Wednesday, November 24, 2010

माओवादी सभासदको घोर भर्सना- जनसम्पर्क समिति जापान

माओवादी सभासदहरूले गत शुक्रबार राति व्यवस्थापिका संसद मच्चाएका अराजक जँगली व्यवहारको नेपाली जनसम्पर्क समिति जापान घोर भर्सना गरेको छ । उक्त वक्तब्यमा अर्थमन्त्री, ऊर्जामन्त्रीलगायत सभासदलाई साङ्घातीक आक्रमण गर्ने, बजेट ब्रिफकेस तोड्ने, आर्थिक गोप्यताका कागजात च्यात्ने, माइक भाँच्ने लगायतका माओवादी गतिविधि घोर अलोकतान्त्रिक र घोर निन्दनिय छ भनिएको छ ।
साथै , नेपाली जन सम्पर्क समिति जापानका महा- मंत्री भूपि गोविन्द श्रेष्ठ द्वारा जारी गरिएको उक्त वक्तब्यमा संसद हातपात गर्ने माओवादीका अनुशासन बिहिन सभासदहरुलाई कानुनी काठघरमा ल्याउन संसद्को अगुवा सभामुख सुवास नेम्वाङलाई नेपाली जनसम्पर्क समिति जापानले आग्रह गरेको छ ।

Monday, November 22, 2010

अनुराधा कोइराला, सीएनएन हिरो २०१०

माइती नेपालका संस्थापक अनुराधा कोइराला सीएनएन हिरो अफ द इयर घोषित भएकी छिन्। अमेरिकी समाचार संस्था सीएनएनले आफ्नो वेबसाइटमा आठ हप्तासम्म गराएको अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएर उनले यो उपाधि पाएकी हुन्। १०० देशका दर्शकहरुले पठाएका १० हजारभन्दा बढी समाजलाई योगदान दिने व्यक्तित्वहरुको सूचिबाट उनी यो वर्षको व्यक्तित्व बनेकी हुन्। उपाधिका अतिरिक्त उनले सीएनएनबाट एक लाख अमेरिकी डलर नगद पनि पाउने छिन्।
'तपाईहरुको यो सहयोग मेरा कामका लागि थप जिम्मेवारी हो' आँशु पुछिन् र उनले भनिन्, 'यो जघन्य अपराधलाई हामीले अन्त्य गर्नु पर्छ, आउनुस् हात मिलाउँ..........युवाहरुलाई सम्मान गरौं । जो नयाँ पुस्ताको निर्माण गर्दै छन् । धेरै धेरै धन्यवाद ।'
यो यौन दासी बनाउनका लागि हुने महिला तथा बालिकाहरुको तस्करी रोकथाम तथा उद्दारमा गरेको योगदानका लागि 'सीएनएन हिरो २०१०' घोषणा गरिंदा अनुराधा कोइरालाले दिएको मन्तव्य हो ।
सीएनएनले छानेका विश्वभारका दश जना उत्कृष्ट कर्मबीरहरु मध्ये उनी वायाँतिरको छेउमा उभिएकी थिइन् । सबैको हातमा हिरो (नायक) लेखिएको कार्ड थियो । कस्ले त्यो कार्ड उचाल्न पाउने हो, ति दशलाई मात्र होइन, उपस्थित ५ हजार दर्शकलाई मात्र पनि होइन, सीएनएनको लाइभ हेरिरहेका संसारका लाखौं दर्शकलाई शनिबार राती त्यतिनै कौतुहल थियो ।
सीएनएनका एण्डरसन कपरले जव सन् २०१० को सीएनएन हिरोको नाम उच्चारण गर्न लाग्दै थियो, खचाखच हजारौ दर्शकले भरिएको अमेरिकाको लसएञ्जलसस्थित त्यो हलमा करिव करिव सन्नट्टा छायो । 'यस बर्षको सीएनएन हिरो अनुराधा कोइराला' एण्डरसनले भूमिका नबाँधिकनै घोषणा गरे । तालीको गड्गडाहड बीचमा अनुराधाले हातको कार्ड उचालिन् । तर, उनको अनुहारमा खच्मचियो । उनका आँखाबाट आँसु झरे । उनी बिस्तारै संहालिइन् र ड्यासतर्फ अघि बढिन्, छोटो मन्तव्य दिइन् र फेरी आँसु पुछिन् ।
एण्डरसनले कार्यक्रममै उनलाई एक लाख डलर (करिव ७० लाख रुपैयाँ) अनुदानको घोषणा गरे । यो रकम अरु ९ जनाले पनि पाउने २५ हजार डलर (करिव १७ लाख ५० हजार रुपैयाँ) बाहेकको हो ।
सीएनएनले कोइरालाले करिव १२ हजार महिला तथा बालिकाहरुलाई यौन दासताबाट उद्दार गरेको अनलाइनमा उल्लेख गरेको छ ।

माइती नेपालकी संस्थापक अनुराधाले करिव २० बर्षदेखि मानव बेचबिखनका विरुद्ध अनवरत संघर्ष गर्दै आएकी छन् । खास गरेर भारतीय बेश्यालयहरुमा बेचिएकी महिला तथा बालिकाहरुको उद्दार तथा बेचिनबाट रोक्नु माइती नेपालको प्रमुख काम रहँदै आएको छ । माइती नेपालले उद्दार मात्र होइन, उनीहरुको लागि अवास तथा पुनस्थापनाको व्यवस्था गर्दै आएको छ ।

Sunday, November 21, 2010

संसद अधिवेशन अन्त्यपछि पौडेलको उम्मेदवारी अन्यौलमा

संसद अधिवेशन अन्त्यसँगै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको उम्मेदवारीको हैसियतबारे दलहरूबीच फरक-फरक तर्क आउँदा अन्यौल देखिएको छ। सभामुख सुवासचन्द्र नेम्बाङले पनि यसबारे आफू प्रष्ट नभएको जनाएका छन्।नेपाली कांग्रेसले संसद अधिवेशन अन्त्य भए पनि उम्मेदवारी कायम रहने जिकीर गर्दै सर्वोच्च अदालतले समेत निर्वाचन सार्थक तुल्याउन ध्यानाकर्षण गराएकाले उम्मेदवारी खारेज नहुने बताएको छ।
प्रतिपक्षमा रहेको मधेशी जनअधिकार फोरमसहित मधेशी दलहरूले उम्मेदवारी कायमै रहने कांग्रेस अडानलाई साथ दिएका छन्।
माओवादी र एमाले संस्थापनले भने अधिवेशन अन्त्यसँगै संसदमा दर्ता भएका प्रस्ताव पनि स्वतः खारेज हुने तर्क गरेका छन्। संविधानको धारा ३८(२) अनुसार पौडेलको उम्मेदवारी विधेयक सरह हुने भन्दै उम्मेदवारी जस्ताको तस्तै रहने व्याख्या कांग्रेसको छ। 'राष्ट्रपतिको पत्र बमोजिम प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया संसदमा अघि बढेको हो। यो विषयमा सर्वोच्च अदालतले समेत संसद र सभामुखलाई ध्यानाकर्षण गरेकाले उम्मेदवारी खारेज हुदैन,' कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले नागरिकसँग भने, 'अर्को अधिवेशन जहिले सुरू हुन्छ त्यसपछि पौडेललाई प्रधानमन्त्री बनाउने प्रस्ताव पुनः सक्रिय हुन्छ।'
प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तावको रूपमा संसद्मा पेश भएकाले अधिवेशन अन्त्य हुनासाथ निष्त्रि्कय हुन्छ भन्ने छ। एमाले अध्यक्ष झलनाथ खनालले संसद नियमावलीमा यसबारे कुनै व्यवस्था नभएकाले पौडेलको उम्मेदवारी खारेज हुने बताए। 'संसद नियमावलीमा जे व्यवस्था छ त्यही हुन्छ। नियमावलीमा कुनै व्यवस्था नभए, उम्मेदबारी खारेज हुन्छ' उनले भने।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संसद नियमावली अनुसारै एउटा अविधेशनमा परेको प्रस्ताव पारित नभई अधिवेशन अन्त्य भएपछि स्वतः खारेज हुने बताए। 'कुनै एउटा प्रस्ताव चालु अधिवेशनमा पारित नभएपछि अर्को अधिवेशनमा जा"दैन। स्वतः खारेज हुन्छ,' उनले भने, 'पौडेलको उम्मेदवारी पनि प्रस्तावको रुपमा अघि बढेकाले खारेज हुन्छ। यसका लागि चा"डै सभामुखले कार्य व्यवस्था समितिको बैठकमार्फत उम्मेदवारी खारेजीको घोषणा गर्ने हामीले आशा गरेका छौं।'
फोरमका सहअध्यक्ष जेपी गुप्ताले भने संसदमा प्रक्रिया सुरु भईसकेको प्रस्ताव अर्को बैठकमा पुन सुरु हुने बताए। 'विधिवत रुपमा संसदमा दर्ता भएर पौडेलको प्रधानमन्त्री निर्वाचनको प्रस्ताव परेकाले अर्को अधिवेशनमा यो प्रस्ताव पुन क्रियाशिल हुन्छ' उनले भने, 'संसद स्थगित गरे पनि त्यहाँका प्रस्ताव जिवितै रहन्छन्।'
त्यसैगरी तमलोपाका सहमहामन्त्री जीतेन्द्र सोनारले पनि विशेष परिस्थितिमा सरकारले संसद अधिवेशन अन्त्य गरेकाले पौडेलको उम्मेदवारी कायमै रहने बताए। 'विशेष अवस्थामा संसदको अधिवेशन अन्त्य गरिएकाले प्रधानमन्त्री निर्वाचन जस्तो महत्वपूर्ण प्रस्ताव खारेज हुदैन। अर्को बैठकमा पुनः क्रियाशिल हुन्छ।'
शुक्रबार राति माओवादीसँग बजेट ल्याउने विषयमा सहमति नभएपछि सरकारले चालु अधिवेशन अन्त्यगरी अध्यादेशमार्फत बजेट ल्याउने निर्णय गरेको थियो। सरकारले उक्त निर्णय गर्ने भएपछि प्रधानमन्त्रीका उम्मेदबार पौडेलले पटक-पटक प्रधानमन्त्री माधवकुमार नेपालसँग अधिवेशन अन्त्य गर्दा आफ्नो उम्मेदबारी को हैसियत के हुन्छ भन्दै प्रश्न गरेका थिए।
व्यवस्थापिका संसद नियमावलीमा अधिवेशन अन्त्य भएपछि प्रधानमन्त्री निर्वाचनसम्बन्धी प्रस्तावको हैसियतबारे केही लेखिएको छैन। सभामुख नेम्बाङले नियमवालीमा प्रष्ट व्यवस्था नगरिएकाले 'दलहरूबीचको सहमतिका आधारमा' यो अन्यौलको टुङ्गो लगाइने सञ्चारकर्मीलाई जानकारी दिए।

Saturday, November 20, 2010

कारबाही गर्छु : सभामुख

संसदमा बजेट प्रस्तुत हुँदा माओवादीले आक्रमण गरेको घटनालाई लिएर सभामुख सुभाष नेम्वाङले दोषीलाई कारबाही गर्ने बताएका छन्। विभिन्न दलका नेताले सभामुख सधै 'साँचिलो' बनिरहने र गतिरोध अन्त्यमा भूमिका नखेल्दा माओवादीले आक्रमण गरेको दोष लगाएपछि उनले कारबाही गर्ने बताएका हुन्।
'आजको संसदमा केही घटना भएको छ। यो नेपालको इतिहासमा दुःखद्, सबैले भर्त्सना गर्नयोग्य र खेदजनक घटना हो। यो घटनाले संविधानसभाभित्र क्षति पनि भएको छ। घटनामा संलग्नहरूलाई नियमबमोजिम अविलम्ब कारबाही गर्छु,' सभामुखले भने।

Thursday, November 18, 2010

लडाकु विस्तारित बैठकमा गए कारबाही गर्छौँ : कोइराला

माओवादी लडाकु विस्तारित बैठकमा गए कारबाही गर्ने चेतावनी उपप्रधानमन्त्री सुजाता कोइरालाले दिएकी छन्। लडाकुहरुले सरकारको सुविधा उपयोग गरिरहेकोले पार्टीको कार्यक्रममा सहभागी हुन नहुने उनले बताइन्। 'सहभागी भएको पाइए कारबाही गर्छौँ,' उनले भनिन्।
दक्षिण कोरियाली दूतावासले आज राजधानीमा आयोजना गरेको एउटा कार्यक्रममा कोइरालाले यस्तो चेतावनी दिएकी हुन्। मंसिर ५ गतेदेखि गोरखाको पालुङटारमा हुन लागेको मा‌ओवादीको विस्तारित बैठकमा कमान्डर तहका करिब १२०० लडाकु सहभागी हुने समाचार सार्वजनिक भए सँगै मन्त्री र सत्तारुढ दलका नेताहरुले कडा आपत्ति जनाएका छन्। माओवादी लडाकुहरुको डिभिजन तथा विग्रेडमा पार्टीकै जस्तो संरचना रहेको हुन्छ । त्यहाँका कमाण्डरहरुलाई राज्य समिति सदस्यको हैसियत प्रदान गरिएको हुन्छ।

Monday, November 8, 2010

समानान्तर रुपमा हतियार र लडाकु रहेसम्म शान्ति हुन्न : प्रधानमन्त्री

प्रधानमन्त्री माधवकुमार नेपालले एउटा पार्टीसँग समानान्तर रुपमा हतियार र लडाकू रहेसम्म मुलुकमा दिगो शान्ति र राजनीतिक स्थिरता नआउने बताएका छन्। "विगतमा धेरै सम्झौता भए, तिनको कार्यान्वयन अब हुनुपर्छ"- माओवादीसँगका सम्झौताबारे बोल्दै प्रधानमन्त्री नेपालले भने।
नव वर्ष नेपाल संवत् ११३१ प्रारम्भ भएको अवसरमा नेपाल भाषा मंकाः खलःद्वारा आज काठमाडौँको वसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री नेपालले माओवादी लडाकूको समायोजन तथा पुनःस्थापना, कब्जा सम्पति फिर्ता र विगतमा भएका सहमतिहरुको कार्यान्वयनबाट नै मुलुकको वर्तमान राजनीतिक गतिरोध अन्त हुने विश्वास व्यक्त गरे।देशले यत्तिखेर राजनीतिक निकास खोजेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री नेपालले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु राष्ट्रसामु रहेका संवेदनशील मुद्दाहरुलाई महत्व दिएर गम्भीर छलफलमा जुटेकाले आशा गर्ने अवस्था आएको बताए।
संविधान सभामा संविधान लेखनको लागि काम भइरहेको र त्यो आशातीत रुपले अघि बढेको बताउँदै प्रधानमन्त्री नेपालले जनताको आशा अनुरुप शान्ति प्रक्रिया कार्यान्वयन र तोकिएकै समयमा संविधान लेखन सम्पन्न गर्नु नै अहिलेको मुख्य काम भएको बताए।
उनले शङ्खधर साख्वाःले ११३१ वर्षअघि सुरु गर्नुभएको नेपाल संवत् नेपालीको आफ्नै मौलिक संवत् हो भन्दै शक, किरात, नेपाल, इस्वी, विक्रमजस्ता विभिन्न संवत्को अध्ययन गर्न आयोग बनाउन आफूले संस्कृति मन्त्री र मुख्य सचिवलाई आजै फोन गरेर निर्देशन दिएको पनि बताए।लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता जस्ता २०६२/०६३ को आन्दोलनबाट प्राप्त उपलब्धि गुम्छ कि भन्ने आशङ्का बेलाबेलामा उठाइए पनि यी उपलब्धि देश र जनताको हितमा भएकाले अब कसैले खोस्न नसक्ने प्रधानमन्त्री नेपालको भनाइ थियो।
उनले भने - नेपाल बहुभाषा, बहुसँस्कृति र बहुजातिको फुलबारी हो। सबैको अस्तित्व र पहिचानमा मात्र नेपालको अस्तित्व रहन्छ। विविधतामा एकता नै नेपालको राष्ट्रिय पहिचान भएकोले सबै धर्म, जाति, संस्कृति र चाडको सम्मान गर्नु हाम्रो साझा दायित्व हो।

Saturday, November 6, 2010

राष्ट्रपति शासन लगाउन बिजुक्छेको आग्रह

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राष्ट्रपति शासन लगाएर संविधान लेखन, शान्ति प्रक्रियाको टुङ्गो र सेना समायोजन गर्नुपर्ने बताएका छन्। आज भक्तपुरका सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संवैधानिक व्यवस्थाका आधारमै राष्ट्रपति शासन लगाएर मुलुकको वर्तमान समस्याको निकास निकाल्न सकिने बताए। अध्यक्ष बिजुक्छेले राष्ट्रपति शासन भए राष्ट्रपतिले अध्यादेशमार्फत् बजेट ल्याएर बिग्रदो अर्थतन्त्र जोगाउन सकिने बताए। राष्ट्रपति शासन प्रतिगामी शासनजस्तो नभइ तीन महिनाका लागि दैनिक कार्यसञ्चालन गरी निकास निकाल्नका लागि सहयोगी हुने बताए। राष्ट्रपतिलाई शासन सुम्पने प्रधानमन्त्री माधवकुमार नेपालको विचारको स्वागत गर्दै उनले माओवादीसँग मिलेर सरकारमा जान चाहने एमाले, काँग्रेसका केही समूह र मन्त्री पदमा बसिरहन चाहने अर्को समूहले मात्र त्यसको विरोध गरेको बताए।
भारतमा माओवादीले पाँचहजार सेना समायोजन गर्ने र त्यसपछि संविधान लेखनको कार्य गरी निर्वाचनमा जाने सहमति गरे पनि अहिले सहमति कार्यान्वयन नहुँदा समस्या आएको उनले बताए।

Monday, November 1, 2010

यसकारण हुन सकेन लडाकु समायोजन

सेना समायोजन विशेष समितिले प्रमुख दलका शीर्षनेतासँग छलफल गरी लडाकु समायोजनसम्बन्धी मुद्दालाई निष्कर्ष दिन प्रधानमन्त्री माधवकुमार नेपाललाई संयोजनकारी भूमिका दिएको १८ दिन बित्दा पनि कुनै प्रगति भएको छैन। यसबीच प्रधानमन्त्री र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालवीच एकपटक सामान्य भेटघाटमात्र भएको छ।
दाहालको आलटालले विशेष समितिको बैठक बस्न नसकेको प्रधानमन्त्री पक्षको भनाइ छ भने दाहाल पक्षले प्रधानमन्त्रीले बैठकै नबोलाएको दाबी गरिरहेको छ। सेना समायोजनसम्बन्धी विशेष समितिको असोज २६ गते बैठकले प्याकेजमा नमिलेका एजेन्डा शीर्षतहबाटै मिलाउन प्रधानमन्त्री नेपाललाई संयोजक बनाएको थियो। त्यसको भोलिपल्ट नेपाल र दाहालबीच विशेष समिति सचिवालयको संयोजक तोक्ने, शिविरमा रहेका माओवादी लडाकुलाई विधिवत रूपमा विशेष समितिमातहत ल्याउनेलगायत विषयमा छलफल भए पनि सहमति हुन सकेन। छलफलमा दाहालले आफू कात्तिक ५ गते चीन भ्रमणमा जाने भएकाले सम्भव भएसम्म त्यसअघि नै प्रमुख तीन दलबीच छलफलबाट सहमति खोज्ने बताए पनि त्यसयता एउटै बैठक भएको छैन।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रघुजी पन्तका अनुसार दाहालले समय नदिएकाले बैठक बस्न नसकेको हो। प्रधानमन्त्री नेपालले दाहाल चीन भ्रमणबाट फर्किएलगत्तै पटक-पटक टेलिफोन गरेर छलफलका लागि आग्रह गरे पनि दाहालले टार्दै आएको प्रधानमन्त्री आफैँले एक कार्यक्रममा सार्वजनिक गरेका थिए। 'पाँच दिन भयो, प्रत्येक दिन बिहानबिहान दाहाललाई छलफलमा बसौँ भनेर फोन गर्छु, तर कुनै रेस्पोन्स नै गर्नुहुन्न, दिक्क लागिसक्यो,' प्रधानमन्त्री नेपालले भनेका थिए।त्यसयता पनि प्रधानमन्त्री नेपालले छलफलका लागि निरन्तर प्रयास गरिरहेको, तर दाहालले अनिच्छा प्रकट गरेको पन्तले बताए। 'प्रधानमन्त्रीले बैठकका लागि पटक-पटक आग्रह गरिरहनुभएको छ, तर दाहालजीले समय नदिएकाले बैठक नभएको हो,' पन्तले भने, 'माओवादीले शान्तिप्रक्रियालाई अघि बढाउन नचाहेकाले यस्तो समस्या आएको हो।'
दाहालका सहयोगी समीर दाहालले भने प्रधानमन्त्रीले छलफलका लागि नबोलाएको दाबी गरे। 'त्यसबारे उता (प्रधानमन्त्री) बाट कुनै खबर आएको छैन, समय नदिएको भन्ने गलत हो,' उनले भने। माओवादीले संविधान जारी नभएसम्म लडाकु राखिराख्न चाहेकाले शान्तिप्रक्रियातिर ध्यान नदिएको कांग्रेस र एमाले नेताको आरोप छ। शान्तिप्रक्रियालाई नयाँ चरणमा प्रवेश गराउनुपर्ने बेला आएकाले पनि माओवादीहरू यसप्रति अनिच्छुक रहेको सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले बताए।
'माओवादी सकेसम्म शान्तिप्रक्रियालाई अनिर्णीत अवस्थामा राखेर आफ्नो स्थान सुरक्षित राख्न चाहन्छ,' सरकारका प्रवक्तासमेत रहेका पोखरेलले भने। कांग्रेस नेता रामशरण महतको भनाइमा पनि माओवादी आफ्नो सैन्यशक्तिलाई यथावत राख्न चाहन्छ। 'माओवादी शान्तिप्रक्रियाप्रति इमानदारै छैन,' महतले भने, 'संवैधानिक तरिकामा रहेर ऊ आफ्नो सैन्यशक्तिको प्रभाव बढाउन चाहन्छ।' सकेसम्म 'जनसेना' यथावत राखेर अर्को चुनावमा जाने माओवादी रणनीति देखिन्छ। चुनावमा जनसेनाको 'थ्रेट' रहने र लडाकुलाई दिएको खर्चबापतको रकम पार्टीलाई आइरहने कारण पनि माओवादीले यस्तो रणनीति लिएको जानकार बताउँछन्।
माओवादीले आफ्नो दस्तावेज र प्रशिक्षण कार्यक्रममा क्रान्ति र विद्रोहका कुरा नछाड्नुले पनि माओवादीको नियतप्रति आशंका भएको पोखरेलको भनाइ छ। वामपन्थी दल विशेषगरी माओवादीजस्तो क्रान्तिकारी पार्टीमा दस्तावेजमा उल्लेख गरिएको विषयलाई अर्थपूर्ण रूपमा लिने गरिन्छ। दस्तावेज र पार्टीका आन्तरिक प्रशिक्षणमा मात्रै होइन माओवादी नेतृत्वबाट बेलावखत सार्वजानिक रूपमै विद्रोहको धम्की आउने गरेको छ। शान्तिप्रक्रियाको विषयमा अहिले नै निर्णय लिँदा आफ्नो 'बार्गेनिङ पावर' घट्ने डर माओवादीलाई छ । नेपाल नेतृत्वकै सरकारबाट शान्तिप्रक्रियाले गति दिँदा आफूले अस्वीकार गर्दै आएको सरकारलाई वैधानिकता दिएको ठहर्ने र त्यसको जस नेपाललाई जाने पनि माओवादी बुझाइ छ।पार्टीको विस्तारित बैठक नजिकिएकाले पनि शान्तिप्रक्रियाप्रति माओवादी उदासीन रहेको कांग्रेस र एमाले नेताको भनाइ छ। विस्तारित बैठकअघि 'जनसेना'को विषयमा निर्णय लिँदा पार्टीमा कमजोर बन्न सक्ने डरले पनि दाहालले शान्तिप्रक्रियाप्रति आलटाल गरिरहेको देखिन्छ।
'पार्टीको विस्तारित बैठक पर्खिएका हुन सक्छन्,' पोखरेलको अनुमान छ। महतले पनि माओवादीले विस्तारित बैठकअघि शान्तिप्रक्रियाका विषयमा निर्णय गर्ने सम्भावना नरहेको बताए। त्यसो त पार्टीमा देखिएको मतभेदले विस्तारित बैठक पनि पटक-पटक सारिएको छ। पार्टीभित्र दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई पक्षबीचको अन्तर्द्वन्द्व सार्वजनिक भइसकेको छ। यता माओवादी अध्यक्ष दाहालले नेतृत्व गरेको उच्चस्तरीय कार्यदलले भने निरन्तर वार्ता गरेर संविधान निर्माणमा देखिएका मतभेदलाई साँघुर्‍याउने प्रयास जारी राखेको छ। यसका पछाडि दुई कारण देखिन्छन् : पहिलो, माओवादी आफ्नो नेतृत्वमा काम भएको देखाउन चाहन्छ। दोस्रो, शान्तिप्रक्रियाभन्दा संविधान निर्माण उसको प्राथमिकतामा रहेकाले पनि ऊ केही असहमतिलाई साँघुर्‍याउन चाहन्छ। 'यो संविधान निर्माणमा गम्भीर भएको देखाउन माओवादीले चालेको रणनीतिक कदम हो,' कांग्रेसका एक नेताको भनाइ छ। 'शान्तिप्रक्रियामा ध्यान नदिनुले पनि यो प्रस्ट हुन्छ।'
ती नेताको भनाइमा प्रधानमन्त्री नेपालसमेत शान्तिप्रक्रियाका मुद्दामा उदासीन छन्। 'सरकारले लडाकु समायोजन तथा पुनर्स्थापना विषयमा प्रस्ट धारणा सार्वजनिक गरे माओवादीलाई पनि दबाब पर्ने थियो,' उनले भने, 'तर, उनी माओवादीसँग मुकाबिला गर्नेभन्दा पनि टालटुले पाराले अघि बढ्न खोजिरहेका छन्।' प्रधानमन्त्री नेपाल दलका नेतासँग वार्ताको सट्टा दिनहुँजसो राजधानीबाहिरका कार्यक्रममा व्यस्त हुन थालेका छन्। र, माओवादीप्रति आक्षेपपूर्ण अभिव्यक्ति दिन थालेका छन्। उनले कात्तिक ११ गते पोखरामा देशलाई कंगाल बनाएर माओवादीले विद्रोहको तयारी गर्न लागेको आरोप लगाए। 'शिविरमा रहेका लडाकु र कमान्डरको विदेश भ्रमणले विद्रोहको आशंका जन्माउछ', प्रधानमन्त्री नेपालको भनाइ थियो। पूर्ण बजेट ल्याउन नदिनुले माओवादी देशको अर्थतन्त्रलाई तहसनहस पारेर विद्रोह गर्न लागेको आशंका आफूलाई लागेको पनि उनले बताएका थिए।
प्रधानमन्त्री आफै माओवादीप्रति आक्रामक रूपमा प्रस्तुत भएपछि रक्षामन्त्री र शान्तिमन्त्रीले पनि त्यही बाटो पछ्याएका छन्। शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा रक्षामन्त्री विद्या भण्डारीले माओवादी लडाकु शिविरबाहिर निस्केर आतंक मच्चाएको आरोप लगाइन्। 'शिविरबाट बिदा भन्दै लडाकुहरू बाहिर निस्केर हत्या, अपहरणमा संलग्न छन्। तैपनि मानवअधिकारवादी केही बोल्दैनन्', भण्डारीको आरोप छ। शनिबारै धनकुटामा शान्तिमन्त्री रकम चेम्जोङले माओवादी सत्ता, हतियार र सेना कब्जा गर्न लागेको बताएका छन्। सरकार सहमति निर्माणभन्दा आरोप-प्रत्यारोपमा लागेकाले लडाकु समायोजन र पुनर्स्थापनाको विषय अझै जटिल बन्दै जाने देखिएको छ।

Wednesday, October 27, 2010

बजेट ल्याउन दिन्नौः भट्टराई

एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान कामचलाउ सरकारले कुनै हालतमा पनि पूर्ण बजेट ल्याउन नसक्ने बताएका छन्। उनले सरकारले जर्बजस्ती बजेट ल्याए आफूहरुले त्यसविरुद्ध जनता गुहार्ने बताए। यो सरकारलाई पूर्ण बजेट ल्याउने अधिकारै छैन' भट्टराईले भने, 'बलजफ्ती बजेट ल्याएमा जनता गुहारेर विरोधमा उत्रन्छौ।' उनले सत्तामा बस्नेले बलमिच्याई गरेर बजेट ल्याएमा आफुहरुलाई असहैय हुने बताए।
उपाध्यक्ष भट्टराईले बजेट ल्याउका लागि दुई विकल्प अघि सारेका छन्। पहिलो सहमतिको सरकार बनाएर पूर्ण बजेट ल्याउने, दोश्रोमा संविधानको धारा ९६ संशोधन गरेर नियमित खर्च चलाउने ढंगले बजेट ल्याउन दिने। यसबाहेक विकल्प नरहेको उनले बताए। 'संविधान संशोधन गर्ने भन्दा पनि सहमतिको सरकार बनाएर पूर्ण बजेट ल्याउनु उत्तम हुन्छ' उनले भने।
निजी भ्रमणमा मुस्ताङ पुगेर बुधबार बिहान पोखरा फर्केका उपाध्यक्ष भट्टराईले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै पूर्ण बजेट आउन नसक्नुको सम्पूर्ण दोष सरकारलाई दिएका छन्। 'यो गैरजिम्मेवार सरकारको कारण अहिलेको अवस्था आएको हो' उनले भने, 'सहमति गरौँ भन्दा सत्तामा रहेका दलहरुले बेवास्ता गरेका छन्।'उनले अहिलेको समस्या आउनुमा माओवादीको कुनै दोष नरहेको स्पष्ट पारे। '१३ पटकसम्म प्रधानमन्त्री चयन गर्न नसकेर दुनियाँ हसाउने काम भएको छ' भट्टराईले भने, 'हामीले त समस्या समाधान गरौ भनेर बिचमै प्रधानमन्त्रीको उम्मेद्वारी फिर्ता लिएका हौ।' उनले सहमति गर्न नसक्ने भए एमालेले प्रधानमन्त्रीका एक्ला उम्मेद्वार कांग्रेस नेता रामचन्द्र पौडेलको पक्षमा मतदान गरेर सरकार बनाउन र पूर्ण बजेट ल्याउन चुनौती समेत दिए। 'सहमति गर्न सकिँदैन भने एमालेले कांग्रेसलाई समर्थन गरेर सरकार बनाए हुन्छ' उनले भने।
भट्टराईले माओवादी लडाकुको चीन भ्रमण उनीहरुको व्यक्तिगत अधिकार भएको बताए। 'सेना र प्रहरीका अधिकृतहरु पनि त भ्रमणमा गएका छन् नि' उनले भने, 'सेना र प्रहरीका अधिकृत भ्रमणमा जान हुने माओवादीका कमाण्डर जान किन नहुने?' सरकारी पासपोर्ट प्रयोग गरेर विदेश भ्रमण जानु कुनै अप्ठेरो नरहेको उनको भनाई थियो।
भट्टराईले चीन गएका लडाकुलाई प्रधानमन्त्री माधवकुमार नेपालले कारबाही गर्न नसक्ने बताए। 'प्रधानमन्त्रीको आफ्नै अवस्था त्यस्तो छ, कसरी कारवाही गर्न सक्छन्' उनले भने।

Wednesday, October 20, 2010

झि जिनपिङ चीनका नयाँ नेता

हङकङ, उपराष्ट्रपति झि जिनपिङ(Xi Jinping) शक्तिशाली सैन्य आयोगको उपाध्यक्षमा मनोनीत गरेर चिनियाँ कम्युनिष्ट पार्टीले उनलाई भावी नेतृत्वका रुपमा प्रस्तुत गरेको छ। पार्टी महासचिव र राष्ट्रपतिका रुपमा उनले हु जिन्ताओको ठाउँ लिने अनुमानलाई यो निर्णयले थप पुष्टी गरेको छ।
वर्तमान राष्ट्रपति हु जिन्ताओले सन् २०१२ मा पार्टी महासचिव र सन् २०१३ मा राष्ट्रपतिबाट अवकाश लिँदैछन्। आर्थिक रुपमा विश्वको दोस्रो ठूलो राष्ट्र चीनमा उनी दोस्रो कार्यकाल नेतृत्व सम्हालिरहेका छन्। चिनियाँहरू राजनीतिक दर्शनमा माओत्सेतुङ, आर्थिक सुधारको एजेण्डामा देङ सियाओपिङ र प्राविधिक विकासमा हु जिन्ताओलाई नेता मान्छन्।
चार दिनदेखि बेइजिङमा बसेको १७औँ केन्द्रिय समितिको पाचौँ विस्तारित बैठक आगामी पाँच वर्षका लागि आर्थिक तथा सामाजिक मुद्दाको बारेमा छलफल गर्दै झिलाई सैन्य आयोगको उपाध्यक्षमा मनोनित गरी सोमबार सकिएको छ। चीनको नीति निर्माणमा शक्तिशाली मानिने तीन सय सदस्य रहेको समिति बैठकमा नोवल शान्ति पुरस्कार विजेता लिउ सिओबोले उठाउँदै आएको राजनीतिक सुधारको एजेण्डा तथा त्यसप्रति बढ्दै गएको जनसमर्थनको बारेमा पनि छलफल भएको अनुमान गरिएको छ।
बैठक शुरु हुनु अघिल्लो दिन वृद्ध उमेरका २३ जना कम्युनिष्ट कार्यकर्ताले चीनमा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै वक्तव्य निकालेका थिए भने सय जना अधिकारकर्मीहरूले नोवेल पुरस्कार विजेता लिउको रिहाइको माग गरी वक्तव्य दिएका थिए। वर्तमान प्रधानमन्त्री वेन जियावाओ स्वंले हालै सिएनएनसँगको अन्तर्वार्तामा राजनीतिक सुधारको कुरा उठाएकाले पनि बैठकमा यो एजेण्डामा छलफल भएको ठानिएको हो। तर यसबारेमा चिनियाँ सञ्चार माध्यमले केही उल्लेख गरेका छैनन्।
आर्थिक उन्नतीसँगै राजनीतिक सुधारका लागि दबाब बढ्दै गएका बेला हाल पार्टी स्थाई समिति सदस्य रहेका उराष्ट्रपति झिले चीनको नेतृत्व सम्हाल्ने करिब निश्चित भएको छ। चीनमा प्रख्यात लोक गायिका पेङ लियुनको पती भएकाले पनि उनको लोकप्रियता बढी छ।
सैन्य आयोग चीनका करिब पच्चिस लाख सेनालाई नियन्त्रण गर्ने निकै शक्तिशाली निकाय मानिन्छ। ५७ वर्षीय झि चिनियाँ कम्युनिष्ट पार्टीका एक जना संस्थापक झि झोङउनका छोरा हुन्। उनीसँग सैन्य क्षेत्र र पार्टीमा काम गरेको लामो अनुभव छ। फुजियान, झिज्याङ, संघाईमा पार्टी प्रमुख भएर काम गर्दा उनले थुप्रै सैन्य जिम्मेवारी पुरा गरेका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सैन्य आयोगको सचिवको रुपमा काम गर्दा उनी आफै पनि सैन्य अधिकारी थिए।
कम्युनिष्ट पद्दती अनुसार चीनका तीन प्रमुख शक्तिशाली निकाय सैन्य आयोग, पार्टीको महासचिव र राष्ट्रपति एउटै व्यक्ति हुन्छ। सैन्य आयोगमा झिको नियुक्ति हु जिन्ताओको ठाउँमा उनलाई स्थापित गर्ने तयारी हो।

Sunday, October 17, 2010

बडादशैँको २०६७ को हार्दिक शुभकामना !!!

बडादशैँको २०६७ को हार्दिक शुभकामना !!!

नेपालीहरूको महान् चाड बडादशैँको २०६७ को सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई लोकतन्त्र परिवार हार्दिक शुभकामना ब्यक्त गर्दछ ।
लोकतन्त्र परिवार

Wednesday, October 6, 2010

कङ्ग्रेसको प्रस्ताव माओवादीलाई अमान्य

काग्रेसले प्याकेजमा सहमति गर्ने भए प्रधानमन्त्रीको उम्मेदारी फिर्ता गर्न सकिने भनी राखेको प्रस्तावलाई एकीकृत माओवादीले अस्वीकार गरेको छ। मंगलबार काग्रेस संसदीय दलमा भएको तीन दलको वैठकमा प्रधानमन्त्रीको उम्मेदवारीको विषयलाई शान्ति र संविधानको विषयमा मिसाउन नहुने बताउँदै काग्रेस प्रस्तावलाई अस्वीकार गरेको हो।
'प्रधानमन्त्रीको उम्मेदवारीको विषयलाई अन्य विषयसँग मिसमास गर्न खोज्नु गलत हो', माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने। उनले माओवादीले काग्रेसलाई प्रधानमन्त्रीको उम्मेदारी फिर्ता गर्न आग्रह गरेको तर काग्रेसले अस्वीकार गरेको जानकारी दिए। काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषयमा सहमति भएपछि मात्रै सत्ता साझेदारी हुन सक्ने बताए। 'शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा सहमति गरेपछि मात्रै सत्ता साझेदारी हुन्छ भन्ने काग्रेसको कुरा रह्यो', पौडेलले भने, 'प्याकेजमा सहमति खोज्न काग्रेस तयार छ।' सबै कुरालाई प्याकेजमै टुङगयाउनु पर्ने पनि उनले बताए। काग्रेस नेता अर्जुन नरसिंह केसीले पनि शान्ति र संविधान लगायतका विषयमा सहमति नगरी राष्ट्रिय सहमति हुन नसक्ने प्रष्ट पारे। 'विषयगत सहमतिको जग निर्माण नगरी सहमति हुन सक्दैन', केसीले भने। विगतमा ६ वुँदे र ३ वुँदे सहमति भएको स्मरण गराउदै केसीले भने, 'त्यो वेला पनि शान्ति र संविधानलाई पन्छाएर सत्ता साझेदारीमा मात्रै केन्द्रित गरियो। त्यसैले गर्दा समस्या आएको हो।' लोकतान्त्रिक संविधान बन्ने कुराको ग्यारेण्टी नभएसम्म सहमति हुन नसक्ने पनि केसीले प्रष्टयाए। वैठकमा एमालेले भने काग्रेसले उम्मेदारी फिर्ता लिए समझदारीको लागि बाटो खुल्ने बताएको थियो। त्यो संभव नभए सत्ता साझेदारी लगायतका विषयमा विस्तृत कार्यक्रम बनाएरै भएपनि गतिरोधको निकास खोज्नुपर्ने एमालेको धारणा थियो। 'काग्रेसले उम्मेदारी फिर्ता लिए समझदारीको लागि वाटो खुल्छ', एमाले नेता विष्णु पौडेलले पार्टीको प्रस्तावलाई उद्धृत गर्दै भने, 'त्यसो गर्न संभव नभए शान्ति र संविधानलगायतका विषयमा प्याकेजमै समाधान गरेर भएपनि गतिरोधको निकास खोज्नुपर्छ।' एमालेले समस्या समाधान गर्न ढिला गर्न नहुने धारणा राखेको पनि उनले बताए। मंगलबारको वैठकमा सहमति नभएपछि बुधबार मध्यान्ह पुन वैठक वस्ने सहमति भएको छ। वुधवार अपरान्ह दशौं पटक प्रधानमन्त्रीको चुनाव हुन लागेको पुर्व सन्ध्यामा हुन लागेको त्यो वैठक प्रधानमन्त्रीको निर्वाचनमा नै केन्द्रीत हुने छ। यद्यपी वुधवार सहमति जुटने संभावना न्युन भएकाले प्रधानमन्त्रीको दशौ पटकको निर्वाचन भने हुने नै भएको छ।'बुधबारको निर्वाचन हुन्छ', काग्रेस नेता केसीले भने, 'यद्यपी त्यो निर्वाचनवाट तात्विक परिणाम भने आउदैन।' प्रधानमन्त्रीको चुनाव हुन अघि बुधबार हुने वैठकमा सहमतिको प्याकेज निर्माण गर्न कार्यदल गठन गरिने वा शीर्ष नेताहरुले नै सहमतिको प्याकेज तयार गर्ने भन्ने विषयमा छलफल हुने स्रोतले बताएको छ।मंगलबारको वैठकमा माओवादीका तर्फवाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव राम वहादुर थापा उपस्थित थिए भने काग्रेसबाट संसदीय दलका नेता पौडेल, नेताहरु विमलेन्द्र निधी, अर्जुन नरसिंह केसी लगायतका नेताहरु उपस्थित थिए। एमालेबाट चाहिं अध्यक्ष झलनाथ खनाल, सचिव विष्णु पौडेललगायतका नेताहरु उपस्थित थिए।

Monday, October 4, 2010

नेता र कलाकारलाई नक्कली पीएचडी भिडाउने पौडेल को हुन्?

काभ्रे महादेवस्थान-२, धाइटारका गोपाल पौडेलले पाँचखालकै सर्वमङ्गला माविमा कक्षा १० सम्म पढेका थिए। त्यहाँबाट एसएलसी पास हुन नसकेपछि सिन्धुपाल्चोक जिल्लाको बाँडेगाउँ गाविसस्थित ऐंसेलुखर्क माविबाट जाँच दिएर पास भएका उनका साथीहरुको भनाई छ। एसएलसीपछि केही समय भूमिसुधारमा खरदारको जागीर खाएका थिए।
पञ्चायतकालमा पूर्वमन्त्री शैलेन्द्रकुमार उपाध्यायको नजिक रहेर काम गर्दै आएका उनी बहुदलपछि रातारात काँग्रेसमा छिरेका थिए। काभ्रेकै गैरीबिसौना गाविसका चौलागाई थरका एक व्यक्तिको आश्रयमा उनी लण्डन पुगेका थिए। शुरुमा त्यहाँस्थित एक रेष्टुरेन्टमा काम गरेका थिए। नेपालमा पढ्दा पास हुन नसक्ने मान्छे कसरी यत्ति छिटो पीएचडी गरेको भन्दा उनले तिमीहरु गाउँमा बस्नेलाई के थाहा भनेका थिए। नेपाल आएका बेला डिप्लोमा इन जर्नालिज्म कोर्स भनेर काठमाडौंमा एक दिनको तालिम दिएर उनले बोस्टन कलेज अफ लण्डनको डिप्लोमाको प्रमाणपत्र दिएका थिए। पत्रकार महासंघका काभ्रेका तत्कालीन सभापति इश्वरी ओझालगायत नेपाल प्रेस युनियनका अन्य सदस्यहरुलाई उनले यस्तो डिप्लोमा दिएका थिए।२०६१ सालमै उनले प्रकाशन गरेको काभ्रेपलाञ्चोक खण्डकाव्यमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, वरिष्ठ साहित्यकार कृष्णप्रसाद पराजुली, यादव खरेल, बैरागी काइँलालगयातका साहित्यकारबाट मन्तव्यसमेत लेखाएका छन्।उनले काभ्रेबाट राहदानी लिएको अभिलेख नभेटिए पनि नागरिकताको प्रमाणपत्रको भने दुई पटक प्रतिलिपि लिएका छन्। २०४६ सालमा सुरु नागरिकता लिएका उनले २०६० मंसीर १९ र २०६७ वैशाख ५ गते दुई पटक प्रतिलिपि लिएका छन्।उनले गाउँका केही युवाहरुलाई ग्रीनफोर्ड युनिभर्सिटीमा पढाइदिने र विशेष छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका थिए। गाउँकै उच्चमाविका कार्यरत शिक्षकहरु शंकर खड्का, हरि पौडेल र सुरेन्द्र पौडेललाई उनले छात्रवृत्ति दिने घोषणा गरेका थिए। यसका लागि उनले २ लाख बराबरको डिस्काउण्ट भौचर दिएर पूरा कोर्सको ६ लाख लाग्नेमा अब ४ लाख बुझाए पुग्छ भनेका थिए। तर, तीनै जनाले यो कुरा पत्याएनन्।गत एनआरएन सम्मेलनमा लण्डनबाट नेपाल आएका पौडेल उता फर्केका छैनन्। गएको मंसीरमा कूलदेवताको पूजामा धाइटार आएका बखत उनले भिजिटिङ कार्डमा चान्सलर लेखेको देखेर अचम्म मानेको उनकै एक बन्धुले बताए। अब म त तिमीहरुको नेपालका चान्सलर माधव नेपालसरहको हैसियतमा पुगिसकेको भनेर ती बन्धुलाई जवाफ फर्काएका थिए।

धुजाधुजा ध्वजावाहक

अनावश्यक राजनीतिक हस्तक्षेप नभएको भए राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अहिले एउटा नयाँ जहाजबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको हुन्थ्यो। निगमले युरोपको एयरबससँग किन्न खोजेको दुई ठूला जहाजमध्ये पहिलो डेलिभरी आउने महिना गत सेप्टेम्बर हो। संसारकै ठूलो जहाज निर्माता एयरबससँगको उक्त सम्झौता राजनीतिक हस्तक्षेपले कार्यान्वयन हुन पाएन।
विगतमा पनि यस्तै हस्तक्षेपले ध्वजावाहक जहाजविहीन अवस्थामा पुगेको छ। उसले दुई दसकपछि पहिलोपल्ट दुई ठूला जहाज किन्ने निर्णय गरेको थियो। त्यसका लागि कर्मचारी सञ्चय कोषसँग ऋण लिएर एकैपल्ट १० अर्ब रुपैयाँ लगानी गर्न पनि ऊ तयार थियो। दुवै संस्थाबीच लेनदेनको सैद्धान्तिक सहमति भइसकेको अवस्थामा कोषले सरकारको जमानी चाहिने सर्त राखेपछि पैसा जुट्न सकेन।
'निगम संसारकै एकमात्र यस्तो वायुसेवा कम्पनी होला, जसले दुई दसकदेखि एउटै जहाज किनेको छैन। तैपनि सानसित राष्ट्रिय ध्वजावाहक भन्दै थोत्रा जहाज उडाउँछ,' निगमका एक उच्च अधिकारीले नागरिकसँग तीतो पोखे, 'हामी सबै यहाँ लाजै पचाएर जागिर खाइरहेका छौं। किनकि, टुलुटुलु हेर्नेबाहेक केही गर्न सकिँदैन।'
राष्ट्रिय ध्वजावाहकको साख बचाउनमात्र होइन, अन्तर्राष्ट्रिय हवाई बजारमा टिकिरहन पनि निगमलाई कम्तिमा दुइटा ठूलो जहाज नभई हुँदैन। निगमले अन्तर्राष्ट्रिय उडानमा कतार एयरवेज, इन्डियन एयरलाइन्स, एयर चाइना, जेट एयरवेज, इमिरेट्स एयर, थाइ एयरवेज, इतिहाद एयरवेज, फ्लाइ दुबई, किङफिसर एयरलाइन्स, चाइना इस्टर्नलगायत अन्तर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्छ।
यी कम्पनी (इन्डियन एयरलाइन्सबाहेक) स्थ्ाापनाको हिसाबले निगमभन्दा कान्छा भए पनि व्यवस्थापन दक्षता, जहाज संख्या, गन्तव्य र सम्पत्तिको हिसाबले निगमलाई उछिनेको धेरै भइसक्यो। र, निगम यस्तरी पछि पर्नुको कारण यहाँको राजनीतिक हस्तक्षेप र त्यसैको चपेटामा परेर जहाज किन्ने क्षमताधरी नराख्नु नै हो। किनकि, कुनै पनि वायुसेवा कम्पनी पर्याप्त जहाज नभएसम्म आम्दानी गरेर नाफा गर्न सक्दैन। निगमको हालत अहिले त्यो हलीको जस्तो छ, जसलाई खेतबारी नदिई 'कमाएर खा' भनेर छाडिन्छ।
निगमले २२ वर्ष पुराना दुइटा बोइङ ७५७ जहाजबाट छ अन्तर्राष्ट्रिय सेक्टरमा उडान गरिरहेको छ। आन्तरिक उडानमा प्रयोग भइरहेका तीन ट्वीनअटर त योभन्दा दोब्बर पुराना छन्। निगमका जहाज यति थोत्रा छन्, कहिले उड्दाउड्दै बीच आकासमै बिग्रिएर फर्कन्छन् त कहिले इन्जिन बनाएको २ सय ५० घन्टामै इन्जिन फेल भएर थन्किन्छ।
यस्ता जहाज चलाएर धेरथोर आम्दानी भए पनि नाफा छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्ड ह्यान्डलिङ' बापत् पाउने वार्षिक करिब डेढ अर्ब रुपैयाँ नै निगमको मुख्य आयस्रोत हो। 'निगमलाई ग्राउन्ड ह्यान्डलिङ गर्न नदिए तत्काल बन्द हुन्छ,' निगमका एक अधिकारी भन्छन्, 'चौध सय कर्मचारीको भरणपोषणको स्रोत त्यत्ति हो।'
जहाज खरिदमा निगमले सुरुदेखि नै प्रक्रिया पुर्‍याएर ऋण दिने सञ्चय कोष र त्यसमा जमानी बस्ने अर्थ मन्त्रालयलाई विश्वास दिलाउन सक्नुपर्थ्यो। निगम सञ्चालक समितिले जहाज किन्ने निर्णय गर्दा त्यसमा प्रतिनिधित्व गर्ने अर्थका सहसचिव उपस्थित थिएनन्। संसारकै प्रतिष्ठित कम्पनीलाई बैना पठाए पनि त्यसको जानकारी सम्बद्ध निकायले सञ्चारमाध्यमबाट थाहा पाएको बताउँदै आएका छन्। यसबाट पनि अर्थसहित अन्य निकायले निगमको वर्तमान व्यवस्थापनलाई विश्वास नगर्नुको अर्को कारण हो।
यो अविश्वासलाई निगमका कार्यकारी अध्यक्ष र महाप्रबन्धकबीचको 'म हाकिम' भन्ने लडाइँले थप मलजल गर्‍यो। सरकारले कार्यकारी अध्यक्षमा सुगतरत्न कंसाकार र महाप्रबन्धकमा केबी लिम्बुलाई नियुक्त गरेपछि यो विवाद निगम हुँदै सर्वोच्च अदालत पुगेको छ। यसबाट जहाज खरिद प्रक्रियामा प्रत्यक्ष सरोकार राख्ने निकायहरू 'कार्यकारी प्रमुखको विवाद त मिलाउन नसक्ने व्यवस्थापनले के को जहाज किनेर उडाउन सक्छ' भन्दै प्रक्रिया रोक्नतिर लागे। राज्य सञ्चालित कम्पनी भएका कारण उसले गर्ने आर्थिकलगायत गतिविधिबारे सरकारलाई जानकारी गराउनुपर्छ। राष्ट्रिय ध्वजावाहकसँग देशकै प्रतिष्ठा जोडिन्छ। निगम र एयरबसबीच भएको सम्झौतामा जहाज खरिद प्रक्रिया रद्द गरे बैना फिर्ता नहुने उल्लेख छ।
व्यवस्थापन सुधार नगरी जहाज ल्याउन दिनु हुन्न भन्ने अडानमा अर्थ मन्त्रालय, सार्वजनिक लेखा समिति लगायत निकाय अडिग छन्। जहाज घट्नुमा राजनीतिक दल र प्रत्येकपल्ट बन्ने सरकार पनि प्रमुख जिम्मेवार हुन्। यो यही निगम हो जसले विगतमा दुई दर्जन जहाज सञ्चालन गरेर युरोप, जापान, चीन, भारतलगायत गन्तव्यमा उडान गरेको थियो। र, अर्को कुरा ती जहाज अहिले घटेर पाँचमा आइपुग्दा पनि यही निगमको उही प्रणालीले काम गरिरहेको छ। यही प्रणालीमा राजनीतिक दल, सरकार र नेताले प्रहार गर्दै आएकाले निगम यो अवस्थामा आइपुगेको हो।
व्यवस्थापनलाई काम गर्न अवरोध पुर्‍याउने र निगमलाई कार्यकर्ताको 'भर्ती केन्द्र' बनाउँदै 'अक्षम' लाई व्यवस्थापनमा घुसाएका कारण व्यवस्थापन काम गर्न नसक्ने भएको हो।
'भ्रष्टाचार होला भन्ने डरले निगमलाई कामै गर्न नदिने हो भने यो संस्था बन्द गराए हुन्छ,' निगमलाई नयाँ जहाज खरिद गर्न दबाब दिने पर्यटन व्यवसायी समूहका सदस्य सुमन पाण्डेले भने, 'होइन भने जहाज किन्न नदिनुको अर्थ छैन।'
निगममा १ हजार ४ सय कर्मचारी छन्। बिनाजहाज यति ठूलो जनशक्तिको भरणपोषण गर्नुको कुनै अर्थ छैन।
निगमको ५१ औं वार्षिकोत्सवमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरतसिंह भण्डारीले भनेका थिए, 'जहाज नकिने वायुसेवा निगमले ट्याक्सी चलाउने?' उनको यो भनाइमा निगमलाई जहाजको कति आवश्यकता छ भन्ने छर्लङ्ग पार्थ्यो। तर, उनले आफैं पनि खरिद प्रक्रिया दुरुस्त राखेर टुंगोमा पुर्‍याउन सकेनन्। खरिद प्रक्रिया टुंगोमा पुर्‍याउन ऋण नखोजी हुन्न। किनकि, ऋणबाहेक निगमसँग जहाज किन्ने अर्को स्रोत छैन।
मन्त्री भण्डारीले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा विभिन्न बहानामा निगमलाई सिध्याउने षड्यन्त्र भइरहेको आरोप लगाएका थिए। 'हामीले पारदर्शी ढंगबाट जहाज खरिद प्रक्रिया अगाडि बढाएका थियौं,' उनले भने, 'तर, अहिले अनेक अट्को थापेर विभिन्न निकायहरू जहाज किन्न नदिएर निगम सिध्याउने खेलमा लागेका छन्।' निगमको जहाज खरिद प्रक्रिया लेखा समिति र अर्थ मन्त्रालय हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ।
सम्झौतामा के थियो?निगमले २०६६ कात्तिक १९ मा एयरबसँग दुई जहाज किन्ने सर्तसहित समझदारीपत्रमा हस्ताक्षर गरी भोलिपल्ट बैना स्वरूप ७ लाख ५० हजार अमेरिकी डलर (५ करोड ७३ लाख रुपैयाँ) पठाएको थियो। बैना नलिइ जहाज निर्माताले जहाजको मूल्य पठाउँदैन। यो जहाज निर्माताको नियमै हो।
एयरबससँग भएको समझदारीमै बैना प्राप्त हुनुपर्ने उल्लेख छ। निगमको आर्थिक विनियमावलीमा पनि सञ्चालक समितिले जहाज खरिद गर्ने निर्णय गरेपछि व्यवस्थापनले बैना पठाउन सक्ने व्यवस्था छ।
घाटामाथि घाटानिगमले एयरबससँग समझदारी गरेयता अन्तर्राष्ट्रिय बजारमा जहाजको मूल्य ५% ८% बढिसकेको छ। मूल्य बढाएको ६ महिनापछि एयरबसले चीनको सेन्झेन एयरलाइन्सलाई निगमद्वारा किन्न लागिएको जस्तै एउटा ए३२० जहाज ८ करोड १४ लाख डलरमा बेच्ने घोषणा गर्‍यो। निगमलाई भने एयरबसले त्यही जहाज ४ करोड १२ लाख ८९ हजार डलर र २ सय ७९ सिटे ए३३० जहाज ९ करोड २८ लाख ४५ हजार डलरमा बेच्ने समझदारी गरेको छ।
एयरबसले दुवैको कूल मूल्य १३ करोड ४१ लाख ३४ हजार अमेरिकी डलर (९ अर्ब ९६ करोड ३४ लाख ७३ हजार रुपैयाँ) प्रस्ताव गरेको छ। यो मूल्य एकैपटक सयभन्दा बढी जहाज खरिद गर्ने कम्पनीलाई दिनेसरह हो।
अहिलेको खरिद प्रक्रिया रद्द गरी नयाँ सुरु गर्ने हो भने १० अर्बमा आउने जहाज ११ अर्ब पर्छ। त्यसमाथि पहिलो जहाज आउने तालिका नै सन् २०१२ को अन्तिममा हुनेछ। जहाज खरिद प्रक्रिया पूर्ण पारदर्शी र घोटालारहित हुनुपर्छ।
स्रोत: नागरिक पत्रिका

Thursday, September 30, 2010

एसपीलाई घुस दिनखोज्ने जनमोर्चा नेता पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश खरेललाई घुस दिन उनकै कार्यालय पुगेका जनमोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष कृष्णबहादुर जर्ती र उनका सहयोगी सुनिलकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। जर्तीले २५ हजार रुपैयाँ खाममा हालेर घुस दिएपछि एसपी खरेलले दुवैलाई थुनुवा कोठामा पठाएका थिए।
प्रहरी जवान बनाइदिने भन्दै तीन व्यक्ति हरिकृष्ण कोइराला, गणेश भण्डारी र सुनिल दनुवारसँग जर्तीले रकम उठाएको जानकारी पाएपछि प्रहरीले उनीहरुलाई खोजि गरेको थियो। मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा प्रहरी जवानको खुला प्रतियोगितामा उनीहरुले आवेदन दिएका थिए।
प्रहरी जवान बनाउन सिफारिश गर्न हनुमानढोका पुगेका पुगेका जर्तीले खाममा हालेर एसपी खरेललाई खाममा हालेर २५ हजार दिएपछि खरेलले दुवैलाई नियन्त्रणमा लिएर थुनुवा कोठामा पठाएका थिए।