Wednesday, January 21, 2009

नया युगको प्रारम्भ


राष्ट्रपति भवनमा प्रवेशको रौनक

वासिङ्टन, – शपथग्रहणपछि बाराक ओबामा संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमात्र होईन, संसारकै शक्तिकेन्द्र मानिने ´व्हाइट हाउस´ प्रवेश गर्ने दिन पनि हो । यही दिन निवर्तमान राष्ट्रपति जर्ज डब्लु बुस आठ वर्षदेखि बस्दै आएको व्हाइट हाउस ओबामालाई जिम्मा लगाएर बाहिरिन्छन्।

गेरी जे वाल्टर्स गत वर्ष अवकाश पाउनुअघिसम्म व्हाइट हाउसका प्रमुख सहयोगी थिए। उनले यो पदमा रहेर छ जना राष्ट्रपतिको तामझामपूर्ण व्हाइट हाउस प्रवेश आफ्नै आँखाले देखे। तीमध्ये चारजनाको पूरै कार्यकालभरि उनी साथ थिए। उनी यो सेतो महलमा नयाँ राष्ट्रपति र उनको परिवार प्रवेश गर्दा छाउने रौनक यसरी वर्णन गर्छन् :

अमेरिकी प्रचलनअनुसार निवर्तमान राष्ट्रपतिले शपथग्रहणको दिन बिहान १०:४५ देखि ११:०० बजेसम्म मात्र व्हाइट हाउस बस्न पाउँछन्। उनी नवनिर्वाचित राष्ट्रपतिका साथ क्यापिटोल हिलतिर लागेपछि मात्र बुसको व्हाइट हाउसलाई ओबामाको घर बनाउने चाँजोपाँजो मिलाउने काम सुरु हुन्छ।

नयाँ राष्ट्रपति फर्कनुअघि व्हाइट हाउसका आवासीय कर्मचारी छ घण्टा खट्छन् घरको व्यवस्थापनमा। मर्मतसम्भार कर्मचारी, सहयोगी कामदार, भान्छेसहित ९३ जनाको समूहका लागि यही ६ घण्टा सबभन्दा बढी व्यस्त हुनुपर्ने समय हो।

बेलुकी ५ बजेतिर ओबामा शपथग्रहण सकेर व्हाइट हाउस छिर्दा त्यो घरको भित्री साजसज्जा अर्कै भइसकेको हुन्छ। कुर्सी टेबुल कहाँ राख्ने, खाट कोठाको कुन कुनामा लगाउने, कुन कोठामा कस्तो खाट राख्ने, ओच्छ्याउन कसरी व्यवस्थित गर्ने यी सबै विषयमा त्यहाँका आवासीय सहयोगीले निर्णय गर्छन्। त्यसपछि ओबामाकी छोरीले कुन कोठा छान्लिन् त? त्यो एकदमै तनावपूर्ण समय हो। मैले आफ्नो हिस्साको काम सकिसकें।

व्यक्तिगत चीज
व्हाइट हाउसभित्रका फर्निचर तथा अन्य व्यक्तिगत सामग्री फेरि प्रयोग गर्ने कि नगर्ने भन्ने कुरा नयाँ आउने परिवारले निर्धारण गर्छ। यसअघि राष्ट्रपति बुसले आफूसँग धेरै फर्निचर तथा व्यक्तिगत सामान ल्याएका थिएनन्। उनीसँगै व्हाइट हाउस भित्रिएका सामानमा लुगाफाटो, किताब र तस्बिर बढी थिए। त्यतिखेर उनले टेक्ससमा नयाँ घर बनाएका थिए।

यो श्वेत महलमा बसोबास गरेका अधिकांश परिवार यहाँ पर्याप्त फर्निचर भएकाले छानीछानी प्रयोग गर्न पाइने बताउँछन्। संख्यामात्र होइन, ती फर्निचरको गुणस्तर पनि उच्च कोटीको हुन्छ। केही सामान्य फर्निचर पनि छन्, जसलाई परिवारले इच्छाअनुसार विभिन्न कोठामा विभिन्न तरिकाले सजाउन सक्छन्। व्हाइट हाउसभित्र एउटा गोदाम भएकाले अनावश्यक फर्निचर त्यहीँ लगेर राखिन्छ।

राष्ट्रपतिले दैनिक कामकाज गर्ने ´ओभल´ कार्यालयको परिवर्तनचाहिँ सबभन्दा गाह्रो काम हो। शपथग्रहणपछि सबभन्दा छिटो प्रयोगमा आउने कोठा पनि यही हो। कहिलेकाहीँ त नवनिर्वाचित राष्ट्रपति शपथग्रहणकै दिन यहाँ छिर्छन्।

यसबाहेक कोठाका गलैंचा, भित्तामा झुण्ड्याइएका कलाकृति, पुराना राष्ट्रपतिका तस्बिर र उनले प्रयोग नगर्ने चीजबीजहरू पनि कहिलेकाहीँ नयाँ ढंगले राखिन्छ। नयाँ परिवारका लागि घर सजाउँदा सबभन्दा महत्वपूर्ण र सबभन्दा बढी समय लाग्ने काम यो पनि हो।

अत्यन्त भावुक
मेरो समयमा व्हाइट हाउसभित्रको कुनै ´गसिप´ केही छैन। निवर्तमान राष्ट्रपति बुस बढी समय सर्वसाधारणबीच घेरिएर रहन्थे। उनी एकदमै भावकु मान्छे हुन्, आफ्ना पिताजस्तै। उनको परिवारका सदस्यसँग अत्यन्त राम्रो सम्बन्ध थियो। उनी एकदमै भलाद्मी र रसिलो स्वभावका व्यक्ति हुन्। त्यही भएर प्रधानमन्त्री टोनी ब्लेयरसँग उनको राम्रो सम्बन्ध कायम भएको मेरो विश्वास छ। उनीहरू दुवै ठट्यौला र मायालु स्वभावका थिए। अहिले उनलाई जुन ढंगले चित्रण गरिएको छ, इतिहासको कुनै समयमा गएर उनको कार्यकाललाई त्योभन्दा फरक र राम्रो तरिकाले हेरिनेछ भन्ने मलाई लाग्छ। शपथग्रहणको दिन म यो तामझाम सधैं सम्झन्छु। राष्ट्रपति परिवारसँग हुने प्रत्यक्ष सम्पर्कबाट म सधैं उत्साहित भएँ।

Monday, January 19, 2009

बर्डफ्लु नेपालको अहिलेसम्मको ठूलो समस्या : कृषि मन्त्री

वीरगन्ज माघ ५ कृषि तथा सहकारी मन्त्री जयप्रकाशप्रसाद गुप्ताले पूर्वी नेपालमा भेटिएको ´बर्डफ्लू´ मुलुकको वर्तमान सबै समस्याभन्दा बढी विकराल भएको बताएका छन्।
रिपोर्टस क्लब पर्साद्वारा आइतबार बिहान वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुप्ताले यसको निराकरणका लागि सम्पूर्ण देशबासी एकजुट हुनुपर्ने बताए। ´यो नेपालमा भएको सबैभन्दा ठूलो समस्या हो´, उनले भने– ´यसको समाधानका लागि सर्वसाधारण तथा संचारकर्मीलाई आ–आफ्नो तर्फबाट सहयोगी भूमिका खेल्न आग्रह गर्दछु।
केही दिनअघि नेपालको पूर्ववर्ती शहर काकडभिट्टामा बर्डफ्लू भेटिएपछि सरकार अत्यन्तै गम्भीर भएको उनले बताए। सुविधा सम्पन्न देशमा समेत निराकरण गर्न नसकेको यो समस्या नेपालजस्तो देशका लागि दुर्भाग्य भएको उनले सुनाए। ´म यसै मञ्चबाट विश्व खाद्य संगठन, युरोपियन युनियन, विश्व स्वास्थ्य संगठनलगायत्सँग सहयोगको आग्रह गर्दछु´, उनले थपे– ´यस विकराल समस्यासँग नेपाल एक्लै जुध्न सक्दैन। नेपाल बर्डफ्लू भेटिने संसारको ६६ औं अभागी देश बनेको मन्त्रीले सुनाए। आजैबाट पक्षी मारिने मन्त्री गुप्ताले प्रभावित क्षेत्रलाई लक्षित गरी आजबाट पक्षी तथा पक्षीजन्य पदार्थ नष्ट गर्न १० वटा ´किलिङ टोली´ त्यसतर्फ गएको जानकारी दिएका छन्। टोलीले ४–५ दिनभित्रमा प्रभावित क्षेत्रका हाँस, कुखुरा, परेवा, लौकाटलगायतका पक्षी मारिने उनले जानकारी दिए। साथै पक्षीसँग सम्बन्धित दानालगायत्का पदार्थ पनि नष्ट गरिने जानकारी दिए। त्यस भेगका केही मानिस उक्त अभियानको विरोधमा उत्रेकामा चिन्ता जनाउँदै मन्त्री गुप्ताले यस अभियानमा सहयोग गर्न त्यहाँका बासिन्दालाई आग्रह गरे। ´हाँस परेवाको मूल्य राजमार्गमा मारिएका पक्षीको क्षतिपूर्ति जसरी नमाग्न आग्रह गर्छु´, उनले थपे– ´मुलुकका अन्य भागमा यो समस्या नजाओस् भन्नाका लागि उहाँहरुले सहयोग गर्न जरुरी छ। हाँस, परेवाको मूल्य नपुगको भन्दै त्यहाँका बासिन्दाले विरोध गरेका हुन्। कार्यक्रममा मन्त्रीले अण्डा खाए होटल सम्झनामा आयोजित कार्यक्रमको समाप्तिसँगै आयोजकले उपलब्ध गराएको नास्तामा अण्डासमेत समावेश थियो। सीमावर्ती सहर वीरगन्ज संचारकर्मीले अण्डा खान अनकनाएपछि मन्त्री गुप्ताले प्लेटबाट अण्डा निकालेर कपाकप खाएका थिए। उनले अण्डा खाएको दृष्य खिच्न पत्रकारको तछाडमछाड भएपछि मन्त्री गुप्ता ´सेतो अण्डा त है नि´ भन्दै झस्केका थिए।

Saturday, January 17, 2009

चर्चित टेलिभीजन कार्यक्रम बहसका प्रस्तोता इन्द्र लोहनीको निधन

लामो समयदेखी नेपाल टेलिभीजनमा चर्चित रहेको कार्यक्रम बहसका संचालक इन्द्र लोहनीको माघ तीन गते (जनवरी १६ ) शुक्रबार काठमाडौंमा निधन भएको छ । समाचार स्रोतका अनुसार सांझ आफ्नै निवासमा अचानक ह्रिदयघात बाट उहांको निधन भएको हो । सांझ ९ बजे अस्पताल मा पुर्याउंदा उहांको निधन भैसकेको स्रोतले जनाएको छ । झापा घर भएका लोहनीको श्रीमती र २ छोरी हुनुहुन्छ् ।

Friday, January 9, 2009

एमालेमा महासचिवको प्रतिवेदन लामो भएकामा विरोध

अराजक व्यवहार रहेसम्म एमाले माओवादीप्रति नरम हुन नहुनेविद्या चापागाईं, काठमाडौं पुस २४सत्तारुढ नेकपा एमालेमा केन्द्रीय सदस्यहरुले महासचिव झलनाथ खनालको राजनीतिक प्रतिवेदन लामो भएकामा रोष प्रकट गर्दै त्यसलाई छोटो बनाउन माग गरेका छन्। एमालेको जारी २३ औं बैठकमा बिहीबार बोल्ने सदस्यहरुले लामो राजनीतिक प्रतिवेदन लामो भएको उल्लेख गर्दै स्थानीय तहका आमकार्यकर्ता तहसम्म लैजानुअगाडि त्यसलाई छोटो बनाउन दबाब दिएका हुन् । बैठकमा महासचिवले प्रस्तुत गरेको प्रतिवेदन ८० पेज लामो छ । एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार बैठकमा सदस्यहरुबाट प्रतिवेदनमा सातौं महाधिवेशनपछिको उपलब्धि र पार्टीका कमजोरीका विषयलगायत राज्यको पुनस्रंरचनाको सवाललाई प्रतिवेदनमार्फत् नै समेट्नुपर्ने सुझाव आएको जानकारी दिए । ´प्रतिवेदनमा कतिपय कुरा दोहोरिएका छन् भने राज्यको पुनस्रंरचनालगायतका कतिपय सवाल छुटेकाले तिनलाई पनि समेट्नुपर्छ भन्ने विषयमा बैठकमा छलफल भयो´ उनले भने । आसन्न आठौं महाधिवेशनको तयारी तथा त्यसमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनलगायतका दस्तावेजलाई अन्तिम रुप दिन एमालेको मंगलबारदेखि २३ औं केन्द्रीय कमिटीको बैठक बसिरहेको छ। एमाले स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले बैठकमा जनताको बहुदलीय जनवादले एमालेको कार्यदिशा निर्देश गर्ने भएकाले त्यसलाई समयअनुसारको थपघट गर्दै समृद्ध बनाउनुपर्ने तर यसको विकल्प भने खोज्न नहुने विषयमा छलफल भएको जानकारी दिए।स्रोतका अनुसार बैठकमा वक्ताहरुले वाईसीएलको अराजक गतिविधि बढेकाले एमालेले माओवादीप्रति नरमपना देखाउन नहुने धारणा व्यक्त गरेका छन्। माओवादी र एमालेको राजनीतिक धार अलग भएका कारण माओवादीसँग कुनै पनि हालतमा पार्टीको कार्यगत एकता हुन नसक्ने विचारसमेत उनीहरुको थियो। एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार ´कतिपय सवालमा माओवादीसँग सहकार्य गर्न सकिन्छ भने कतिपय कुरामा उनीहरुसंग सघर्ष पनि गर्नुपर्ने हुन्छ´ भन्दै सदस्यहरुले बैठकमा राजनीतिक हिसाबले अघि बढ्ने क्रममा कतिपय सवालमा माओवादीलाई रुपान्तरण पनि गर्न सकिने भएकाले तीन शब्द सहकार्य संघर्ष र रुपान्तरणलाई प्रतिवेदनमा राख्नुपर्ने सुझाव दिए ।कतिपय सदस्यले संविधानसभामा ६० प्रतिशत सदस्य वामपन्थीले जितेका छन् भन्दै महासचिवले माओवादीको विजयलाई पनि एमालेको उपलब्धिको रुपमा व्याख्या गरेकामा आपत्ति प्रकट गरेका थिए । उनीहरुले माओवादीविरुद्ध कडा रुपमा प्रस्तुत हुन सरकारमा रहेका आफ्ना नेताहरुलाई आग्रह गरेका थिए ।बैठकमा रघु पन्त रवीन्द्र श्रेष्ठ केदार न्यौपाने राजेन्द्र पाण्डेसहितका १३ केन्द्रीय सदस्यले महासचिव खनालको प्रतिवेदनमाथि बोलेका थिए । प्रतिवेदनमाथिको छलफल शुक्रबारसम्ममा सकिने स्रोतले जनाएको छ । बैठकमा बिहीबारसम्म जम्मा २५ सदस्यले बोल्ने क्रम सकिएको छ । बैठक शुक्रबार बिहान ११ बजेदेखि पुनः बस्नेछ।

Thursday, January 1, 2009

पशुपतिमा ताल्चा काटेर मूल पुजारीको प्रवेश , सर्वोच्चद्वारा नयां पुजारीलाई पुजाआजा गर्न नदिन अन्तरिम आदेश

पशुपति पश्चिमतर्फको मुख्य ढोकाको ताल्चा काटेर मूल पुजारी डा. विष्णुप्रसाद दाहाललाई पशुपतिभित्र प्रवेश गराएपछि दाहालले पूजापाठ सुरु गरेका छन्। आधुनिक नेपालको इतिहासमै पशुपतिको ताल्चा काटिएको यो पहिलो घटना हो। त्यसअघि मुस्लिम आक्रमणकर्ता गयासुद्दिनले उक्त मन्दिरमा जवर्जस्ती प्रवेश गरेका थिए। बासुकी मन्दिरका निवर्तमान भट्टले रामचन्द्रले साँचो दिएपछि बासुकी मन्दिरको भने ताल्चा काट्नु परेन। यतिबेला बासुकी मन्दिरका पुजारी शालिग्राम ढकाल मन्दिर बाहिर रहेर पाठ गरिरहेका छन् भने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र प्रहरीहरु काटिएको ताल्चाको मुचुल्का तयार पारिरहेका छन्। यसैबीच कोषले मन्दिरको सुरक्षाका निमित्त सिनामंगलस्थित सशस्त्र प्रहरीलाई पत्र लेखेको छ। मन्दिर क्षेत्र अहिले प्रहरी नियन्त्रणमा छ भने परिसरभित्र सर्वसाधारणको प्रवेश अझै खुलेको छैन। ताल्चा काट्ने समूहको नेतृत्व माओवादी भातृसंगठन नेवा राष्ट्रिय मुक्ति मोर्चाका महासचिव पवनमान शाक्यले गरेका थिए।
उता सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा नियुक्त पशुपतिनाथका मूल पुजारी विष्णु दाहाल र पुजारी शालिकराम ढकाललाई पुजाआजा गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश बलराम केसीले सरकार र पशुपति विकास कोषका नाममा पुजारी सम्बन्धी परेको रिटमा अन्तिम फैसला नभएसम्मका लागि दाहाल र ढकाललाई पुजाआजा गर्न नदिन आदेश जारी गरेका हुन्। आदेशमा पुरानै मूल भट्ट र भट्टलाई पूजाआजा गर्न दिन सरकारलाई निर्देश गरिएको छ।

Wednesday, December 24, 2008

घोर निन्दा र भ्रत्सना

माओवादीका भातृ सँगठनहरु द्वारा मिडिया माथि भैरहेको शृँखलावध्द आक्रमणको पछिल्लो चरणमा यही पुष ६ गते माओवादीको मजदुर भातृसँगठनले प्रतिष्ठित हिमाल मेडिया माथि गरेको कायरतापूर्ण आक्रमणको हामी घोर निन्दा र भ्रत्सना गर्दछौँ।
माओवादीका भातृ सँगठनहरु द्वारा मिडिया माथि भैरहेको शृँखलावध्द आक्रमण मानव अधिकार, प्रेस अनि अभिव्यक्ति स्वतन्त्रता जस्ता लोकतन्त्रका आधारभूत मुल्य र मान्यता प्रति नाङगो आक्रमण हो। जुनसुकै वाहनामा आक्रमण गरिएको भएता पनि हिमाल मेडियामा गरिएको आक्रमण नित्तान्त अपराधिक कार्य हो र यस्ता अपराधिक कार्यमा सँलग्न दोषीहरु माथि तत्काल कानून अनुशार कारवाही चलाइ विधिको शासन र लोकतन्त्र प्रति माओवादीहरुको विश्वास युक्त प्रतिवध्दताका लागि जोडदार माग गर्दछौँ।

भवदिय,
महेश कुमार श्रेष्ठ परमेश्वर पोखरेल
अध्यक्ष महासचिव
नेपाली जन सँपर्क समिति जापान
मिति: २३ डिसेमवर २००८

Sunday, December 21, 2008

हिमाल मिडियामा माओवादी आक्रमण

काठमाडौं, नेकपा माओवादीका कार्यकर्ताको ५० जनाको समूहले आइतबार मध्याह्न १२ बजे हिमाल खबर पत्रिकाको हात्तीवनस्थित समाचार कक्ष र छापाखानामा प्रवेश गरी प्रकाशक, पत्रकार र कर्मचारीमाथि आक्रमण गरी कार्यालय तोडफाड गरेका छन्। हिमाल मिडियाका प्रकाशक तथा नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षितसहित कार्यकारी निर्देशक आशुतोष तिवारी, फाइनान्स अफिसर बिन्दिरा शाक्य र पत्रकार डम्बर श्रेष्ठ माओवादी आक्रमणमा घाइते भएका छन्।
माओवादी समर्थित अखिल नेपाल रेष्टुराँ मजदुर संघका अध्यक्ष रमेशबाबु पन्तको नेतृत्वमा रहेको झण्डै ५० जनाको टोलीले आक्रमण गरेको हिमाल मिडियाले जनाएको छ। पत्रकार किरण नेपालका अनुसार मजदुर निकाल्ने र त्यसका विरुद्ध समाचार लेखेको भन्दै उनीहरुले आक्रमण गरेका थिए।
सम्पादक दीक्षितले दिएको जानकारीअनुसार आक्रमणकारीमध्ये माओवादी मजदुर संघका रमेश केसीको पनि पहिचान भएको छ। आक्रमणका लागि आएका पचास जनामध्ये २५ जना जब्बरजस्ती कार्यालयमा पसेको र अन्य २५ जना बाहिर बसेको हिमाल मिडियाले जनाएको छ। उनीहरूले पत्रिकाको वैठक कक्षमा तोडफोड गरेको र झ्यालका शिशा फुटाएका छन्।यसैबीच नेकपा एमाले र नेपाली कांग्रेसका सभासद् तथा नेता‍हरूको टोलीले घटनास्थलको निरीक्षण गरी हिमाल खवर पत्रिकाका प्रकाशक र सम्पादकसँग घटनाबारे जानकारी लिएका छन्।एमाले नेता केपी ओली, अमृत बोहरा, ईश्वर पोख्रेल तथा कांग्रेसका नवीन्द्रराज जोशीले माओवादी अराजकताको कारण यस्तो घटना भएको प्रतिक्रिया दिएका छन्। एमाले नेता ओलीले घटनालाई माओवादी सत्ता उन्मादको पराकाष्ठा भनेका छन्। उनले सभ्य समाज, कानुनी राज र प्रेस स्वतन्त्रताको खिल्ली उडाएको प्रतिक्रिया दिएका छन्।यसैबीच एमाले र माओवादीबीचको आइतबार बस्ने भनिएको बैठकमा पनि यस घटनाले प्राथमिकता पाउने भएको छ। एमाले नेता ओलीले यस घटना बैठकको प्रमुख एजेन्डा हुने जानकारी संचारकर्मीलाई दिएका छन्।उता कांग्रेस सभासद् जोशीले घटनाको निष्पक्ष छानविन नभएसम्म संसदको कारवाही अवरुद्ध पार्ने बताएका छन्।तर रेष्टुराँ मजदुर संघका अध्यक्ष पन्तले भने घटनामा आफ्नो सहभागिता नभएको जिकिर गरे। ´म अन्यत्रै बैठकमा छु´ उनले दैनिकीलाई संक्षिप्त प्रतिक्रिया दिए। उता केही समयअगाडि हिमाल मिडियाबाट अवकास दिइएका माओवादी सम्बद्ध छापाखाना मजदुर संघ हिमाल मिडियाका अध्यक्ष दीपक भनिने टंक संग्रौलाले आफूहरूको त्यसमा संलग्नता नभएको र बदनाम गराउने षडयन्त्र भइरहेको प्रतिक्रिया दिएका छन्।हिमाल मिडियामाथि दुई महिनायता भएको यो तेस्रो आक्रमण हो। यसअगाडि कार्यकारी निर्देशक तिवारीको गाडीका सिसा फुटाइएको थियो भने हिमालको मंसिर अंक जलाइएको थियो।हिमाल पत्रिकाको यस अंकमा माओवादी मजदुर भातृसंगठनका कारण देश धरासायी हुँदै गएको खवर प्रमुखता साथ छापिएको छ।
नेपाली कांग्रेसले पनि घटनाको भत्सना गरेको छ। कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले हिमाल मिडियामा हिमाल मिडियामा भएको आक्रमणको पनि विरोध गरे। मिडियामाथिको आक्रमण लोकतन्त्र, प्रेस स्वतन्त्रतामाथिकै आक्रमण भएको जनाउँदै यस्ता क्रियाकलापले माओवादीको सर्वसत्तावादी चरित्र देखिएको बताए।
कांग्रेसकी सभासद कमला पन्तले पनि माओवादीद्वारा हिमाल मिडियामा भएको आक्रमणको बचाउ गर्ने माओवादी सभासद् शालिकराम कट्टेलको अभिव्यक्तिप्रति कडा आपत्ति जनाइन्। ´कर्मचारीको निकालिएका छन् भने त्यसका लागि कानुनी प्रक्रिया छ।´ उनले भनिन, "यो तरिकाले आक्रमण गर्नु निन्दनीय छ।´
यसैबीच हिमाल मिडियामा आक्रमण गरेको घटनाको रिपोर्टर्स क्लब नेपालले भर्त्सना गरेको छ। क्लब अध्यक्ष ऋषि धमलाले जारी गरेको विज्ञप्तिमा घटनालाई सिंगो प्रेसमाथिको नांगो आक्रमण भन्दै त्यसविरुद्ध प्रेस र न्यायप्रेमी नागरिकहरु एकजुट भई उभिनुपर्ने अवस्थाआएको उल्लेख गरिएको छ ।´प्रेसको बैठक कक्षमै आक्रमण गरी आक्रमण गर्ने दुष्प्रयास सभ्य समाजका लागि सह्य हुनसक्दैन । यसबारे माओवादीले आफ्नो धारणा प्रष्ट पार्नुपर्छ,´ विज्ञप्तिमा छ। सरकारले प्रेसमाथि सुरक्षा दिन नसकेको भन्दै विज्ञप्तिमार्फ् क्लबले तत्काल शान्तिसुरक्षाको गयारेन्टी गर्न भनेका छन्।साँझ हिमाल मिडियामा भएको आक्रमणको घटनाको निरीक्षण गर्न पुगेका सत्तारुढ एमालेका महासचिव माधवकुमार नेपालले घटनालाई ´प्रेस स्वतन्त्रता विरुद्धको काम´ भनेका छन् । उनले हिमालका सम्पादक तथा सहकर्मीहरुलाई नआत्तिन समेत ढाढस दिए ।उक्त घटनाको विरोधमा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको बैठक समेत वहिष्कार गरेको जानकारी उनले दिए । "यसको विरोधमा आज अपरान्ह ४ बजेको बैठक यसैको विरोधमा बहिष्कार गरेका छौं", उनले भने । "प्रेस स्वतन्त्रतामाथि अधिनायकवादी सोचबाट प्रेरित भई पटक-पटक आक्रमण भएको छ ।

Monday, December 15, 2008

व्यापारीमाथि गोली प्रहार

वीरगंज,२९ - अज्ञात समूहले आइतबार साँझ वीरगंज व्यापारीमाथि गोली प्रहार गरेको छ। साँझ ६ बजेतिर उक्त समूहले वीरगंज महावीरस्थानस्थित आयुर्वेदीक पसलमा बसेका विश्वनाथ भगत माथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
दाहिने कुममा गोली लागेका भगतको वीरगंजस्थित ए एमसी अस्पतालमा उपचार भइरहेको छ। अस्पताल सूत्रका अनुशार उनको अवस्था खतरा मुक्त छ। खुद्रा व्यापारसंघका अध्यक्षसमेत रहेका भगतमाथि गत जेठमा समेत गोली प्रहार भएको थियो।
यसै वीच मधेशी मुक्ती टार्इगस नामक सशस्त्र समूले स्थानीय संचारकर्मीलाई टेलीफोन गरी घटनाको जिम्मेवारी लिएको छ। सुल्तानको कमाण्डमा गएको टोलीले विश्वनाथ माथी गोली प्रहार गरेको सो समूहको दावी छ।
जेठको घटनाको विषयमा विश्वनाथको उजुरीमा प्रहरीले आफ्नो कार्यकर्ता पक्राउ गरेकाले उनलाई बदला लिएको सो समूहले दावी गरेको छ।

इराक भ्रमणमा रहेका अमेरिकी राष्ट्रपती बुश माथी जुत्ता प्रहार

राष्ट्रपती कार्यकालको अन्तीम समयमा इराकको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपती जर्ज डब्लु बुश माथि जुत्ता प्रहार भएको छ । डीसेम्बर १४ तारिकका दिन बग्दादमा उनी पत्रकार सम्मेलनमा बोलीरहेका बेला त्यहां रहेका पत्रकारको भिडबाट एकजना टेलिभीजन पत्रकारले ड्यास मा रहेका बुशमाथि एक्कासी जुत्ता प्रहार गरे । तर बुशले त्यस जुत्तालाई छल्न भने सफल भए । पत्रकारले लगातार दुई पटक सम्म जुत्ता प्रहार गर्ने बित्तिकै त्यहां रहेका सुरक्षाकर्मी र अन्य पत्रकारले जुत्ता प्रहार गर्ने पत्रकारलाई रोकेका थिए । जुत्ता प्रहार पछि बुशले जुत्ता १० नं (२७ से.मी) को थियो भन्दै सम्मेलनमा जोक गरेका थिए । आफ्नो कार्यकालको सायद अन्तिम इराक भ्रमणमा रहेका बुशले आफ्नै आंखा अगाडि यस्तो बेईज्यती सहनु परेको छ ।

Friday, December 12, 2008

लश्करे तोइबाका नाइके घेराबन्दीमा

इस्लामाबाद, मंसिर २६ (एजेन्सी) मुम्बई आक्रमणमा मुख्य दोषी मानिएका मुस्लिम लडाकु नेतालाइ घरमै बसिरहेको बेला घेराबन्दी गरिएको बीबीसीले जनाएको छ। घेराबन्दीमा परेका यी हाफिज मोहम्मद सइदलाइ भारतले लश्करे तोइबाका नाइकेको रुपमा उल्लेख गर्दै आएको थियो। अधिकारीहरुका अनुसार जमाते उद दावा नामको यसको एउटा सामाजिक संगठन समेत बन्द भइसकेको छ। राष्ट्रसंघले यसलाइ लडाकुहरुकै संगठनका रुपमा उल्लेख गरेपछि यसो भएको हो। केहि दिनअघि मुम्बई काण्डमा एक सय ७० को मृत्यु भएको थियो। त्यसका निम्ति पाकिस्तानी लडाकु समूहलाइ भारतले दोषी ठहर गर्दै आएको छ।

Wednesday, December 10, 2008

नेसाजद्वारा संकलित रकम हस्तान्तरण


नेपाली विद्यार्थी समाज जापान (नेसाज) द्वारा नेपालका बाढी-पीडितहरुको सहयोगको लागी संकलित रकम प्रधानमन्त्री दैवी सहायता तथा उद्दार कोष मा जम्मा हुने गरी महामहिम राजदुत डा. गणेश योंजन तामाङ लाई नेपाली राजदुतावास टोकियो मा आयोजीत एक कार्यक्रम बीच हस्तान्तरण गरियो । नेसाजका कान्तोऊ-क्षेत्रका उपाध्यक्ष माधब प्रसाद सेढाईं र सचिव राजेन्द्र पराजुलीले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको उक्त रकमको राषी ५०,००० येन रहेको छ । डिसेम्बर ९ तारिख मंगलवारका दिन उक्र रकम हस्तान्तरण कार्यक्रममा राजदुत डा. तामाङले नेसाजको यस किसिमको कार्यको लागी धन्यवाद दिनुहुदैं नेसाजले आउने दिनमा अझै राम्रा कामहरु गर्ने र त्यसको लागी आफुहरुले सक्दो सहयोग गर्ने कुरा बताउनुभयो । कार्यक्रममा नेपाली राजदुतावासका उप-नियोग प्रमुख दुर्गा बहादुर सुवेदी (दुवसु) क्षेत्री को पनि उपस्थिती रहेको थियो । उहांहरुले जापानमा रहेका विद्यार्थीहरुको बारेमा आफुहरुले पनि केहि नयां कार्यक्रम ल्याउने सोच बनाईरहेको र त्यसको लागी सहयोग गर्न नेसाजलाई आग्रह गर्नुभयो । नेसाजका प्रतिनिधी माधव प्रसाद सेढाईं र राजेन्द्र पराजूलीले नेसाजका गतिबिधी र नेसाजका भावी योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

Sunday, December 7, 2008

सभापति कोइराला अस्पतालमा

महेन्द्रगरको सभालाई मंसिर २१ गते सम्वोधन गरेर २२ गते राजधानी आईपुगेका नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आकश्मिक रुपमा अस्पताल भर्ना गरिएको छ ।मंसिर २२ गते दिउँसो महेन्द्रनगरबाट हेलिकप्टर चढेर काठमाडौ आइपुगेका कोइरालालाई अहिले बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रको आकश्मिक कक्षमा राखिएको छ । कोइरालालाई अहिले अक्सिजन दिएर राखिएको छ । कोइरालाले हिजो महेन्द्रनगरमा पार्टीको सभालाई सम्वोधन गरेका थिए । कोइरालाको स्वास्थ्य अवस्थाको बिस्तृत बिवरण प्राप्त हुन बाँकि छ ।

Tuesday, December 2, 2008

तावाबाट फुत्केको माछा भुङ्ग्रोमा

– महेश्वर श्रेष्ठ
(१) गत साउन १९ गते काठमाडौं खड्गभद्रकालीबाट डा. उपेन्द्र देवकोटाकी छोरी अपहरण गरी १ करोड ३० लाख रकम असुल गर्ने मध्ये नगरकोट गाविस–४ का सिद्धार्थ लामा र राजु लामा पक्राउ। विभिन्न अपराधिक घटनामा संलग्न यी अपहरणकारीहरु मध्ये ४ जना अझै फरार। (२) गत कार्तिक २९ गते एक महिला सहित ८/९ जनाको समुहले काठमाडौं चुनदेवीबाट टिकाराम राईको अपहरण, साथमा रहेको ७ लाख ५० हजार लुटपाट, ३९ लाख पछि तिर्ने तमसुक बनाई मुक्त। अभियुक्तहरु मध्ये रामेछापका सूर्यबहादुर सुनुवार र भरत कार्की पक्राउ। रामेछापकै गुन्दास सुनुवार, हेटौडाका उर्गेन लामा र कृष्ण लामा, हङकङ बस्ने डम्बरकुमारी राना र डि.बि. चन्द र अन्य २ जना अझै फरार। (३) काठामाडौं भेडासिंह बस्ने लोकबहादुर नेपालीको साथमा रहेको ३ लाख २५ हजार डकैती गर्ने दोलखाका विष्णु सार्की र भक्तपुरका धनबहादुर तामाङ पक्राउ। (४) आज बिहान बा१ख ६८२६ नम्बरको कान्तिपुर यातायातको यात्रुहरु लुट्ने प्रयास गरेका लुटेराहरुलाई प्रहरीले पीछा गर्दा फायर गर्दै भाग्न खोजेकाले महाराजगञ्ज तिर्लिङटारमा प्रहरीद्वारा जवाफी फायर। लुटेराहरु मध्ये रामेछापका रामबहादुर गदाली र भक्तपुरका महेश्वर गौतम घाइते अवस्थामा पक्राउ। अन्य ४ जना लुटेराहरु हतियार सहित फरार। (५) काठमाडौं सामाखुसी बस्ने गणेश अधिकारीको २ लाख २० हजार लुटेर भाग्दै गरेका भारत रक्सौल घर बताउने अमर दासलाई त्रिपुरेश्वरका स्थानीय व्यक्तिहरुले पक्राउ गरी प्रहरीलाई बुझाए। (६) गत राती सौच गर्न घर बाहिर निस्केका सिरहा जिल्ला राधोपुर–६ का विजय यादवलाई मुखमा पट्टी बाँधेका ७/८ जना हतियारधारी समुहले कुटपिट गर्दा होहल्ला भए पछि त्यसको प्रतिकारमा उत्रेका स्थानीयवासी माथि सो समुहद्वारा गोली प्रहार हुँदा सोही ठाउँ बस्ने रामबहादुर यादवको मृत्यु। (७) हिजो अपरिचित व्यक्तिहरुले नुवाकोट घर भई काठमाडौं मनमैजु बस्ने राजकुमार तामाङ माथि धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते। (८) गत राती सौच गर्न घर बाहिर निस्केका रुपन्देही जिल्ला बोधबार गाविस बस्ने गंगा चौधरी माथि अज्ञात समुहले गोली प्रहार गर्दा घाइते। (९) गोरखा बगुवाका सुजनबाबु श्रेष्ठको काठमाडौं खुसिबुँ स्थित पसलबाट नगद, घडी, मेमोरी कार्ड, मोबाइल सेट लगायत ८ लाख भन्दा बडीको धनमाल चोरी। (१०) दैलेख जिल्ला बडाभैरब गाविस खोरगाउँ स्थित खानेपानीको धारामा बेवारिसे बम बिस्फोट हुँदा ११ वर्षीय मानबहादुर नेपाली गम्भीर घाइते। (११) पाल्पा तानसेनबाट करिब ५० किमि पूर्व पर्ने खालिवन–६ का लेखबहादुर मार्फाक र उनकी श्रीमती खगिसराको आफ्नै गोठमा अज्ञात हत्याराद्वारा धारिलो हतियार प्रहार गरी हत्या। (१२) जुम्लाबाट सुर्खेत आउँदै गरेको लु१च २४१३ नम्बरको यात्रुबाहक जीप कर्णाली राजमार्ग नाउले जंगलमा मुढा तेर्स्याएर बसेका ४ जना लुटेराहरुले जीप रोकी यात्रुहरुबाट २ लाख रुपिया लुटे। (१३) गत शनिवार आगो ताप्ने कुरालाई लिएर स्थानीय वासिन्दासंग झगडा गरेका नेपाल सदभावना पार्टीका संविधान सभासद खोभरी रायले हिजो राती मादक पदार्थ सेवन गरेर आई स्वयम्भू ठूलो भर्‍याङ स्थित आफ्नै निवास अघिल्तिर अन्धाधन्ध गोली प्रहार। (१४) गए राति प्रहरी चेकिङमा त्रिचन्द्र क्याम्पस स्ववियु सदस्य पुरुषोत्तम महत र अनिल थापा हतियार सहित पक्राउ परेकोमा उनीहरुको रिहाईको माग गर्दै क्याम्पस विद्यार्थीहरुद्वारा यातायात अवरुद्ध। (१५) काठमाडौं सामाखुसिका एकजना स्थानीय व्यक्तिलाई आक्रमण गर्न आएका वाइसिएल नेता मिलन लामा स्थानीय वासिन्दाको प्रतिकारमा घाइते, निजमाथि कार्वाहीको माग गर्दै टायर बालेर यातायात अवरुद्ध। (१६) गत शनिवार पिकनिक मनाएर फर्किरहेका कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरु चढेको गाडीले ट्राफिक नियम उल्लंघन गरेको भनी प्रहरीले चालकको लाईसेन्स खोसेको विवादमा उत्रेका केहि विद्यार्थीलाई नियन्त्रणमा लिएको विरोधमा विद्यार्थीहरुद्वारा महाराजगञ्जमा आधा दर्जन गाडी तोडफोड। (१७) मोरङ कटहरी–७ बस्ने मालिकचन्द पासवान, तिलक पासवान र हरेराम पासवान गत ७ गते कटुवा पेस्तोल र एसएलआर गोली सहित पक्राउ। (१८) पेशेवर लुटेरा बताइने सिन्धुपाल्चोक थाङपालधाप–९ घर भएका विजयकुमार स्याङतान सहित ३ जना गत ७ गते काठमाडौं जोरपाटी–६ अत्तरखेल स्थित मेडिकल कलेज अगाडि धारिलो हतियार सहित शंकास्पद तरिकाले हिंडिरहेको अवस्थामा पक्राउ। (१९) अज्ञात व्यक्तिबाट अपहरित ओमप्रकाश चौधरी हिजो बिहान सवा ८ बजे बाराको छातापिपरास्थित मलैही खोलाको पूर्वपट्टि चौरमा टाउको र पिठ्युमा गोली प्रहार गरी हत्या गरेको अवस्थामा फेला। ..... आदि इत्यादि।
माथि उल्लेखित विवरण २०६५ मंसीर १० गते पंक्तिकारले पढ्न पाएको केहि अपराध सम्बन्धि मंसीर ९ गतेको समाचार सार हो। आलोचना र विरोधमा धेरै कुरा गरियो, धेरै कुरा लेखियो, अब सकारात्मक पक्षमा बढी कलम चलाउँ भन्ने ईच्छा सहित “नयाँ नेपाल : नौलो तिहार” र “पूँजी निर्माणको एउटा अर्को स्रोत” शीर्षक दुई वटा लेख लेखेको लगत्तै काठमाडौं सिउचाटारका दुई होनहार युवकहरु पुष्कर डंगोल र निर्मल पन्तको झण्डै महिना दिन अघि धादिङमा भएको अपहरण र बेपत्ता पछि विभत्स हत्या गरी खाल्डोमा पुरिएको अवस्थामा लास भेटिएको समाचारले मेरो दिमाग स्तव्ध भयो, मुटु छियाछिया भयो। त्यस पछि सुदूरपश्चिममा किसानहरुले घाम पानी नभनी पसिना काढेर दुखः गरी फलाएको धान संगठित डाँकाहरुले लुटेको, काठमाडौं पुतलीसडक स्थित पारागन स्कूल बन्द गर्न असल नागरिक उत्पादन गर्ने दायित्व बोकेका बन्द पक्षधर शिक्षहरुले ढुंगामुढा गरी स्कूलको भौतिक सम्पति तोडफोड गरेको, बन्द बारे अनभिज्ञ पठन–पाठनमा व्यस्त शिक्षक–विद्यार्थीलाई घाइते पारेको समाचारले मन झनै अशान्त भयो र मेरो नियमित लेख्ने दिन शुक्रबार मंसीर ६ गते केहि लेख्न सकिंन।
हो, सबै चीज गतिशील हुन्छ। मानव समाज पनि गतिशील हुन्छ। त्यसैले नेपाली समाज पनि गतिशील छ। त्यसकोे स्वाभाविक गतिलाई कसैले रोक्न सक्तैन। तर त्यो गतिशील मात्र भएर हुँदैन। त्यो सहि दिशा तर्फ बढीरहेको छ कि गलत दिशा तर्फ ? यो प्रश्नको उत्तर अहम महत्वको हुन्छ। अहिले हाम्रो समाजमा अकल्पनीय अराजकता, मारकाट, लुटपाट र चरम दण्डहीनताको अवस्था व्याप्त छ। शासकहरु यस स्थितिलाई नियन्त्रण गरेर आफ्नो कर्तव्य पालन गर्नु र नागरिकहरुलाई शान्ति सुरक्षा र राहत प्रदान गर्नुको सट्टा त्यसैलाई राजनीतिक मुद्दा बनाएर आआफ्नो अस्तित्व जोगाउने, वर्चस्व बढाउने, राज्यसत्तामा कब्जा जमाउने र अनेक बहाना गरी जनताको पसिनाबाट निर्मित राज्यकोष लुँड्याउने काममा मात्र तल्लिन छन्। सामाजिक सम्बन्ध, मूल्य, मान्यता र नैतिकताको स्तर यति तल गिरिसक्यो कि त्यसले मानिसलाई हदै दर्जाको स्वार्थी, सम्वेदनहीन र अपराधिक बनाउँदै लगेको छ। मानिसहरुमा छिमेकीसंगको सानोतिनो झगडामा समेत मारकाट गर्ने, गुण्डा लगाउने, निर्दोष बालबच्चा अपहरण गर्ने वा हत्या समेत गर्ने सम्मको जघन्य अपराधिक मानसिकता विकास भएको छ।
नेपालमा अहिले अत्यावश्यक सबै कुराको अभाव छ, अनियन्त्रित महंगी व्याप्त छ। जलस्रोतमा विश्वको दोस्रो धनी मुलुक भनिने हाम्रो देशमा प्रशस्त वर्षापछि पनि दिनको १० घण्टा लोडशेडिङ भइरहेको छ। लामो समय अघिदेखिको खानेपानीको हाहाकार यथावत कायमै छ। विश्व बजारमा प्रचलित मूल्य भन्दा दोब्बर महंगो पेट्रोल डिजेल पनि सजिलै किन्न पाईंदैन, पाइए पनि मिसावटले गर्दा जनता मारमा परिरहेकै छन्। खाद्यवस्तु यति महंगो छ कि सर्वसाधारणको दैनिक जीवन अत्यन्त कष्टकर बनेको छ। स्तरीय स्वास्थ्य सेवा सर्वसाधारणको पहुँच भन्दा धेरै टाढाको कुरा बनेको छ। कुनै कडा रोगको उपचार गर्नु भनेको सम्पूर्ण परिवार माथि आर्थिक दुर्भाग्यको पहाड खस्नु जत्तिकै छ। कहाँ कहिले कसले के कारण बजार बन्द गर्ने हो, यातायात अवरुद्ध गर्ने हो, कसैलाई थाहा पत्तो हुन्न। काम गर्छु भन्दा पनि सुख छैन। कसले कति बेला आएर लुट्ने हो ठेगान छैन। यस्तो दुरावस्थाबाट दिक्क भएर आफ्नो पौरखमा बाँचन चाहने सबै तह र तप्काका स्वाभिमानी मानिसहरुको विदेश पलायन तीब्र भएको छ। देशमा बालबच्चा, बुढाखाडा, चोरडाँका, लुच्चालफंगा, जालीफटाहा, लुटेराहत्याराको जनसंख्या बढ्दो छ।
यहाँ कुनै कुरा सुलभ छ भने त्यो हतियार हो। त्यसका लागि आवश्यक गोलीगट्ठा हो। सत्तासीन राजनीतिक शक्तिहरुकै भातृ–भगिनी संगठन र सशस्त्र समूहहरुका लागि चाहिने भएको हुँदा त्यसका लागि आयात ईजाजत लिनु पर्दैन, भंसार महसुल तिर्नु पर्दैन। घरेलु उत्पादन हो भने निर्माण स्वीकृति लिनु पर्दैन, अन्तशुल्क तिर्नु पनि पर्दैन। त्यसैले आजकाल हिजोका चवन्नी पाकेटमारहरु पनि पेस्तोल भिरेर हिंड्ने, खुल्लमखुल्ला दिउँसै डकैती गर्ने, तिनको प्रतिकारमा उत्रनेलाई गोलीले भुट्दै मार्दै हिंड्ने भएका छन्। यहाँ कुनै कुरा सस्तो भएको छ भने त्यो मानिसको ज्यान हो। त्यसैले पुष्कर डंगोल र निर्मल पन्तको निर्मम हत्या प्रसंग सेलाउन नपाउँदै काठमाडौं ताहाचलका २ किशोरहरु रितेश रौनियार र आशिष मानन्धरको लास अत्यन्त क्रूरतापूर्वक हत्या गरी काठामाडौं थानकोट नजिकको जंगलमा फालिएको अवस्थामा भेटिएका छन्। यी कल्कलाउँदा सुकोमल किशोरहरुलाई कसले किन मार्‍यो कसैलाई थाहा हुन सकेको छैन। सोखका लागि स्वीकृति लिएर जंगलमा जनावरको शिकार गर्नुको सट्टा गाउँ–वस्ती, शहर–बजारमै "मानिस"ले मानिसको मनपरी शिकार गर्ने हत्यारो संस्कार विकास भएको छ।
हिजोका ट्यापे, झ्यापे र टापटिपेहरु, जताततै उधारो खाएर पैसा कहिंकतै नतिर्नेहरु, जोसंग पनि सापटी लिएर कहिल्यै नफर्काउनेहरु, राम्रो घरघडेरी दिलाई दिन्छु भनी बैना पचाउनेहरु, वैदेशिक रोजगारीमा लगाई दिन्छु भनी सोझा मानिसहरुसंग मोटो रकम लिएर दिल्ली बम्बैमा अलपत्र छोडेर आउनेहरु, सिधासादा युवतीहरुलाई राम्रो काममा लगाई दिन्छु भनी विदेशका बेश्यालयमा बेच्न लानेहरु, एकान्त दोबाटो कुरेर यात्रु-बटुवा लुट्नेहरु, ट्याक्सी चढेर उल्टै चालकलाई लुट्नेहरु, भ्रष्टाचारको अभियोगमा नोकरीबाट बर्खास्त भएकाहरु, अनेक अपराधको आरोपमा प्रहरीको कालोसूचीमा परेकाहरु, एक ठाउँमा आफ्नो घरखेत हुँदाहुँदै अर्को ठाउँमा सुकुम्बासी बन्न जानेहरु, अर्काको सम्पति कब्जा गर्नेहरु, तर्साएर धम्क्याएर जबरजस्ती चन्दा र कर असुल्नेहरु, किसानले दुख गरी फलाएको अन्नपात लुट्नेहरु, अर्थात यावत किसिमका लुच्चालफंगा, जालीफटाहा, चोरडाँका, लुटेराहत्याराहरुले राजनीतिक संरक्षण, पहिचान र हैसियत पाए पछि, हिजो जनताको छातिमा गोली दाग्ने र त्यसो गर्न आदेश दिनेहरु आज राज्यको सम्मानित नीति निर्माता र सरकारका वरीष्ठ सल्लाहकार बने पछि सर्वसाधारण जनताले कुकुरले नपाएको दुख पाउनु बाहेक अरु के नै बाकि रह्यो र ?
सत्तासीनहरु भन्ने गर्छन् सामन्ती तानाशाहीलाई परास्त गरी देशमा लोकतन्त्र आएको छ, निरंकुश राजतन्त्रलाई पराजित गरी मुलुकमा गणतन्त्र आएको छ र हामी नेपाली समाजको आमूल रुपान्तरण गरी समृद्ध र समुन्नत नयाँ नेपाल बनाउन लागिपरेका छौं। तर खै सर्वसाधारण नेपाली जनताले लोकतन्त्र र गणतन्त्र आएको अनुभूति गर्न पाएको ? लोकतन्त्र र गणतन्त्र त सत्तासीनहरु र तिनका नन्दीभृंगीहरुलाई मात्र आएको छ। जनताको भागमा लोकतन्त्र होइन ठोकतन्त्रको वित्यास परेको छ, गणतन्त्र होइन गुण्डातन्त्रको अत्यास परेको छ। हिजो निरंकुश राजतन्त्रको तातो तावामा छटपटाएका नेपाली जनता आज ठोकतान्त्रिक गुण्डातन्त्रको भुंग्रोमा छटपटाइरहेका छन्। त्यसबाट मुक्ति पाउन समग्र नेपाली समाजको आमूल रुपान्तरण भन्दा बढी काम नगरी लुटेर खान पल्केकाहरु र तिनको पक्षपोषण गर्ने, आफ्नो विचारसंग असहमतको भौतिक अस्तित्व नै स्वीकार नगर्ने ठोकतान्त्रिक गुण्डातन्त्रका हिमायतीहरु, गुमस्ताहरु र सरदारहरुको वास्तविक रुप, सार र उद्देश्यलाई बुझेर उनीहरुलाई यथोचित स्थानमा ल्याउन र सभ्य समाजको मूल्य, मान्यता, संस्कार र सहअस्तित्वको पाठ सिकाई सभ्य नागरिकमा रुपान्तर गर्न अत्यन्त जरुरी भएको छ। अन्यथा देशलाई बोकासा, पोलपोट अथवा इदिअमिनको शासन भोग्नु पर्ने स्तिथि तर्फ उन्मुख हुनबाट रोक्न सकिने छैन। अस्तु।

m.shresthas@gmail.com
ललितपुर, २००८ नोभम्बर २८
(लेखक नेकपा (एकीकृत) का केन्द्रीय सदस्य हुन्)

Monday, December 1, 2008

पूँजी निर्माणको एउटा अर्को स्रोत

– महेश्वर श्रेष्ठ

जुनसुकै चीजको विकासका आफ्ना चरणहरु हुन्छन्। जसरि एकजना सामान्य अवस्थाको मानिसले जन्मे पछि शैशवकाल, किशोवस्था, युवावस्था, प्रौढावस्था पार गर्दै अन्ततः वृद्धावस्थामा पुगेर मृत्यु प्राप्त गर्नु पर्छ, त्यसरि नै मानव समाजले पनि विकासका आफ्ना विभिन्न चरण अथवा युगहरु पार गर्नु पर्छ। विश्व मानव समाज आदिम साम्यवादी युग, दास युग, सामन्ती युग, पूँजीवादी युग हुँदै आजको साम्राज्यवादी युगमा आइपुगेको हो। भोलि त्यो समाजवादी युग हुँदै मानव सामाज विकासको उच्चतम चरण वैज्ञानिक साम्यवादी युगमा पुग्नेछ। यो विश्व मानव समाज विकासको सामान्य नियम नै हो। मानिस बसोबास गर्ने ब्रम्हा48डको यो एक्लो ग्रह पृथ्वी आफैमा विविधताहरुको अनन्त भण्डार हो। त्यसैले विश्व मानव समाज पनि विविधतायुक्त छ। विश्वमा विभिन्न रुप र रंगका, नाक र नक्सका, सोच र विचारका आहार र बिहारका, संस्कार र संस्कृतिका, साधन र स्रोतका मानव समुदायहरु बसोबास गर्दछन्। यी समुदायहरु विश्व मानव समाजका विशिष्ट रुपहरु हुन्। विश्व मानव समाजको यही विविधताले गर्दा फरक फरक मानव समाजहरुको विकासको गति, क्रम र चरण पनि फरक फरक छ।

विश्व मानव समाजको एउटा विशिष्ट अंग नेपाली समाज अहिले विशुद्ध सामन्ती युगमा पनि छैन, साम्राज्यवादको उपस्थिति र त्यसको औपनिवेशिक शोषणका कारण पूँजीवादमा प्रवेश गर्न सकिरहेको पनि छैन। त्यसैले नेपाललाई अर्ध–सामन्ती तथा अर्ध–औपनिवेशिक मुलुक भनिएको हो। समाजवादी चरणमा प्रवेश गर्नु अघि नेपाली समाजले पूँजीवादी चरण पार गर्नै पर्छ। तर पुरानो पूँजीवाद साम्राज्यवादमा पतन भइसकेको, मुलुकको अर्थतन्त्र र शासन सत्तामा दलाल तथा नोकरशाही पूँजीपति वर्गको पकड रहेको र राष्ट्रिय पूँजीपति वर्ग आफै उनीहरुबाट दमित अवस्थामा रहने भएको हुँदा उसले नेपाली पूँजीवादी–जनवादी क्रान्तिको नेतृत्व गर्न सक्ने अवस्था छैन। त्यो अभिभारा अहिले नेपाली कम्युनिष्टहरुको काँधमा आइपरेको छ जसले मजदुर तथा किसान वर्गको एकतावद्ध शक्ति र राष्ट्रिय पूँजीपति वर्ग समेतको सहयोग र समर्थनमा सम्पन्न गर्नेछ। अर्ध–सामन्ती तथा अर्ध–औपनिवेशिक मुलुकमा सर्वहारावर्गको पक्षधर कम्युनिष्टहरुले नै पूँजीवादी–जनवादी क्रान्ति पूरा गर्नु पर्ने भएको हुँदा त्यसलाई नयाँ जनवादी क्रान्ति र त्यसले स्थापना गर्ने शासन व्यवस्थालाई नयाँ जनवादी व्यवस्था भनिएको हो।

पुरानो होस् अथवा नयाँ, पूँजीवादको विकासको आधारभूत तथा अनिवार्य सर्त भनेको राष्ट्रिय पूँजीको घनिभूत निर्माण र गैर सामन्ती उत्पादन क्षेत्रमा त्यसको व्यापक परिचालन हो। नेपालमा पूँजी निर्माणका अनेक समस्याहरु छन्। नेपालको अर्थतन्त्र र शासन सत्तामा पकड जमाएर बसेका दलाल तथा नोकरशाही पूँजीपतिहरु यसका प्रमुख वाधक हुन्। यिनीहरुले कमिसन र भ्रष्टाचार मार्फत कमाएको सम्पति आफ्नो सत्ता टिकाउन, ऐयासी जीवन बिताउन र सचेत जनतालाई पनि भ्रष्टीकरण गर्नमा बढी खर्च हुने हुँदा उत्पादनशील क्षेत्रमा त्यसको लगानीको सम्भावना कम मात्र रहन्छ। पूँजीवादी उत्पादन क्षेत्रमा लगानी गर्नुको अर्थ अतिरिक्त मूल्य हडप्नु वा नाफा कमाउनु मात्र होइन, त्यसको अर्को पक्ष जोखिम मोल्नु पनि हो। सत्ताको दुरुपयोग गरेरै यिनीहरुको स्वार्थ पूरा हुन्छ भने जोखिम मोल्नु पर्ने क्षेत्रमा लगानी गर्न यिनीहरु उत्सुक नहुनु स्वाभाविकै हो। साम्राज्यवादी मालिकहरुको स्वार्थमा धक्का पुग्ने भएकोले राष्ट्रिय पूजीपतिहरुलाई यिनीहरुले उठ्नै दिंदैनन्। यसले राष्ट्रिय पूँजीको निर्माण र पूँजीवादी उत्पादन क्षेत्रमा त्यसको लगानी हुनमा ठूलो वाधा पररहेको छ।

लामो समय प्राकृतिक प्रकोपमा परेको वा गृहयुद्ध जस्तो आन्तरिक समस्याबाट ग्रस्त धेरै जसो मुलुकहरुको अर्थतन्त्र अनुमान गर्नै नसकिने परिमाण र रफ्तारमा ओरालो लाग्ने गर्छ। तर विगत १३ वर्षको अवधिमा १० वर्ष सशस्त्र विद्रोह सामना गर्न परेको र पछिल्लो ३ वर्षदेखि त्यसैको प्रभाव भोगिरहेको नेपालको आर्थिक सुचकांक हेर्ने हो भने हामीले अरु मुलुकले जस्तो आर्थिक दुर्दशा भोग्न नपरेको मात्र होइन कूल राष्ट्रिय आय र प्रति व्यक्ति आय दुबै केहि मात्रामा बढेकै पाउँछौं। सशस्त्र विद्रोह ताका कृषि उत्पादन घटेको, उद्योगहरु राम्ररी चल्न नसकेको, कृषि पछिको दोस्रो ठूलो उद्योग मानिने पर्यटन उद्योग करिब करिब धरासायी भएको बेला देशको अर्थतन्त्रलाई ओरालो लाग्नबाट जोगाउने मात्र होइन, त्यसलाई चमत्कारिक रुपले उकास्ने जस्तो अहम भूमिका खेल्ने एक मात्र कारक तत्व वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरुले घर पठाएको रिमटि्यान्स नै हो।

नेपाली अर्थतन्त्रको अध्यताहरुको कथन अनुसार आर्थिक वर्ष २०६२/६३ मा १ खर्व ७२ अर्ब रुपिया बराबरको रिमिट्यान्स भित्रिएको थियो। उक्त आर्थिक वर्षको झण्डै राष्ट्रिय बजेट बराबरको त्यस रकमको सदुपयोग हुन नसकेको र सरकारले पनि त्यसलाई सहि दिशा निर्देश गर्न नसकेकोमा अर्थविदहरु चिन्ता व्यक्त गर्दछन्। वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई अदक्ष, अर्धदक्ष, पूर्णदक्ष र विशेषज्ञ भनी वर्गीकरण गरेको पाइन्छ। तिनमा पूर्णदक्ष र विशेषज्ञको संख्या स्वभावैले कम हुने हुँदा उनीहरुको औसत स्तर अर्धदक्ष नै मान्नु पर्ने हुन्छ। एकजना अर्धदक्ष कामदारको सपना भन्नु आफू माथि आश्रितहरुले दुई छाक पेटभरी खान पाउन्, छोराछोरीले राम्ररी पढिदिउन्, शहर बस्ती नजिक एक टुक्रा घडेरी किनूँ, त्यसमा एउटा सुविधायुक्त घर बनाऊँ, खेतीपाती गर्न वा सानोतिनो दोकान खोल्न लगानी गर्न सकियोस् र बुढेसकाल अभावमुक्त भएर बितोस् भन्ने नै त हो।

यसबाट के अनुमान लगाउन सकिन्छ भने कामदारहरुले पठाउने त्यो अपार धनराशी मध्ये आधाउधि आश्रितहरुको पालनपोषण र छोराछोरीहरुको शिक्षादीक्षामा खर्चिन्छ भने बाकी आधा अनुत्पादक घरघडेरीमा लगानी हुन्छ। यो सत्य हो कि मानिस बस्न घर चाहिन्छ। यो पनि सत्य हो कि यसले जग्गा व्यवसायी तथा तिनका दलालहरु, हाउजिंङ कम्पनीहरु तथा तिनका कामदारहरुले काम गर्ने अवसर दिएको छ। तर सबभन्दा ठूलो तीतो सत्य के हो भने स्थीर सम्पतिमा गरिएको अति लगानी अनुत्पादक मात्र हुदैन, यसले घडेरी जग्गा र निर्माण सामाग्रीको भाउ पनि अचाक्ली बढाइदिएको छ जसले गर्दा जीवनमा एउटा आफ्नै घर बनाउने सर्वसाधारणको सपना पूरा हुन झन झन दुरुह बन्दै गएको छ। घरजग्गामा गरिने अति लगानीले राष्ट्रिय अर्थतन्त्रलाई कसरि नकारात्मक असर समेत पार्न सक्तछ भन्ने कुरा त्यसो गर्ने दर्जन भन्दा बढी अमेरिकी बैंकहरु हालै टाट पल्टिनुले पुष्टी गर्दछ।

मुलुकमा हालै महत्वपूर्ण राजनीतिक परिवर्तन भएको छ। नेपाली जनताको भाग्य र भविष्यको रेखा कोर्न गठित ऐतिहासिक संविधानसभामा मुलुकमा राष्ट्रिय पूँजी र पूँजीवादको विकास हुनु पर्छ र गर्छु भन्ने कम्युनिष्टहरु झण्डै दुई–तिहाईको संख्यामा पुग्न सफल भएका छन्। सरकारमा पनि कम्युनिष्टहरुकै वर्चस्व छ जसको नेतृत्व नेपाली समाजको आमूल परिवर्तन गर्ने ल73य सहित १० वर्षसम्म सशस्त्र विद्रोहमा उत्रेको कम्युनिष्ट पार्टीले गरिरहेको छ। यसले जनतामा अनेकौं आकाँक्षा जन्माएको छ, धेरै आशा पलाएको छ। यस्तो बेला वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुले आफ्नो पसिना र पेट काढेर पठाउने रिमिट्यान्सलाई सरकारले राष्ट्रिय पूँजी निर्माणको एउटा बलियो स्रोतको रुपमा लिनु पर्छ र त्यसलाई घरजग्गा जस्तो अनुत्पादक क्षेत्रमा लगानी हुनबाट रोकी त्यसको बढी से बढी अंशलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने विश्वसनीय वातावरण बनाइदिनु पर्छ।


m.shresthas@gmail.com
ललितपुर, २००८ नोभेम्बर १५
(लेखक नेकपा (एकीकृत) का केन्द्रीय सदस्य हुन्)