Tuesday, March 31, 2009

दरवार हत्याकाण्ड' - कारण हतियार बिबाद

सात वर्षअघि (२०५८ साल जेठ १९ गते) भएको दरवार हत्याकाण्ड जर्मनी र अमेरिकी राईफल किन्ने सम्वन्धि तत्कालिन राजा बिरेन्द्र र युवराज दिपेन्द्रबीचको बिबादका कारण भएको पूर्व युवराज पारशले बताएका छन् । 
सिंगापुरमा निस्किने 'द न्यू पेपर' पत्रिकालाई भर्खरै अन्तर्वाता दिदै उनले दिपेन्द्रको जर्मनी 'जी ३६' राईफल ल्याउने चाहना बिरेन्द्रले अस्विकार गरेका कारण सम्पूर्ण परिवारको कत्लेआम गरेको दावी गरे । 'क्लेमेन्ट मेसेनस' नामका पत्रकारसँगको अन्तर्वार्तामा पारसले भनेका छन्, 'नेपाली सेनाका लागि करिव ५० हजार राईफल ल्याउँदा पाइने कमिशन लिने योजनामा रहेका दिपेन्द्र बिरेन्द्रले जर्मनी राईफल किन्न नमानेपछि रिसाए र आफू रिसाएको कुरा हामीलाई समेत भनेका थिए ।' पारशका अनुसार, बिरेन्द्र अमेरिकी 'एम १६' राईफल किन्ने सेनाको योजनाको पक्षमा थिए ।
नेपाल सरकारले दरवार हत्याकाण्डबारे अनुसन्धान सुरु गर्ने भनेकाले त्यसबेलाका तथ्य सार्वजनिक गरेको उल्लेख गर्दै पारशले अन्तर्वार्तामा दिपेन्द्र बिरेन्द्रसँग २०४६ सालको जनआन्दोलनमार्फत भएको परिवर्तनपछि नै आक्रोशित भएको दावी गरेका छन् । राजनीतिक दलहरुलाई शक्ति दिनु तथा दिव्यानी राणासँग बिबाह गर्न अनुमति नपाउनु दिपेन्द्र बिरेन्द्रसँग रिसाउनुका थप कारण भएको पारशको अन्तर्वार्तामा उल्लेख छ ।
'हत्याकाण्डभन्दा अघिल्लो वर्षको आफनो जन्मदिनमा दिपेन्द्रले हामीलाई राजाको हत्या गर्ने बताएका थिए, तर हामीले पत्याएनौं' पारशले अन्तर्वार्तामा भनेका छन् ।

Sunday, March 29, 2009

प्रचण्ड थैवको शवयात्रामा एमाले अध्यक्ष सहभागि

अज्ञात समूहबाट बुटवलमा गोली हानी मारिएका एमाले युथफोर्सका कार्यकर्ता प्रचण्ड थैवको शवयात्रामा एमाले अध्यक्ष झलनाथ खनालसहित वरिष्ठ नेताहरु सहभागि छन् ।  चैत १५ गते दिउँसो सुरु भएको शवयात्रा सहज पार्न चैत १४ गते बिहानदेखि स्थानीय प्रशासनले लगाएको कर्फयू आज दिउँसो साढे १२ देखि बेलुका पाँच बजेसम्मका लागि हटाइएको छ । थैवको हत्या माओवादी वाईसीएलले गरेको एमालेले बताएकाले एमाले र माओवादीबीच भिडन्त हुनसक्ने सम्भावनाका कारण प्रशासनले हिजैदेखि कर्फयू लगाएको हो । थैवको शवयात्रामा एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेललगायत वरिष्ठ नेताहरु सहभागि छन् । शवयात्रामा ठूलो संख्यामा स्थानीय वासिन्दा जुटेका छन् । लुम्बिनी अंचल अस्पतालबाट सुरु भएको शवयात्रा शहरका बिभिन्न भाग हुँदै तिनाउ नदि किनारमा पुग्ने बताइएको छ । थैवलाई चैत १३ राती मोटरसाईकलमा आएका अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । एमालेले उनको हत्या माओवादी वाईसीएलका रुपन्देही संयोजक सुरजितको प्रत्यक्ष संलग्नतामा भएको बताएको छ ।
थैवको हत्यामा संलग्न सुरजितलगायतलाई कारवाही गर्नुपर्ने माग गर्दै एमालेले आज देशव्यापी विरोध प्रदर्शन आयोजना गर्दैछ । काठमाडौंमा दिउँसो तीन बजे रत्नपार्कबाट बिरोध प्रदर्शन सुरु गरिने एमालेले बताएको छ ।

Thursday, March 26, 2009

दाहालले मन्त्री मण्डलमा विस्तार

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री मण्डल विस्तार गरेका छन् भने ६ सचिवको जिम्मेवारी हेरफेर गरिएको छ । 
चैत १२ गते महेन्द्र पासवानलाई भूमि सुधार र रामचरण चौधरीलाई महिला वालवालिका तथा समाजकल्याण मन्त्रीमा थप गरेपछि मन्त्री मण्डल २४ सदस्यीय बनेको छ । सिराहा निवासी पासवान र बर्दिया निवासी चौधरी दुबै माओवादी सभासद हुन् । मात्रृका यादवले राजिनामा दिएपछि रिक्त रहेको भूमि सुधार र नेकपा मालेले लिन नमानेको महिला, वालवालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी यसअघि प्रधानमन्त्री स्वयमले सम्हाल्दै आएका थिए ।
६ सचिवको जिम्मेवारी हेरफेर मन्त्री परिषदको वैठकले राष्ट्रिय सूचना आयोगका सचिव गणेशराज जोशीलाई रक्षामा ल्याएको छ भने यसअघि रक्षामा रहेका वामनप्रसाद न्यौपानेलाई सामान्य प्रशासनमा लगेको छ । यसैगरी प्रताप पाठकलाई प्रधानमन्त्री कार्यालयबाट उद्योग मन्त्रालयमा, उद्योगमा रहेका ताना शर्मालाई राष्ट्रिय सर्तकता केन्द्रमा, सर्तकता केन्द्रबाट सुशिल घिमिरेलाई सूचना तथा संचार मन्त्रालयमा र संचारबाट लिलामणी पौडेललाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ ।

Sunday, March 1, 2009

सरकारको विकल्प छैन-प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा रहेको सरकारको विकल्प नरहेको र वर्तमान अवस्थामा अहिलेको भन्दा राम्रो सरकार बन्न नसक्ने ठोकुवा गरे । राजधानीमा फागुन १७ गते आयोजित पूर्व माओवादी र एकता केन्द्र मसालसम्बद्ध पत्रकार संघको एकता कार्यक्रममा बोल्दै उनले सरकारलाई सहयोग गर्न काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई आग्रह समेत गरेका छन् । आफ्नो नेतृत्वको सरकारलाई कमजोर बनाए राष्ट्र नै कमजोर हुने प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्री दाहालले केही दिन अघि आफ्ना स्वकीय सचिव शक्तिबहादुर बस्नेतमाथि गोली प्रहार भएको घट्नाको उदाहरण दिँदै सरकारमाथि भौतिक र प्रचारात्मक आक्रमण भईरहेको बताए । उनले संचार माध्यमले नकारात्मक समाचार लेखेर माओवादी नेतृत्वको सरकारलाई घेराबन्दीमा पारिरहेको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले मुलुक संक्रमणकालमा रहेकाले साचारकर्मीलाई नकारात्मक समाचार प्रकाशन प्रसारण नगर्न आग्रह गरे । 'अहिलेसम्मका प्रधानमन्त्रीहरुमध्ये संभवत सबै भन्दा बढी सकि्रय भएर काम गर्ने म नै होला । तर यस्तो कुरामा कहिल्यै पनि समाचार बनेन ।' कार्यक्रममा दाहालले भने । आलोचना सुन्दा-सुन्दा आफूले सुत्ने गरेको पलङ्ग नै फ्याक्न मन लागेको उनको भनाई थियो । यसअघि ७० हजारको पलङ्ग प्रयोग गरेको विषयमा प्रधानमन्त्रीको आलोचना भएको थियो ।
संघीयता गणतन्त्र जस्ता विषयमा आलोचना गर्ने बेला भई नसकेको भन्दै प्रधानमन्त्री दाहालले भने 'तँपाईहरु(संचारकर्मी)ले भर्खरै जन्मेको संघीयता र गणतन्त्रमाथि घन प्रहार गर्दै हुनुहुन्छ ।'

Saturday, February 21, 2009

कांग्रेसमा उपनेता राख्‍ने व्यवस्थासहितको विधान पारित

प्रमुख विपक्षी नेपाली कांग्रेसले संविधानसभा चुनाव भएको १० महिनापछि पार्टीको संसदीय दलको विधान अनुमोदन गरेको छ।
पार्टी कार्यालय ललितपुरको सानेपामा शुक्रबार अपराह्न बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दलको विधान स्वीकृत गरेको हो। कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले संसदीय दलबाट पारित विधानलाई केन्द्रीय समितिको बैठकले जस्ताको तस्तै स्वीकृत गरेको जानकारी दिए। ´केन्द्रीय कार्यसमितिले संसदीय दलको विधान स्वीकृत गर्‍यो´ केसीले भने। यससँगै प्रमुख प्रतिपक्षी दलको संसदीय दलको प्रस्ताव शुक्रबारबाटै लागू भएको छ। विधान अनुमोदनसँगै कांग्रेसमा संसदीय दलको नेता निर्वाचनका माध्यमबाट चयन गर्ने बाटो खुलेको छ। विधान नबनेकै कारण कांग्रेसमा दलको नेता १० महिनासम्म चयन हुन सकेको छैन। नयाँ व्यवस्थाअनुसार कांग्रेसका संविधानसभामा निर्वाचित १ सय १४ सदस्यले चुनावका माध्यमबाट दलको नेता चयन गर्नेछन्।
कांग्रेसले पहिलोपटक दलमा उपनेता राख्‍ने व्यवस्था गरेको छ। दलको नेताले उपनेता प्रस्ताव गर्ने र दलको बहुमतले अनुमोदन गर्नुपर्नु व्यवस्था विधानमा गरिएको छ। नेताले प्रस्ताव गरेको उपनेतालाई दलको बहुमतले अस्वीकार गर्न सक्ने व्यवस्थासमेत विधानमा गरिएको छ।
कांग्रेसले पहिलोपटक दलका चार प्रमुख पद नेता, उपनेता, प्रमुख सचेतक या सचेतकमध्ये एकमा महिलालाई ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ, जसका कारण कांग्रेस यी चारमध्ये एक पद महिलालाई दिन बाध्य हुनेछ।
सभापति गिरिजाप्रसाद कोइराला अनुपस्थित भएकाले बैठकको अध्यक्षता कार्यवाहक सभापति सुशील कोइरालाले गरेका छन्। कांग्रेसले विधानमा पहिलोपटक २७ सदस्यीय दलको कार्यसमितिमा महिला, दलित, मधेसी, आदिबासी जनजाति र पिछडिएको वर्गको समानुपातिक प्रतिनिधित्व गराउने व्यवस्था गरेको छ।संसदीय दलको कार्यसमितिमा दलको नेता, उपनेता, प्रमुख सचेतक, विकास क्षेत्रबाट निर्वाचित ५ जना, महिला, दलित, मधेसी, आदिबासी जनजाति, पिछडिएको वर्ग र अन्यबाट निर्वाचित १२ जना सदस्य रहनेछन्।
दलको नेताले कार्यसमितिमा कम्तीका चार महिलासहित ६ सदस्य मनोनीत गर्ने व्यवस्था छ। मनोनीतमा समेत भौगोलिक र समावेशी प्रतिनिधित्व गरिनुपर्ने व्यवस्था छ।संसद या संविधानसभा चलेको बेला संसदीय दलको बैठक १५ दिनको एकपटक अनिवार्यरुपमा बस्नुपर्ने व्यवस्था गरिएको छ। विधानमा कांग्रेसले दलमा २४ वटा समिति गठन गर्ने व्यवस्था गरेको छ। उसले संविधानसभाका १४ र संसदका १० वटा समिति हेर्न ती समिति गठन गर्न लागेको हो।
बैठकले माओवादीद्वारा कब्जा गरिएका घरजग्गा फिर्तालगायत विगतमा गरिएका सम्झौताबारे छलफल हुने उल्लेख गर्दै प्रवक्ता केसीले त्यको कार्यान्वयनका लागि सरकारलाई दबाब दिने जानकारी दिए। ´पहिले गरिएका प्रतिबद्धता पूरा गर्न सरकारलाई दबाब दिन्छौं´ उनले भने।
बैठकमा सरकारद्वारा हालै जारी अध्यादेशका विषयमा पनि छलफल भएको छ। ुसंसदलाई छलेर ल्याइएको अध्यादेश समसामयिक राजनीतिक परिस्थिति र अब कांग्रेसले लिने नीतिबारे छलफल हुँदैछु बैठकका विषयवस्तुबारे उनले संवाददातालाई बताए।ुहामी अध्यादेशविरुद्धको प्रस्तावमा छलफल गर्ने चरणमा छौंु उनले भने। यसबारे केही नेताले आफ्नो धारणा राखिसकेका छन्। केसीका अनुसार बैठक अझै दुई/तीन दिन लम्बिनेछ। बैठकले पार्टी महाधिवेशनको तिथि तोक्नेबारेमा छलफल सुरु भएको छैन। गत भदौमा भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकले २०६६ भदौ महिनाभित्र गरिसक्नेलगायतका निर्णय गरेको थियो ती निर्णय कार्यान्वयन नभएकाबारेमा छलफल हुनेछ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको समीक्षा गर्ने

प्रतिपक्षी दल नेपाली कांग्रेसले माओवादी नेतृत्वको सरकारमाथि सहमति तोडेकोले सरकारको गम्भीर समीक्षा गर्ने सो पार्टीका नेताहरुले बताएका छन्। शुक्रबारदेखि शुरु भएको सो पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले अध्यादेश विवाद तथा सरकारले गरेका प्रतिबद्धताहरुको कार्यान्वयनको स्थितिबारे लेखाजोखा गर्ने उनीहरुले उल्लेख गरेका छन्।
पार्टी केन्द्रिय कार्यालय सानेपामा छ महिनाको अन्तरालमा बसेको नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकको पहिलो दिन मुख्यगरी पार्टीको संसदीय दलको विधान अनुमोदन गर्नमै केन्द्रित रहेको थियो।
शनिबारदेखि फेरी बस्ने सो बैठक नेकपा माओवादीको नेतृत्वमा रहेको सरकारको गम्भीर समीक्षा गर्नमा लाग्ने सो पार्टीका नेताहरुले बताएका छन्।

Friday, February 20, 2009

ल क्याम्पसमा एलएलएम लाई एसी

नेपाल ल क्यापसमा एलएलएम (कानुनमा स्नातकोत्तर) तहमा अध्ययनरत विद्यार्थीले अब एसीसहितको कक्षाकोठामा अध्ययन गर्न पाउने भएका छन्। नेपाल ल क्याम्पस नेपालमा एलएलएम तहको पढाइ हुने एक मात्र सरकारी क्याम्पस हो। आधुनिक कक्षाकोठा स्ववियुको पहलमा निर्माण भएको हो। एलएलएम अन्तर्राष्ट्रियस्तरको पढाइ हुने कक्षा भएको र लगातार ६/७ घन्टासम्म सेमिनार कक्षाहरूमा अध्ययन गर्नुपर्ने भएकोले जाडोमा अत्यधिक चिसो र गर्मीमा अत्यन्त तापमा अध्ययन गर्न कठिन हुने भएकोले कक्षाकोठामा एसी जडान गरिएको स्ववियु सभापति नवराज थपलियाले घटना र विचारलाई जानकारी दिनुभयो। नेपाल ल क्याम्पसले एलएलएम तहमा अध्ययनरत विद्यार्थीका लागि इ–लाइब्रेरीको सुविधासमेत प्रदान गर्दै आएको छ।

Wednesday, February 18, 2009

एमालेको नेतृत्वका निम्ति तीन नेताको तिब्र प्रतिस्पर्दा

एमाले आठौं महाधिवेशनको बन्द सत्रमा फागुन ६ गते प्रस्तुत गर्ने भनिएको राजनीतिक प्रतिवेदन फागुन ७ गते प्रस्तुत हुने भएको छ । पूर्व स्थायी समिति सदस्य इश्वर पोखरेलले बन्द सत्र ढिलो सुरु भएको तथा विदेशी पाहुनाहरुले बोल्न क्रम जारी रहेकाले राजनीति प्रतिवेदन आज प्रस्तुत हुन नसकेको जानकारी दिएका छन् । यसै वीच एमालेको आठौं महाधिवेशनमा एमाले नेतृत्वका निम्ति तीन नेताको तिब्र प्रतिस्पर्दा हुने भएको छ ।
शुरुमा, सहमतिमा नेतृत्व चयन गरिने बताईंदै आएतापनि नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूबीच महाधिवेशनको बन्द सत्र अघिदेखि नै गुटबन्दी शुरू भएको छ। चालु महाधिवेशनले पारित गर्ने संशोधित विधानले पार्टीको सर्वोच्च स्थान दिएको अध्यक्ष पदका लागि भूतपूर्व महासचिव माधव नेपाल, अहिलेका महासचिव झलनाथ खनाल र बरिष्ठ नेता केपी ओलीको प्रचारमा कार्यकर्ताहरू जुटेका छन् । यो महाअधिवेशनमा वर्तमान महासचिव खनाल माओवादीसंगको वर्तमान समिकरण र निकटताले पार्टीलाई भिन्न र ठोस दिशातर्फ पनि लैजान नसकेको र अलग विचार प्रदान गर्न नसकेको आरोप खनालमाथि लगाएका छन्। त्यसकारण वर्तमान पार्टीको अवस्था नाजुक रहेको र पार्टीको मार्ग निर्देशन र सिद्धान्तको रूपमा रहेको जनताको बहुदलीय जनवादको ठोस पक्षधरको रूपमा आफूलाई चिनाउंदै आएका नेता ओलीले सो सिद्धान्तको रक्षा र प्रभावकारी कार्यन्वयनका लागि नेतृत्व पाउनुपर्ने जिकिर उनी निकट कार्यकर्ताहरूको छ।

Thursday, February 12, 2009

मात्रृकाद्धारा नेकपा माओवादी पुर्नगठन

माओवादी नेता मात्रृका यादवले आफू एकिकृत माओवादीमा नरहेको तथा नेकपा माओवादीलाई नै पुर्नगठन गरेको घोषणा गरेका छन् । 
नेता यादवले प्रचण्ड लगायतका नेताहरु माओवादी छाडेर नयाँ पार्टीमा गएको बताउँदै आफू माओवादी केन्द्रीय सदस्य नै रहेको उल्लेख गरेका छन् । राजधानीमा माघ २९ गते पत्रकार सम्मेलन गरेर यादवले संविधानसभा सदस्यबाट राजिनामा दिएको घोषणा समेत गरे । कार्यक्रममा यादवले छिट्टै सभामुखलाई लिखित राजिनामा दिने जानकारी दिए ।
नेकपा एकता केन्द्र मसालसँगको एकिकरण भक्तपुरको खरिपाटीमा भएको माओवादी राष्ट्रिय कार्यकर्ता भेलाको म्यान्डेट विपरीत भएको कार्यक्रममा यादवले उल्लेख गरे । पुस २९ गते एकता केन्द्रसँगको एकिकरणपछि बनेको एकिकृत माओवादीमा यादवलाई पोलिटब्यूरो सदस्य बनाइएको थियो । पत्रकार सम्मेलनमा उनले शान्ति प्रकि्रया पछि प्रचण्डले क्रान्तिकारी नेता कार्यकर्ताको कुरा नसुन्ने गरेको दाबी गरे । एकिकृत माओवादी अध्यक्ष प्रचण्डले क्रान्तीकारी नेता गुमाउँदै गएको बताउँदै यादवले भने 'पार्टी एकिकरणको नाममा युद्धको बेलामा व्यापार व्यावशाय गरेर बसेकाहरुलाई प्रचण्डले नेता बनाएका छन् ।' यादवले शान्ति प्रकि्रयापछि माओवादी केन्द्रीय समितिको वैठकमा मधेशको विषयमा छलफल हुनै नसकेको बताए । उनले क्रान्ति पक्षधर नेता कार्यकर्ता माओवादी लडाकुको आफ समर्थन रहेको दाबी गरे । माओवादी छाडेकाहरुले बनाएको 'रिभुलिसनरी लेफ्ट वीङ' का नेताहरुसँग छलफल भएपनि एकताको टुङ्गो लागि नसकेको यादवले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Tuesday, February 10, 2009

मात्रृका यादव माओवादी छाड्दै

माओवादीका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री मात्रृका यादव माघ २९ गते पत्रकार सम्मेलन गरी पार्टी छाडेको घोषणा गर्ने टुङ्गोमा पुगेका छन् । 
एकिकृत माओवादीका पोलिटब्यूरो सदस्य मात्रृका यादवले पार्टीबाट राजीनामा दिने भएका छन् । यादवले माघ २९ गते दिउँसो २ बजे काठमाडौं सिंहदरवारस्थित नेपाल वार एसोसियशनको हलमा पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गर्ने जानकारी दिए । 'एकिकृत माओवादीमा म छैन भन्ने भोली घोषणा गर्नेछु, अब माओवादी फेरी ब्युँतिनेछ' यादवले भने ।
माओवादीको एकताकेन्द्र मसालसँग गत महिना एकता भएपछि यादव पार्टीसँग असन्तुष्ट थिए । त्यही कारण एकिकृत माओवादीको सबै कार्यक्रममा यादव अनुपस्थित थिए । 'एकिकृत माओवादीमा मेरो नाम त्यसै राखिएको छ, मेरो पार्टी त्यो होइन भन्ने भोली म सार्वजनिकरुपमा भन्ने छु' यादवले भने । माओवादी पार्टी पुनर्गठनका लागि भोलीदेखि नै लाग्ने पनि उनले जानकारी दिए ।
यसैबीच, माओवादीको 'जनयुद्ध दिवश' फागुन १ का बेला देशका बिभिन्न भागका माओवादी कार्यकर्ताले पार्टी त्याग्ने तयारी गरिरहेको श्रोतहरुले बताएका छन् । उता, माओवादी छाडेकाहरुको मोर्चा 'रिभुलिशनरी लेफ्ट वीङ' ले फागुन पहिलो साता राजधानीमा भेला गरेर पार्टी घोषणा गर्दैछ । वीङका नेता मणि थापाले यादवसँग आफ्नो समूहको निकटता रहेको तथा छिटै नै दुवै समूह एउटै पार्टीमा आउने सम्भावना रहेको बताए ।

Thursday, February 5, 2009

अध्यादेश नल्याउन एमालेको दबाबपछि मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं, माघ २२- अध्यादेश ल्याउनेबारेमा प्रमुख सत्तारुढ दुई घटक माओवादी र एमालेबीच विवाद भएपछि मन्त्रिपरिषद्को बुधबार बस्ने भनिएको बैठक बस्दा बस्दै बिना निर्णय स्थगित भएको छ। बुधबारको बैठकमा पाँच वटा अध्यादेश पारित गर्ने एजेन्डा तय गरिएको थियो।
मन्त्रिपरिषद्का बैठक बसिरहेका बेला एमाले महासचिव झलनाथ खनालले टेलिफोनमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुनै पनि हालतमा अध्यादेश नल्याउन भनेपछि बैठक स्थगित भएको हो।
राज्य पुनसंरचनामन्त्री गोपाल किराँतीले महासचिव खनालबाट प्रधानमन्त्रीलाई फोन आएका कारण बैठक स्थगित भएको जानकारी दिए।आपूर्तिमन्त्री राजेन्द्र महतोले प्रधानमन्त्रीबाट अध्यादेशको अध्ययन र अरु दलसित सहमति जुटाउन समय मागेकाले बैठक स्थगित गरिएको बताए। प्रधानमन्त्रीले सबै दलसित छलफल गरी सहमतिको प्रयास गर्ने बताउँदै बिहीबार ४ बजे बैठक बस्ने जानकारी आफूहरुलाई गराएको महतोले बताए।
विज्ञान तथा प्रविधिमन्त्री गणेश साहले भने बुधबार मन्त्रिपरिषद्को बैठक नबसेको दाबी गरे। ´आज बैठक बसेन, स्थगित भयो, भोलि (बिहीबार) ४ बजे बस्छ´ साहले भने। अपराह्न तीन बजे सुरु भएको मन्त्रिपरिषद् बैठक साँझ ६ बजे स्थगित भएको थियो।
कांग्रेसका नेताहरुले बिहीबार बिहान प्रधानमन्त्रीलाई भेटी अध्यादेश नल्याउन आग्रह गरेका थिए। उनीहरुले अध्यादेश ल्याइएमा विरोधमात्र होइन त्यसविरुद्ध आन्दोलन नै गर्ने चेतावनी दिएका थिए। प्रधानमन्त्रीले भने कांग्रेस नेताहरुलाई अध्यादेशको समर्थन गर्न अनुरोध गरेका थिए।

Tuesday, February 3, 2009

डीआईजीसहित चार जनालाई मुद्दा चलाउन आदेश

काठमाडौं, माघ २०- सर्वोच्च अदालतले जनकपुरमा पाँच वर्षअघि दुई युवालाई वेपत्ता पारेको अभियोगमा डीआईजी कुवेरसिंह रानासहित चार सरकारी अधिकारीमाथि छानबिन गरी मुद्दा चलाउन सरकारलाई सोमबार आदेश दिएको छ।
सर्वोच्च अदालतका अस्थायी न्यायाधीशद्वय प्रकाश वस्ती र दामोदरप्रसाद उपाध्यायको इजलासले सोमबार ती चार जनामाथि जाहेरी दर्ता गरेर सरकारी मुद्दासम्बन्धी ऐन २०४९ बमोजिम अनुसन्धान गरी मुद्दा चलाउन सरकार र जनकपुर प्रहरीलाई आदेश दिएको हो।
पाँच वर्षअघि जनकपुरका सञ्जीवकुमार कर्ण, प्रमोदनारायण मण्डल लगायतलाई बेपत्ता पारेको अभियोग लागेकामा तत्कालीन क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख राना तत्कालीन धनुषाका प्रजिअ रेवतीराज काफ्ले र तत्कालीन धनुषाका जिल्ला प्रहरी प्रमुख चूडाबहादुर श्रेष्ठ तथा मेजर अनुप अधिकारी छन्। राना हाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान ब्युरो प्रमुख छन्।
आप्ना २४ वर्षीय छोरा सञ्जीवकुमार कर्ण (दीपू) सहित स्थानीय सात युवालाई राज्यले वेपत्ता पारेको दुःखद प्रसंगमा संयुक्त राष्ट्रसंघीय मानव अधिकार समिति र जबर्जस्ती बेपत्तासम्बन्धी कार्य समूहसँग छलफल गर्न जनकपुरका कानुन व्यवसायी जयकिशोर लाभ २०६३ साउनमा जेनेभा समेत बोलाइएका थिए । २०६० असोज २१ गते सञ्जीव, दुर्गेश लाभ, मछली भन्ने जितेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्र यादवसहित ११ स्थानीय युवालाई सुरक्षाफौजले जनकपुर नगरपालिका-४ स्थित कटैया चौरबाट गिरफ्तार गरेको थियो । सेना, प्रहरी र सादा पोसाकका सुरक्षाकर्मीसहित पुगेका तीनवटा भ्यानमा राखेर उनीहरूलाई अञ्चल प्रहरी कार्यालयमा लगिएको थियो । छ जनालाई मुक्त गरे पनि पाँचजनाको स्थिति शंकास्पद रह्यो ।
´मैले मेरो छोरालाई आँखामा पट्टी बाँधेको अवस्थामा त्यही बेला देखेको थिएँ तर मलाई भित्र जानबाट रोकियो,´ जयकिशोरले जेनेभाबाट फर्केपछि भनेका थिए- ´त्यसपछि म कहाँ गइनँ ? उनीहरूबारे कहिल्यै जानकारी पाइएन ।´
क्षेत्रीय प्रहरी कार्यालय जनकपुरले १८ कात्तिक २०६० मा आफ्नो ´मातहत जिल्ला प्रहरी कार्यालय धनुषाबाट पक्राउ नगरिएको´ जवाफ राष्ट्रिय मानव अधिकार आयोगलाई दिएको थियो । त्यस्तै प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले पनि उनीहरूलाई पक्राउ नगरिएको नै बताएका थिए ।
२०६२ फागुन २५ गते जनकपुरस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा सञ्जीवको २७ वटा मैनबत्ती बालेर जन्म दिन मनाउने योजना थियो । २४ वर्षको उमेरमा समातिएका उनी २८ औं वर्ष प्रवेश गर्दै थिए । एकाएक २४ गते बिहान आयोगका संरक्षण अधिकृत श्यामबाबु काफ्लेले जयकिशोरलाई फोन गरेर सेनाबाट पत्र आएको जानकारी दिएका थिए ।
सेनाको कार्यरथी विभाग मानव अधिकार शाखा काठमाडौंले २०६२ माघ १० र २० गते पठाएका दुई पत्रमा ´२०६१ असोज २१ गते प्रहरीको एकल कारबाहीमा जनकपुर इलाकामा सञ्जीवकुमार कर्ण, दुर्गेश लाभ, प्रमोदनारायण मण्डल, जितेन्द्र झा र शैलेन्द्र यादवको मृत्यु भएको´ जानकारी दिइएको थियो । प्रहरी र यसका तालुक अड्डाहरूले गिरफ्तार नै नगरेको दाबी गर्दै आएकामा एकाएक सेनाले प्रहरीको ´एकल कारबाही´ मा मारिएको खबर उनीहरूले सुन्नु परेको थियो । जयकिशोर र प्रमोद मण्डलकी आमा जीवछीदेवी मण्डलले एडभोकेसी फोरमलगायत संस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालय धनुषामा गत २०६३ असार २५ गते दोषीहरूमाथि हदैसम्मको सजाय माग गर्दै जाहेरी दरखास्त दिएकी छन् ।
मुद्दामा क्षेत्रीय प्रहरी इकाई कार्यालय जनकपुरका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (हाल सेवा निवृत्त) चूडाबहादुर श्रेष्ठ, तत्कालीन प्रमुख जिल्ला अधिकारी रेवतीराज काफ्ले, जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रमुख कुबेरसिंह राना, धारापानी सैनिक ब्यारेकका तत्कालीन मेजर अनुप अधिकारीलगायत तत्कालीन अवस्थामा खटिएका सुरक्षा अधिकारी र जवानलाई समेत विपक्षी बनाइएको थियो ।

Sunday, February 1, 2009

एमाले नेतृत्व कार्यनीति ठम्याउन असफल : ओली

काठमाडौं, - सत्तारुढ नेकपा एमाले स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले पार्टी तात्कालिक कार्यनीति ठम्याउन असफल भएको दाबी गर्दै नेतृत्वको चर्को आलोचना गरेका छन्। पार्टी कार्यालय बल्खुमा शनिबार भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेतृत्वले मुख्य प्रतिद्वन्द्वी पहिचान गर्न नसकेको भनी आलोचना गरेका हुन्।
भेलामा ७२ जिल्लाका सम्पर्क मञ्चका प्रतिनिधि सहभागी थिए । उग्रवामपन्थीहरूसँग जुध्नु तात्कालिक आवश्यकता भएको बताउँदै उनले भने ´तर मुख्य वास्तविकता ढाकछोप गर्न बेकारको परिश्रम गरिंदैछ।´ त्यस्तो परिश्रम नेतृत्वबाटै भएको आरोप ओलीको थियो। ओलीले माओवादीको उग्र वामपन्थी ज्यादतीको पनि आलोचना गरे। ती ज्यादतीको पार्टी नेतृत्वले प्रतिकार गर्न नसकेकोमात्र होइन माओवादीप्रति नेतृत्व लचिलो भएको आरोपसमेत उनले लगाए। माओवादीबाट एमालेका कार्यकर्ता निरन्तर पिटिइरहँदा पनि नेतृत्व मुकदर्शक बनेको भनाइ उनको थियो। ´माओवादीले ज्यादती गरिरहँदा कार्यकर्ताको हात खुट्टा भाँचिदा पनि कमरेडहरुले आक्रमण गरे भनिरहनुको के अर्थ हुन्छ? किन कार्यकर्ताको हात खुट्टा भाँचेको हेरिरहनुपर्ने´ पार्टी नेतृत्वप्रति आक्रामक हँदै नेता ओलीले प्रश्न गरॆ ´यस्तो बेलामा किन चाहियो महाधिवेशन ? पार्टी विघटन गरेर नयाँ बजार माओवादीको तत्कालीन हेडक्वार्टरमा बुझाइदिए हुन्छ।´ओलीले जनताको बहुदलीय जनवादमा अनावश्यक विवाद र बहस गर्ने काम भएको बताउँदै भने ´जबजमा बहस गर्नु बेकारको सोखमात्र हो।´ जबजमा अनावश्यक विवाद निम्त्याउन नहुने तर्क उनको थियो । महाधिवेशनमा प्रस्तुत गर्न सार्वजनिक गरिएको दस्ताबेजप्रति पनि ओलीको असन्तुष्टि रह्यो। दस्ताबेजलाई छलफलको लागि कार्यकर्ता तहमा लैजान ढिलाइ भएकामा उनले पार्टी नेतृत्वको आलोचना गरे। ´२ सय ४१ पेजको दस्तावेज कार्यकर्ताले कहिले पढ्ने र कहिले छलफल गर्ने´ उनले प्रश्न गरे। एमाले महासचिव झलनाथ खनालले पनि माओवादीको आलोचना गरेका थिए। माओवादीले फासिस्ट र आक्रामक शैली नत्यागे उनीहरुविरुद्ध अर्को विद्रोह हुने बताए। माओवादीको व्यवहारका कारण संयुक्त सरकार सञ्चालनमा समेत कठिनाइ भएको उनले बताए। खनालले आठौं महाधिवेशनपछि पार्टी विचार संगठन र सिद्धान्तमा स्पष्टताका साथ अघि बढने बताए। बहुदलीय जनवादलाई थप सुदृढ गरिने भनाइ उनको थियो। उनले यथास्थितिवाद र उग्रवामपन्थी अराजकताविरुद्ध लड्न कार्यकर्तालाई निर्देशन पनि दिए। यही माघ २४ गते राजधानीमा हुने जनप्रर्दशनलाई उनले ´मिनी महाधिवेशन´ का रुपमा लिन कार्यकर्तालाई आग्रह गरे । एमाले महाधिवेशन आगामी फागुन ५ देखि १० बुटवलमा हुँदैछ।

Wednesday, January 21, 2009

नया युगको प्रारम्भ


राष्ट्रपति भवनमा प्रवेशको रौनक

वासिङ्टन, – शपथग्रहणपछि बाराक ओबामा संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमात्र होईन, संसारकै शक्तिकेन्द्र मानिने ´व्हाइट हाउस´ प्रवेश गर्ने दिन पनि हो । यही दिन निवर्तमान राष्ट्रपति जर्ज डब्लु बुस आठ वर्षदेखि बस्दै आएको व्हाइट हाउस ओबामालाई जिम्मा लगाएर बाहिरिन्छन्।

गेरी जे वाल्टर्स गत वर्ष अवकाश पाउनुअघिसम्म व्हाइट हाउसका प्रमुख सहयोगी थिए। उनले यो पदमा रहेर छ जना राष्ट्रपतिको तामझामपूर्ण व्हाइट हाउस प्रवेश आफ्नै आँखाले देखे। तीमध्ये चारजनाको पूरै कार्यकालभरि उनी साथ थिए। उनी यो सेतो महलमा नयाँ राष्ट्रपति र उनको परिवार प्रवेश गर्दा छाउने रौनक यसरी वर्णन गर्छन् :

अमेरिकी प्रचलनअनुसार निवर्तमान राष्ट्रपतिले शपथग्रहणको दिन बिहान १०:४५ देखि ११:०० बजेसम्म मात्र व्हाइट हाउस बस्न पाउँछन्। उनी नवनिर्वाचित राष्ट्रपतिका साथ क्यापिटोल हिलतिर लागेपछि मात्र बुसको व्हाइट हाउसलाई ओबामाको घर बनाउने चाँजोपाँजो मिलाउने काम सुरु हुन्छ।

नयाँ राष्ट्रपति फर्कनुअघि व्हाइट हाउसका आवासीय कर्मचारी छ घण्टा खट्छन् घरको व्यवस्थापनमा। मर्मतसम्भार कर्मचारी, सहयोगी कामदार, भान्छेसहित ९३ जनाको समूहका लागि यही ६ घण्टा सबभन्दा बढी व्यस्त हुनुपर्ने समय हो।

बेलुकी ५ बजेतिर ओबामा शपथग्रहण सकेर व्हाइट हाउस छिर्दा त्यो घरको भित्री साजसज्जा अर्कै भइसकेको हुन्छ। कुर्सी टेबुल कहाँ राख्ने, खाट कोठाको कुन कुनामा लगाउने, कुन कोठामा कस्तो खाट राख्ने, ओच्छ्याउन कसरी व्यवस्थित गर्ने यी सबै विषयमा त्यहाँका आवासीय सहयोगीले निर्णय गर्छन्। त्यसपछि ओबामाकी छोरीले कुन कोठा छान्लिन् त? त्यो एकदमै तनावपूर्ण समय हो। मैले आफ्नो हिस्साको काम सकिसकें।

व्यक्तिगत चीज
व्हाइट हाउसभित्रका फर्निचर तथा अन्य व्यक्तिगत सामग्री फेरि प्रयोग गर्ने कि नगर्ने भन्ने कुरा नयाँ आउने परिवारले निर्धारण गर्छ। यसअघि राष्ट्रपति बुसले आफूसँग धेरै फर्निचर तथा व्यक्तिगत सामान ल्याएका थिएनन्। उनीसँगै व्हाइट हाउस भित्रिएका सामानमा लुगाफाटो, किताब र तस्बिर बढी थिए। त्यतिखेर उनले टेक्ससमा नयाँ घर बनाएका थिए।

यो श्वेत महलमा बसोबास गरेका अधिकांश परिवार यहाँ पर्याप्त फर्निचर भएकाले छानीछानी प्रयोग गर्न पाइने बताउँछन्। संख्यामात्र होइन, ती फर्निचरको गुणस्तर पनि उच्च कोटीको हुन्छ। केही सामान्य फर्निचर पनि छन्, जसलाई परिवारले इच्छाअनुसार विभिन्न कोठामा विभिन्न तरिकाले सजाउन सक्छन्। व्हाइट हाउसभित्र एउटा गोदाम भएकाले अनावश्यक फर्निचर त्यहीँ लगेर राखिन्छ।

राष्ट्रपतिले दैनिक कामकाज गर्ने ´ओभल´ कार्यालयको परिवर्तनचाहिँ सबभन्दा गाह्रो काम हो। शपथग्रहणपछि सबभन्दा छिटो प्रयोगमा आउने कोठा पनि यही हो। कहिलेकाहीँ त नवनिर्वाचित राष्ट्रपति शपथग्रहणकै दिन यहाँ छिर्छन्।

यसबाहेक कोठाका गलैंचा, भित्तामा झुण्ड्याइएका कलाकृति, पुराना राष्ट्रपतिका तस्बिर र उनले प्रयोग नगर्ने चीजबीजहरू पनि कहिलेकाहीँ नयाँ ढंगले राखिन्छ। नयाँ परिवारका लागि घर सजाउँदा सबभन्दा महत्वपूर्ण र सबभन्दा बढी समय लाग्ने काम यो पनि हो।

अत्यन्त भावुक
मेरो समयमा व्हाइट हाउसभित्रको कुनै ´गसिप´ केही छैन। निवर्तमान राष्ट्रपति बुस बढी समय सर्वसाधारणबीच घेरिएर रहन्थे। उनी एकदमै भावकु मान्छे हुन्, आफ्ना पिताजस्तै। उनको परिवारका सदस्यसँग अत्यन्त राम्रो सम्बन्ध थियो। उनी एकदमै भलाद्मी र रसिलो स्वभावका व्यक्ति हुन्। त्यही भएर प्रधानमन्त्री टोनी ब्लेयरसँग उनको राम्रो सम्बन्ध कायम भएको मेरो विश्वास छ। उनीहरू दुवै ठट्यौला र मायालु स्वभावका थिए। अहिले उनलाई जुन ढंगले चित्रण गरिएको छ, इतिहासको कुनै समयमा गएर उनको कार्यकाललाई त्योभन्दा फरक र राम्रो तरिकाले हेरिनेछ भन्ने मलाई लाग्छ। शपथग्रहणको दिन म यो तामझाम सधैं सम्झन्छु। राष्ट्रपति परिवारसँग हुने प्रत्यक्ष सम्पर्कबाट म सधैं उत्साहित भएँ।