Friday, March 15, 2013

प्रधान न्यायाधीश नेतृत्वमा यस्तो-उस्तो केही हुन्न : कोइराला

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले प्रधान न्यायाधीश कानुनी शासन मान्ने व्यक्ति भएकाले बजारमा हल्ला फिँजाए जस्तो ‘तानाशाह' नआउने दाबी गरे। ‘बरु माओवादीको सरकार रहिरहे तानाशाह आउँथ्यो,' कोइरालाले भने,‘प्रधान न्यायधिशको नेतृत्वमा यस्तो-उस्तो केही हुँदैन।'

विराटनगर विमानस्थलमा शुक्रवार सञ्चारकर्मीहरुसित कुरा गर्दै कोइरालाले चुनाव होस् भनेर चुनौति स्वीकार गरी प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरेको बताए।

‘काँग्रेस जिम्मेवार पार्टी हो, पछाडि हेरेर बस्दैन,' कोइरालाले भने,‘चुनाव हुन्छ भनेर रिस्क लिएका हौ।' उनले काँग्रेसले चुनाव चाहने र बाबुराम भट्टराईको सरकार हटनुपर्ने दुबै अडान राखेकाले त्यसका लागि प्रधान न्यायधीशको नेतृत्व स्वीकार गरेको स्पष्ट पारे।

‘काँग्रेसको प्राथमिकता चुनाव थियो, बाबुरामको सरकार हुँदैन भन्ने थियो,' उनले भने,‘दलहरुले एकले अर्काको नेतृत्व स्वीकार्ने अवस्था नआएपछि प्रधान न्यायधिशलाई चुनेका हौ।'

सुनसरीमा शुक्रवारदेखि सुरु भएको नेपाल यातायात मजदुर संघको सातौं महाधिवेशनको उदघाटन गर्न काँग्रेस अध्यक्ष कोइराला विराटनगर आएका हुन्।



बास्तोलाको स्वास्थ्य स्थितिमा सुधार आएन

लामो समयदेखि मस्तिष्काघातका कारण अचेत अवस्थामा रहनुभएका नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्यमा सुधार हुन सकेको छैन।
गत पुस १६ गतेदेखि दिल्लीको मेदान्त अस्पतालमा उपचार गराइरहनु भएका उनी यतिखेर बेलाबेलामा आँखा खोल्ने र खुट्टा तन्काउने गर्छन्। यस अतिरिक्त उनको स्वास्थ्यमा खासै सुधार नआएको भतिज तारा बास्तोलाले जानकारी दिए।
स्वास्थ्यमा सामान्य सुधार भएपछि सघन उपचारकक्षबाट निकालेर उनलाई केविनमा राखिएको छ। अचेत अवस्थामा रहनुभएको उहाँलाई झोल पदार्थ सिरिन्जको माध्यमले खुवाउने गरिएको छ। पुस १४ गतेका दिन मोरङको विराट चोकमा आयोजित एक कार्यक्रममा अचेत भएपछि बाँस्तोलाको सिलगुडीस्थित न्यूरो अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिएको थियो। त्यसलगत्तै उनलाई दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।



Friday, March 8, 2013

एयरबस टोली फेरि अर्को साता आउने

नेपाल वायुसेवा निगमलाई जहाज बेच्न आएको युरोपेली कम्पनी एयरबसको टोली वार्ता टुंगोमा नपुगेपछि अर्को साता फेरि आउने गरी फर्किएको छ। निगम केन्द्रीय कार्यालयमा मंगलबार र बुधबार दुई दिन लगातार भएको वार्ता निष्कर्षमा नपुगेपछि एयरबसका उच्च अधिकारीहरू अर्को साता पुनः आउने गरी बिहीबार फ्रान्स फर्किएका छन्। फागुन पहिलो साता मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय उडानका लागि निगमलाई एयरबसका दुईवटा जहाज किन्ने निर्णय गरेपछि निगम व्यवस्थापनले एयरबसका उच्च अधिकारीहरूलाई वार्तामा बोलाएको थियो।
'वार्ता टुंगोमा पुग्न सकेन, अर्को साता फेरि वार्ता गर्ने गरी एयरबसको टोली फर्कियो,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता गणेशबहादुर चन्दले बिहीबार नागरिकसँग भने, 'अर्को साता नै केही निष्कर्ष आउला।'
निगमसँग वार्ता गर्न एयरबसका वरिष्ठ बिक्री तथा बजार निर्देशक शील शुक्ल र कस्टोमर डाइरेक्टर बहराम आएका थिए। यताबाट नायब महाप्रबन्धक गणेश ठाकुरको नेतृत्वमा सबै विभागका निर्देशक वार्तामा सहभागी थिए। एयरबसका शुक्ल निगमलाई जहाज बेच्ने उद्देश्यले यसअघि २८ पटक नेपाल आइसकेका छन्। यसपालि २९औं पटक आएका हुन्।
वार्तामा सहभागी एक अधिकारीका अनुसार निगम टोलीले पुरानै भाउमा जहाज बेच्न आग्रह गरे पनि एयरबस टोलीले जहाज निर्माण क्षेत्रमा भएको मूल्य वृद्धिलाई समायोजन गर्नुपर्ने बताएका थिए। एयरबसको पुरानो प्रस्तावमा जहाजको भाउ सन् २००८ को उल्लेख गरिएको छ।
'हामीले कुनै पनि लागत नथपी जहाज बेच्न आग्रह गर्यौंो, तर उनीहरूले यसबारे फ्रान्सस्थित केन्द्रीय कार्यालयमा जानकारी गराउने बताए,' ती अधिकारीले भने, 'आशा छ, अर्को साता आउँदा पुरानै भाउमा जहाज बेच्छन्।'
उनका अनुसार एयरबस टोलीको यो भनाइपछि अब खरिद गर्ने जहाजको भाउ उल्लेख्य दरमा बढ्ने निश्चित छ। यदि एयरबसको भनाइअनुसार जहाज किन्ने अवस्था आयो भने बढी रकम जाहो गर्न निगम व्यवस्थापनलाई थप हम्मे पर्नेछ।
निगम भने पुरानै भाउमा जहाज किन्ने गरी पैसा जाहो गर्नतिर लागेको थियो। उसले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेना, नेपाल प्रहरी, बैंकहरूको सहवित्तीयकरण लगायतबाट पैसा जुटाउने प्रक्रिया निगमले सुरु गरेको छ। एयरबसको भनाइपछि अब निगमले थप रकम पनि व्यवस्था गरिररहनुपर्ने हुन्छ।
निगम सञ्चालक समितिले एयरबससँग जहाज खरिद गर्न व्यवस्थापनलाई अगाडि बढ्न निर्देशन दिएपछि नायब महाप्रबन्धक ठाकुरको संयोजकत्वमा वार्ता समिति गठन भएको थियो। त्यसपछि निगमले एयरबसलाई वार्ताका लागि पत्राचार गरेको थियो। पत्र पाएलगत्तै एयरबस टोली काठमाडौं आएको हो। समितिलाई एयबस टोलीसँग जहाज खरिद, मूल्यलगायत विषयमा वार्ता गरी सञ्चालक समितिसमक्ष प्रतिवेदन बुझाउने अख्तियारी दिइएको थियो।
पछिल्लो पटक गत कात्तिक २१ मा एयरबसका उच्च अधिकारीहरूको एक टोलीले निगममा आएर पुरानो प्रक्रियाबारे छलफल गरेका थिए। टोलीले टेन्डरमा तोकेबमोजिमकै पुरानो भाउ र समझदारीअनुसार जहाज बिक्री गर्न एयरबस तयार रहेको प्रतिबद्धता जनाएको थियो।
तीन वर्षअघि निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई ठूला जहाज खरिद गर्न मागेको 'ग्लोबल टेन्डर' एयरबसले जितेको थियो। एयरबसले निगमलाई ४ करोड १२ लाख ८९ हजार डलरमा 'न्यारो बडी' (ए३२०-२०० सिरिज) र ९ करोड २८ लाख ४५ हजार डलरमा 'वाइड बडी' (ए३३०-२०० सिरिज) बेच्ने प्रस्ताव गरेको थियो।
लगत्तै तत्कालीन संसदको सार्वजनिक लेखा समितिले निगमको जहाज खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनविपरीत भएको कारण देखाउँदै २०६६ पुस १३ मा रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो।