौँ विश्वविध्यालयमा १९९६ देखि पढाउन थाले पछि त यसमा रुचि झन बढन थाल्यो। कारण विश्वविध्यालयका नेपाली भाषाविद र रचनाकारहरुका रचनाहरु पढने उत्साह।
भवानी भिक्षु, दौलत विक्रम, सरुभक्तहरु धेरै पढियो जस्तो लाग्छ। रचनाको नाम केही पनि याद छैन। विपी कोईरालाका त सबै जसो रचनाहरु पढेको छु। कवितामा मेरो रुचि पछि रहेन। फलस्वरुप, गध्य, पध्य र निबन्धहरु धेरै पढन थालियो। वास्तवमा, अन्य धेरै नेपालीहरु जस्तै म पनि शौकिया पाठक मात्र हुँ। जानकार पाठक होइन। वास्तवमा अन्य धेरै जसोलाई जसरी मलाई पनि पुरस्कृत कृतिहरुनै पढन मन लाग्छ। अहिले मलाई पढन मन लागेको चाँही कृष्ण धारावासीको मदन पुरस्कार प्राप्त कृति हो। नाम बिर्सेको छु। किताब पसलमा गएर भन्छु र किन्छु।
म, जस्तै सबै नेपाली पाठकहरु हुन्छन भन्ने छैन। कोही नेपाली साहित्य भन्ने बितिक्कै भुतुक्क हुन्छन र हरेक नयाँ लेखक र रचनाकारका नाम सम्झन्छन होला। कमला स्वरुपको नाम चाँही उनले राजा ज्ञानेन्द्रको समर्थन गरेका कारण कतै पढेको थिएँ र सम्झेको हुँ। राजतन्त्रको समर्थन गर्नेहरु साहित्यकार होईनन भन्ने पक्षमा म छैन। लेखनाथ पौड्याललाई "पिँजडाको सुगा" लेखेका कारण राणाविरोधि भनेर दु:ख दिएका थिए रे पछि "सत्य सन्देश" कै आडमा विरोधीहरुले महेन्द्रभक्त भनेका थिए रे। यी कुराहरु एकदम वाहियात हुन। मलाई सबभन्दा वाहियात लागेको त युद्ध प्रसाद मिश्र र मोदनाथ प्रश्रितलाई "प्रगतीशिल" साहित्यकार भनेको कुराले नै हो। साहित्य अभिव्यक्तीको माध्यम मात्र हो, यहाँ सर्जकको राजनैतिक आस्था कहीले खोजीनु हुँदैन। तर पनि मानिसहरु गुट बनाउँछन र नियोजीत प्रयोजनका लागी त्यस्ता गुट-समूहको प्रयोग गर्छन। सुन्दै छु, जापानका डा. गणेश कुमार बस्नेत अहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका हर्ताकर्तामा नियुक्त भएका छन रे। राम्रो हो, यदि यीनले उक्त पदमा बसेर राम्रा सिर्जना गर्ने र आफ्ना मनोवेदनालाई जनसमक्ष पोख्ने हो भने। होईन, यो अध्यक्ष बन्ने यावतका कुराहरु राजनीतिबाट प्रेरित छ भने, अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपाली साहित्य कहिले उँभो लाग्दैन।
No comments:
Post a Comment